Comments Add Comment

नेपाल यू-१९ विश्वकप क्रिकेटमा छनोट हुन असफल

 

१० साउन, काठमाडौं । नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न सकेन ।

अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपमा स्थापना बनाउन सफल भएको छ ।

सिंगापुरमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भएपछि ९६ रनले पराजित भयो । दुई अंकले पछि परिसकेको नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानमाथि निकै ठूलो अन्तरको जित निकाल्नु पर्ने थियो । तर, नेपालले ठूलो अन्तरको हार पो ब्यहोर्‍यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । पाचौं नम्बरमा आएका दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे ।

ठूलो लक्ष्य पछ्याएको नेपालको सुरुवात नै राम्रो हुन सकेन । ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दिप सुनारलाई व्यक्तिगत ६ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि २ रनको स्कोरमा आउट भए ।

तेस्रो नम्बरका प्रनित थापामगरले खाता खोल्नै सकेनन् भने अनिल साह पनि ६ रनमै आउट हुँदा नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । १७औं ओभरमा नेपालले पाँचौं विकेटका रुपमा रोहित कुमार पौडेललाई गुमायो, उनले ३ रनमात्र टिमको खातामा थप्न सके ।

पाचौं नम्बरमा आएका दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ३३.२ र ३४.६ ओभरमा क्रमसः पवन सर्राफ १० र दिपेन्द्र सिंह ऐरी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालको स्कोर ८५ भयो ।

त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पनि १० रनमात्र बनाए । नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका युसुफ जाजीले ४ तथा मुजिव रहमानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।

ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मदतमा १०१ रन बनाए । उनको विकेेट लिन नसक्नु नै नेपालका लागि घातक बन्यो । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए ।

अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए ।

नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment