Comments Add Comment

नेपाली खेलाडीलाई जे-लिग खेलाउने बसन्तको चाहना

व्यवसायिक फुटबलमा बसन्तको 'छलाङ'

९ साउन, काठमाडौं । कुरो २०५५ सालको हो । काठमाडौं आठौं दक्षिण एशियाली खेलकुदका कारण राजधानी खेलमय भएको थियो । इतिहासमै पहिलो पटक पदक तालिकामा नेपाल दोश्रो स्थानसम्म उक्लिएको थियो भने नेपाली फुटबल टोलीले फाइनलसम्मको यात्रा तय गरिसकेको थियो ।

अहिले पनि ‘काठमाडौंमा भएको साग’ भन्ने कुरा उठ्दा फुटबलकै चर्चा हुने गर्छ र कुरा हुने गर्छ दुईजना वसन्तकोः वसन्त गौचन र वसन्त थापा ।

दुवै आफ्नो खेलको ‘वसन्त’ मा थिए र नेपाललाई फाइनलसम्म ल्याउन ठूलो योगदान दिएका थिए ।

बंगलादेशबिरुद्धको फाइनलसम्ममा वसन्त गौचनले आफूलाई स्टारका रूपमा स्थापित गरिसकेका थिए ।

‘शहरमा हाम्रो लोकपि्रयता यति थियो कि सार्वजनिक स्थानहरुमा अटोग्राफ लिनेहरुको घुईंचो लाग्थ्यो’, हँसिलो अनुहार र फुर्तिला खेलाडीको पहिचान बनाएका बसन्त सम्झन्छन्, ‘मिडियाहरु धेरै थिएनन्, समर्थकहरुले आफूलाई मन पर्ने खेलाडीसँग भेट्न अहिलेजस्तो सजिलो पनि थिएन, त्यसैले चलेका खेलाडीहरुको क्रेज धेरै थियो ।’

सञ्चारमाध्यम र सामाजिक सञ्चालको लोकप्रियताले अहिलेका खेलाडीहरुको क्रेज कम भएको उनको बिश्लेषण छ ।

राष्ट्रिय टिमको क्लोज क्याम्पका अलावा विभिन्न फुटबल प्रतियोगितामै व्यस्त हुने उनले फ्यानहरुसँग नजिकिन कमै समय पाउँथे । ‘भेट्न नपाएपछि समर्थकहरुले बुके र ग्रेटिङ कार्डहरु पठाउँथे ।’ १६ वर्ष अघिका रोमाञ्चक पलबारे बसन्त सम्झन्छन्, ‘त्यो क्रम यति धेरै हुन्थ्यो कि बोराका बोरा ग्रेटिङ आउन थाल्यो, यस्ता ग्रेटिङहरु अधिकांश युवतीहरुका हुन्थे र सबैजसोमा लभ पर्पोज हुन्थ्यो ।’

अाठाैं साफको नेपाली फुटबल टिम । तस्वीरः बसन्तको फेसबुकबाट

सन् १९९९ देखि २००९ सम्म नेपाली फुटबलको मिडफिल्ड धानेका उनी त्यसपछि लगभग गुमनाम जस्तै भए । वि. सं. २०६५ सालमा काठमाडौंमा भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा ‘नेपाल निलो’को कप्तानी गर्दै मैदानमा आएका बसन्तले त्यसपछि राष्ट्रिय जर्सी लगाएनन् । घुँडाको चोट पटकपटक बल्झिएपछि औपचारिक सन्यास बिना नै उनी २००९ मा जापान गए ।

जापान बसाई

बसन्त जापान त गए तर, फुटबलबाट टाढा हुन सकेनन् । उनी पैसा कमाउने तिर होइन, फुटबलमै स्वयम्सेवक बन्न तयार भए । स्थानीय क्लबका लागि साढे २ वर्ष स्वयम्सेवक भएर काम गर्दा उनी आर्थिक संकटबाट गुजि्रए । तर, जापानमै रहँदै आएकी श्रीमती वास्ना गुरुङको हौसलाले आफ्नो सपनालाई साकार पार्न सफल भए ।

‘बेलाबेलामा त सबै छाडेर नेपाललै फर्किउँजस्तो हुन्थ्यो’ दुःखका क्षणबारे बसन्त भन्छन्, ‘तर यति त गरिसकियो, राम्रो दिन कसो नफर्किएला र ! भन्ने सोच्थेँ ।’

साढे २ वर्षको मेहनतपछि भने उनको व्यवसायिक फुटबल प्रशिक्षण करिअरले उडान लियो । एफसी मावासी हुँदै उनी सन् २०१६ मा प्रशिक्षकका रुपमा फनरुट्स एकेडेमीका आवद्ध छन् र अहिले बाषिर्क ५० लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्छन् ।

‘जापानमा राम्रो काम गर्नेहरु सबैको नजरमा पर्छन् र धेरै ठाउँबाट अवसर आउँछन्, मैले पनि त्यो भोगेँ’ उनले भने ।

फनरूट्स एकेडेमीमा बसन्त । तस्वीरः उनको फेसबुकबाट

नेपालका धेरै खेलाडीहरु बिदेश पलायन हुँदा पैसाका लागि हरेक क्षेत्रका काम गर्छन् । तर, बिदेश गएपनि आफ्नो क्षेत्रकै सम्मानित काम पाउनु बसन्तका लागि सौभाग्यको कुरा हो । अब उनी आफूले सिकेको सीपले नेपाली फुटबलमा योगदान दिन चाहन्छन् ।

फनरुटमा आवद्ध हुनु अघि र पछिको दुई सिजन उनले नेपालभरबाट खेलाडी छनौट गरी यू-१२ टिमलाई जापान लगेर कोपा पुमा कपमा सहभागिता दिलाए । ‘नेपाली खेलाडीहरु युरोपेली स्तरकै छन् भन्ने मैले त्यस प्रतियोगितामा देखेको छु’, बसन्तले भने, ‘एक महिनाको क्लोज क्याम्प गरेर नेपाली टोली ३२ मध्ये उत्कृष्ट १५ भित्र पर्न सफल भएको छ ।’

नेपालमा एकेडेमी खोल्ने योजना

१० वर्षभन्दा बढी राष्ट्रिय टोलीबाट खेलेका बसन्तलाई राम्रोसँग थाहा छ कि नेपालको फुटबल बिकास नहुनुको एकमात्र कारण हो कमजोर व्यवस्थापन । उनी नमूना बन्ने गरी नेपालमा एउटा एकेडेमी खोल्न चाहन्छन् र, छिट्टै पूरा गर्ने योजनाको गृहकार्यमा लागेका छन् ।

‘हाम्रो फुटबलको मुख्य समस्या भनेको ग्रासरुट फुटबल नै हो’, बसन्तले भने, ‘उमेर समूह अनुसारको राष्ट्रिय टोली छैन, भएपनि पर्याप्त प्रशिक्षण हुँदैन’ त्यसोत नेपालमा लिग नभएको नै तीन सिजन भइसकेकोमा उनी दुखी छन् ।

ग्रासरुटबाटै खेलाडी उत्पादन र प्रशिक्षण गर्ने गरी उनले पोखरामा एउटा फुटबल एकेडेमीको योजना बनाइरहेका छन् । जुन एकेडेमीले यू-१० देखि यू-१६ सम्मका उमेर समूहका टोलीहरु बनाउनेछ र जापानी क्लबहरुसँग समन्वय गरी प्रशिक्षण दिइनेछ ।

‘जापानी फुटबलको ग्रासरुट पूर्वाधार विश्वमै लोकप्रिय छ, उनीहरुसँग हामीले ‘लिंक अप गराउन सकियो भने नेपालले त्यसबाट धेरै फाइदा लिन सक्छ’ एएफसी बी लाइसेन्स होल्डर बसन्तले थपे, ‘मैले योजना बनाइरहेको एकेडेमी पनि यस्तै हुनेछ, जहाँ हाम्रो उमेर समूहको टोलीलाई जापानी ढाँचाको प्रशिक्षण दिन सकियोस् ।’

यससँगै उनले अर्को चाहना पनि सुनाए । विश्वकै उत्कृष्टमध्येमा पर्ने जे-लिगमा नेपाली खेलाडी समावेश गराउन सकिए नेपाली फुटबलको स्तरबृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ ।

‘नेपाली फुटबलले त्यस्तो आइकन पाओस् जसलाई हेरेर हरेक बालबालिकाले भविश्यमा फुटबल खेल्ने सपना देख्न सकुन्’ बसन्तले सुनाए ।

नेपालमा फुटबल एकेडेमी खोल्ने र जे लिगमा नेपाली खेलाडी खेलाउने दुबै सपना पुरा होस्, सोमबार जन्मदिन मनाइरहेका बसन्त गौचनलाई हाम्रो पनि शुभकामना !

तस्वीरः मिलन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment