Comments Add Comment

युवती कुटपिट प्रकरणः रकम लेनदेन गराउने गाउँपालिका अध्यक्षलाई उन्मुक्ति ?

रुपन्देहीका डिएसपी भन्छन्-जनप्रतिनिधिको भूमिकामाथि अनुसन्धान हुँदैछ

९ साउन, भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रमा प्रेम सम्बन्धलाई लिएर आफ्नै छोरी कुट्ने बाबुलाई कारवाही अघि बढाइए पनि रकम लेनदेन गरेर घटना साम्य पार्न खोज्ने जनप्रतिनिधिलाई भने उन्मुक्ति दिइएको छ ।

परपुरुषसँग प्रेम सम्बन्ध राखेको भनेर कुट्ने सम्मरीमाई गाउँपालिका ६ का इन्नर यादवलाई प्रहरीले पक्राउ गरेपनि नवनिर्वाचित मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँ लगायतले यादवलाई थुनामुक्त गराएर घटनालाई ढाकछोपको प्रयास गरेका थिए ।

गाउँपालिका अध्यक्ष बनियाँ, जनार्दन यादव, विकास यादव लगायतले पक्राउ परेका यादवलाई घटना आफै मिलाउने भन्दै थुनामुक्त गराएर लगेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरिश्वर अर्यालले जानकारी दिए ।

घटनालाई थामथुम पार्नका लागि युवक पक्षबाट युवती पक्षलाई एक लाख रुपैयाँ तिर्न लगाएको सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का वडाअध्यक्ष सत्यनारायण केवटले पुष्टी गरेका छन् । उनी घटना भएको वडाका वडाअध्यक्ष समेत हुन् ।

इप्रका मर्चवारका प्रहरी नायव निरीक्षक र वडाअध्यक्षको भनाइअनुसार घटना थामथुम पार्नमा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँको मुख्य भूमिका देखिएपनि प्रहरीले बनियाँलाई पक्राउ नगर्दा प्रहरी माथि प्रश्न उब्जिएको छ ।

प्रहरीले इप्रका मर्चवारका इन्सपेक्टर उदय सिंह सिंजापतिले आफ्नो जिम्मेवारी बोध नगरी घटनामा लापरवाही गरेको भन्दै उनी माथि विभागीय कारवाही थालेको छ ।

तर, मर्चवारी गाउँपालिका अध्यक्ष बनियाँले घटना थामथुम पार्नमा आफ्नो पदको दुरुपयोग गरी पक्राउ परेका व्यक्तिलाई थुनामुक्त गराई घटनालाई रकममा मिलाएपनि प्रहरीले उनीसँग सामान्य सोधपुछ समेत गरेको छैन ।

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक बेल बहादुर पाण्डेले जनप्रतिनिधिहरुले रकममा घटनालाई थामथुम पारेको विषय आफूहरुसँग जानकारी आएको कारण उनीहरु उपर अनुसन्धान हुने बताए ।

उनले भने, ‘घटनालाई थामथुम पार्न जनप्रतिनिधिले रकम लेनदेनमा मिलाएको जानकारी हामीसँग आएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको छ । आज युवा-युवतीलाई बोलाएका छौं र जनप्रतिनिधिहरुसँग पनि सोधपुछ गर्छौं ।’

यता विभिन्न महिला संघसंस्थाहरुले घटनालाई गम्भिर रुपमा लिएपनि घटनालाई रकममा थामथुम पार्ने जनप्रतिनिधि उपर कुनै चासो नदिएको पाइएको छ ।

जनप्रतिनिधिले घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुपर्नेमा उल्टै रकममा मिलाएर थामथुम पारेको कारण उनीहरु उपर पनि कारबाही हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment