Comments Add Comment

रुकुममा चिउरी कम फल्यो, स्थानीय चिन्तामा


टेकहादुर ओली । ९ साउन, रुकुम । पूर्वी रुकुमका विभिन्न क्षेत्रमा चिउरी कम फलेपछि चिउरीको तेलमा निर्भर स्थानीयहरु चिन्तित भएका छन् ।

चिउरी उत्पादनका दृष्टिले राम्रो मानिएका जिल्लाको सिस्ने र भुमे गाउँपालिकामा चिउरीका रुखले फल (भिरा) नदिएपछि किसानहरु चिन्तित भएका हुन् ।

त्यस क्षेत्रका बासिन्दाहरु चिउरीको फलबाट उत्पादित तेल प्रयोग गर्दै आएका छन् । केही स्थानीयहरु चिउरीबाट उत्पादित तेल बेचेर आयआर्जन पनि गर्दै आएका छन् ।

यसपटक चिउरीका रुखले फल अति कम दिएपछि उनीहरुलाई चिन्ता भएको हो ।

वर्षमा एक पटक मात्र फल्ने चिउरी यो वर्ष निकै कम फलेपछि खाने तेलको समस्या परेको भुमे ५ का कासी बुढाले चिन्ता व्यक्त गरे ।

विगतका वर्षमा दिनमा ९/१० पाथी (मिजौला) चिउरीको गेडा टिपेर ल्याइन्थ्यो, यो पटक २ पाथी ल्याउन पनि पाइदैन,’ बुढाले भने, ‘चिउरीले राम्रो फल दिँदा वर्षभरी खाने तेल पुगेर पनि बेचबिखन गरेर आम्दानी हुन्थ्यो, यसपटक त खत्तमै भो ।’

कम आयश्रोत भएका त्यस क्षेत्रका बासिन्दालाई खाना पकाउन बजारको महंगो तेल किन्नु पर्ने बाध्यता आइलागेकाले चिन्ता बढेको छ ।

वहुपयोगि छ चिउरी

रुकुमका धेरै जसो ठाउँमा चिउरी उत्पादन हुने गर्दछ । चिउरीको फलको गेडालाई कोलमा पलेर तेल बनाइन्छ । त्यस्तो तेल तरकारी बनाउन, फाटेको छालामा लगाउन पनि प्रयोग गरिदै आएको छ ।

यसलाई औषधी बनाउन र अन्य विभिन्न उत्पादनहरुमा पनि प्रयोग गरिन्छ । चिउरीको प्रयोग मिठाई र औषधी बनाउन, घ्यू उत्पादन, मैनबत्ती निर्माण र साबुन बनाउने प्रक्रियामा गरिएको पाइन्छ । यसलाई जनावरको घ्यू बनाउँदा पनि अतिरिक्त रूपमा प्रयोग गरिन्छ ।

हर्बल प्रयोगलाई विचार गर्ने हो भने यसलाई चिउरी साबुन बनाउन, सौन्दर्य सम्बन्धी सामग्री बनाउन प्रयोग गरिन्छ र चिउरीको बीउबाट बनाइएको घ्यूले पनि छाला नरम बनाउन र फुटेको छालाको उपचार गर्न मद्दत गर्छ ।

चिउरीको तेल बाथ पीडा र गाउट (एक प्रकारको गठिया) को उपचारमा उपयोगी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment