Comments Add Comment

साउनभित्रै सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’, सवारीधनीलाई कति आर्थिक भार ?


७ वैशाख, काठमाडौं । सरकारले साउनको अन्तिमसम्म सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ । संशोधन प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले नम्बर प्लेटका बारेमा अहिले कानुनमा रहेका नम्बर प्लेटबारेको ब्यवस्था संशोधन हुनासाथ इम्बोस्ड प्लेट वितरण थालिने बताए । उनले सुरुवातमा काठमाडाैंका निजीसहित सरकारी/संस्थान र कुटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गरिने बताए ।

‘अहिलेको नियमावलीमा विभिन्न किसिमका सवारीमा फरक-फरक रंगका प्लेटहरु हुने ब्यवस्था छ । हामीले इम्बोस्ड प्लेट रहने गरी यसलाई परिमार्जन गर्न मन्त्रिपरिषद् पठाएका छौं’, भट्टराईले भने,’मन्त्रिपरिषदबाट नियमावली संशोधनको निर्णय हुनासाथ यसै महिनाको अन्त्यसम्म इम्बोस्ड लागू हुनेछ ।’ नियमावली संशोधन प्रक्रियामा केही ढिलाई भए भदाैसम्म घँचेटिनसक्ने अनुमान विभागको छ ।

अब बस्ने मन्त्रिपरिषदले यसको निर्णय गर्ने अपेक्षा विभागको छ ।  निर्णय राजपत्रका प्रकाशित हुनासाथ सुरु गरिहाल्ने योजनामा विभाग छ ।

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छापेर डेमोस्ट्रेशन गरिसकेको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण ल्याएर छाप्ने कामको सबै तयारी कम्पनीले सकाएको छ ।

यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । तर, प्राविधिक कारण देखाउँदै विभागले इम्बोस्ड प्लेट बैशाखदेखि वितरण गर्ने जनाएको थियो । प्रक्रियाहरु लक्ष्यअनुरुप नै पुरा भए वैशाखभित्रै वितरण थाल्न समस्या नहुने भट्टराईले बताए ।

यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो ।

कति दस्तुर लाग्छ ?

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टटै दस्तुर तिर्नुपर्ने छ । मन्त्रालय अन्तर्गतको कमिटीले गरेको सिफारिसअनुसार मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड जडान गर्दा २ हजार ५ सय  रुपैयाँ  खर्च गर्नु पर्नेछ ।

यसैगरी कार,जीप,भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ  शुल्क तिर्नुपर्ने सिफारिस  गरिएको छ । यसरी जोडिने इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।

के हो इम्बोस्ड ?

अनिवार्य रुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ ।

यसमा धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिन्छ । इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । इम्बोस्ड नम्बरप्लेटमा चम्किलो नम्बर हुने भएकाले टाढैबाट पनि सजिलै नम्बर छुट्याउन सकिन्छ । यसमा लेखिएको नम्बरप्लेट उप्काउन र मेट्न नमिल्ने गरी जडान गरिएको हुन्छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेकाअनुसार नम्बरप्लेटको कुनामा साना सातवटा संकेत अक्षर राखिन्छन्, जसलाई मेसिनले मात्र पढ्न सक्छ । प्लेटको पछाडि ‘बार कोड’समेत समावेश हुन्छ । जसमा कम्पनीको नाम, मिति, संकेत हुन्छ ।

इम्बोस्ड प्रविधिमा चार प्रकारका मात्र नम्बर प्लेट मात्रै कार्यान्वयनमा आउनेछन् । सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक तथा निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर र अंक हुनेछन् । कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा निलो अक्षर र अंक हुनेछ ।

यो प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस पनि जोडिएको हुन्छ । यसले सवारीसाधन कहाँ र कुन अवस्थामा छ भन्नेबारे सो डिभाइस निगरानी गर्ने प्रविधियुक्त गेटले नजिकको टावरलाई जानकारी दिने पाण्डेले बताए । प्लेटमा जोडिएको चिप्सलाई मेसिनको सहायताले ‘रिड’ गरी सवारीसाधनको विवरण हेर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।

सुरक्षामा अब्बल

यो प्लेट बलियो र किफायती हुनेछ । एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् ।

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीप्सस टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसिनसहितका गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment