Comments Add Comment

कोरियन भाषा परीक्षाको नतिजा भोलि, साढे १० हजार पास हुने


१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित हुने भएको छ ।

भोलि विहान १० बजे नतिजा सार्वजनिक हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए ।

सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर भोलि नतिजा प्रकाशित गर्न लागिएको हो ।

ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिने छ । अनलाइनखबरमा पनि नतिजा प्रकाशित हुनेछ ।

यो वर्ष झण्डै ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए ।

त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ ।

यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिटजाज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।

भोलि पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकललगायतका प्रक्रिया सुरु हुने भण्डारीले बताए । कोरिया राम्रो आम्दानी हुने श्रम गन्तब्यका रुपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment