Comments Add Comment

इयूको जरिवानाले गुगलको मुनाफामा धक्का

युरोपेली आयोगले गत महिना लगाएको कीर्तिमानी जरिवानाले गुगलको मातृ कम्पनी अल्फाबेटको मुनाफामा गम्भीर असर पारेको छ ।

यस आर्थिक वर्षको दोश्रो त्रैमासिकमा अल्फाबेटले २६ अर्ब डलर आम्दानी गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा २१ प्रतिशतले बढी हो ।

तर उक्त त्रैमासिकमा कम्पनीले केवल साढे ३ अर्ब डलर मात्र मुनाफा कमाउन सक्यो । यदि इयूलाई जरिवाना तिर्नु नपरेको भए उक्त मुनाफा त्यसभन्दा ४० प्रतिशतले बढी हुन्थ्यो । आम्दानी बढ्दा समेत जरिवानाकै कारण मुनाफामा गत वर्षभन्दा ३० प्रतिशतले कमी आएको छ ।

गुगलको सर्च नतिजामार्फत विज्ञापन सेवाको दुरुपयोग गर्दै अनुचित लाभ प्राप्त गरेको भन्दै युरोपेली आयोगले गत महिना गुगलमाथि २ अर्ब ७० करोड डलर जरिवाना गरेको थियो । उक्त जरिवाना आयोगले गरेको अहिलेसम्मकै ठूलो नगद जरिवाना हो ।

यद्यपि अल्फाबेटले उक्त जरिवाना विरुद्ध अपिल गर्ने जनाइसकेको छ ।

स्मरण रहोस् अल्फाबेट कम्पनीको आयको सबैभन्दा ठूलो श्रोत भनेकै विज्ञापन हो । यु ट्युब तथा जिमेल लगायतका साइटहरुमा हुने विज्ञापनबाट प्राप्त हुने राजश्व पछिल्लो त्रैमासिकमा १८ प्रतिशतले वृद्धि भई २२ अर्ब ७० करोड डलर पुगेको छ ।

गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइका अनुसार अहिले यु ट्युबमा मासिक दर्शक डेढ अर्ब छन् । जसले दैनिक औषतमा ६० मिनेट यु ट्युब हेर्दछन् ।

त्यस्तै अल्फाबेटको आम्दानीको अर्को श्रोतको रुपमा रहेको एप तथा क्लाउड सर्भिसबाट हुने आम्दानीमा पनि ४० प्रतिशतले बढोत्तरी भई ३ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment