Comments Add Comment

प्राकृतिक चिकित्सालयमा भौतिक पूर्वाधार निर्माणको काम तीव्र

९ साउन, चितवन । नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा भौतिक पूर्वाधार निर्माणको काम तीव्र पारीएको छ । ४ करोड ८७ लाख लागतमा बिरामी आवास भवन निर्माण गरिएको छ ।

भवनको २ तला निर्माण भैसकेको छ भने तेस्रो तला निर्माणको चरणमा छ । चौंथो तलासम्म निर्माण गर्ने योजना चिकित्सालयको छ ।

नेपाल सरकारको बहुवर्षिय कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७१/७२ मा १ करोड र ०७२/७३ मा ३ करोड ८७ लाख ८६ हजार अनुदान रकम चिकित्सालयले पाइसकेको छ । गत आर्थिक वर्षमा ७१ लाख रकम स्वास्थ्य मन्त्रालयबाट चिकित्सालयले अनुदान प्राप्त गरेको छ । भवनको चारै तला निर्माण गर्न करीव ७ करोड खर्च लाग्ने अनुमान छ ।

निर्माण पूरा भएको २ तलाबाट भने सेवा आरम्भ भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । चार तले भवन निर्माण पूरा हुँदा चिकित्सालयको बेड संख्या ३ सय पुग्ने छ । समुदायस्तरबाट सञ्चालित यो प्राकृतिक चिकित्सालयमा वार्षिक २ हजार ५ सय विरामीले उपचार लिँदै आएका छन् । बिरामीले आवास सुविधा, उपचार तथा खानपानसहित प्रतिदिन ७५० रुपैयाँ तिर्नुपर्दछ ।

८२ बेड रहेको चिकित्सालयले गत जेठ महिनाबाट ६८ वेड थप गरी १५० वेड सञ्चालन गरेको छ । चिकित्सालयमा आवासीय रूपमा बस्ने र उपचार लिने बिमारीहरूका लागि बिहान र बेलुकाको समयमा विरामी परिभ्रमण पेटी निर्माण भैरहेको छ । जिल्ला विकास समिति नवलपरासीको १९ लाखको लागतमा ७ सय मिटर लामो ट्रयाक निर्माण भैरहेको छ ।

यसैबीच, भाजपाका स्वास्थ्य विभाग प्रमुख डा. दिनेश उपाध्यायले चिकित्सालयको अवलोकन गरी सक्दो आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।

भित्रिए उपकरण

प्राकृतिक चिकित्सा पद्दतीका लागि चिकित्सालयले आधुनिक उपचार उपकरणहरू भित्राएको छ । गत वर्ष नेपाल सरकारबाट प्राप्त ४० लाख रकम अनुदानबाट आधुनिक उपचार उपकरण ल्याइएको चिकित्सालयका व्यवस्थापक सापकोटाले बताए । चिकित्सालयले पेट सफा गर्ने कोलन हाइड्रोथेरापी, अण्डर वाटर मसाजर, ज्यावुजी, हट वाथ, आम वाथका आधुनिक उपकरण खरिद गरेको हो ।

यी उपकरणहरूको ‘इन्स्टलमेन्ट’ गर्न भने बाँकी छ । आधुनिक उपचार उपकरणहरूका साथै बिरामीहरुको अवस्था हेरी परम्परागत उपचार पद्दतीलाई पनि सँगसँगै अघि बढाउने चिकित्सालयका चिकित्सक डा. बिनोद पौडेलले बताए । ‘हामी नयाँ उपकरण आए भन्दैमा चलाउदै आएको परम्परागत उपचार पद्दतीलाई चटक्कै छाड्दैनौं,’ डा. पौडेलले भने, ‘कतिपय शारिरीक रुपमा कमजोर भएका क्रोनिक बिरामीहरूलाई परम्परागत उपचार पद्दतीबाटै उपचार गर्नुपर्दछ, आधुनिकबाट गर्दा शरिरले धान्न सक्दैन ।’

आधुनिक उपचार यूनिट निर्माणको तयारी

चिकित्सालयको आवासीय भवन निर्माण सँगसँगै बिरामीको चाप थपिने भएपछि गुरुयोजना अनुसार ७ करोड ८१ लाखको लागतमा आधुनिक उपचार युनिट निर्माण गर्न लागिएको छ । ३ सय बिरामीलाई एकैठाउँमा राखेर उपचार गर्न मिल्ने गरी भवन निर्माण गर्न लागिएको हो ।

आगामी आर्थिक वर्षबाट निर्माणको काम अघि बढाइने व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । आवासीय भवनको बाँकी २ तला र आधुनिक उपचार यूनिट निर्माणको काम सँगसँगै अघि बढाउने योजना चिकित्सालयको छ । चिकित्सालयमा ३ सय जना बिरामीहरुले योग गर्न मिल्ने वातानुकुलित हल निर्माण गरिने भएको छ ।

भरतपुर अस्पतालका डा. अजय न्यौपाने र उनकी श्रीमती सरीता थापा न्यौपानेले योग हल निर्माण गरिदिने बचन दिएका छन् । अस्पतालमा उपचार सेवा लिएर फर्किने बेलामा खुसी भएर जाने बिरामी र उनीहरुका आफन्त तथा विभिन्न निकायहरूबाट प्राप्त हुने सहयोगबाट नै अस्पतालको भौतिक सम्पती थपिदै गएको चिकित्सालयका व्यवस्थापक सापकोटाले बताए ।

नारायणगढका समाजसेवी श्यामकृष्ण प्रधानको स्मृतिमा उनकी श्रीमती गौरीदेवी प्रधानले चिकित्सालयमा करीव १ करोडको लागतमा बिरामी आवास भवन निर्माण गरिदिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment