Comments Add Comment

ओखलढुंगाको उँबुमा बन्ने भो ३५ फिट अग्लो स्तम्भ


१० साउन, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबुगाउँमा ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को स्तम्भ निर्माण सुरु भएको छ ।

मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले स्तम्भको शिलान्यास गरेका हुन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्भ निर्माण थालिएको हो ।

प्रतिष्ठानमूर्तिकला विभाग प्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्वमा सात सदस्यीय टोलीले निर्माण सुरु गरेको छ । टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेशबाबुलगायत मूर्तिकार संलग्न छन् ।

स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइले १ रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा यो स्तम्भ निर्माण गर्न लागिएको हो । स्वालेवा स्तम्भ वरिपरि पर्खाल घेराबार हुनेछ । सांस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालय निर्माण हुनेछ ।

स्तम्भ निर्माणका लागि देश–विदेशबाट आर्थिक सहयोग जुटाइएको छ । स्तम्भ निर्माण अभियन्ता मुम्चे राई (बिद्रोही साइला)का अनुसार हालसम्म पाँचलाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । ‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट स्टिमेट गरिएको हो,’ अभियन्ता राईले भने, ‘अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको छ । हामीले स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउने छौं ।’

गाउँपालिका अध्यक्ष राईले जनताको भाषा, धर्म, लोकसंस्कृति नै देशको सम्पत्ति भएको बताए । त्यसैगरी नवनिर्वाचित उपाध्यक्ष सबिता राईले उँबु गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर स्वालेवा स्तम्भ निर्माणलाई प्राथमिकतामा राखेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment