Comments Add Comment

जिससका कर्मचारीले काम पाएनन्, स्थानीय तहले कर्मचारी पाएनन् !

१० साउन, दार्चुला । जिल्ला बिकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएपछि कार्यालयका कर्मचारी पनि जिसस मातहत आएका छन् । जिबिसको काम कटौती भएको र अन्य कार्यालयमा समायोजन पनि नभएपछि उनीहरु अन्यौलमा परेका छन् ।

कर्मचारी समायोजनमा आफूहरुलाई बेवास्था गरिएको गुनासो उनीहरुको छ । ‘न कुनै स्थानीय तहमा जान निर्देशन आएको छ न समन्वय समितिमा काम पाइएको छ ।’ जिसस दार्चुलाका नायव सुब्बा सञ्जीव अवस्थीले भने ।

स्थानीय विकास अधिकारी सहदेब रायमाझीका अनुसार कतिपय स्थानीय तहले जिससका कर्मचारीहरुलाई आफ्नो तहमा नपठाउन अनुरोध गरेका छन् । यस्तो अवस्थामा कर्मचारी कसरी समायोजन गर्ने भन्ने वारेमा केही अन्यौल देखिएको स्थानीय विकास अधिकारी रायमाझीले बताए ।

‘कार्यालयमा दैनिक काम पनि हुँदैन । समायोजनमा पनि खटाएको छैन । बरु अवकास दिए ढुक्कले अन्य काम गर्न सकिन्थ्यो’ खरिदार बिनोद बुढाथोकीले भने ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले कर्मचारीसँग सोमबार परामर्श पनि गरेका थिए । करारमा रहेका सबै कार्यालयका कर्मचारीहरुलाई स्थानीय तहमा नपठाउन आफूकहाँ पनि निवेदन परेको प्रजिअ कोइरालाको भनाई छ । विभिन्न थरी कर्मचारी संघसंगठनहरु क्रियाशील भएका बेला प्रशासनले पेलेर कर्मचारी समायोजन गर्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।

अन्य कार्यालयका ५६ कर्मचारीको समायोजन

जिल्ला कर्मचारी समायोजन समितिले ४ दिन अगाडि नायव सुब्बा र खरिदार तहका ३० जना कर्मचारीको समायोजन गरेको छ भने सोमवार महिला तथा बालबालिका विकास कार्यलय तथा कार्यालय सहायक गरी २६ कर्मचारीको समायोजन गरी सिफारिस गरेको जनाएको छ ।

निजामती सेवाका कर्मचारीहरु यसरी समायोजनमा पर्दा स्थानीय निकाय अन्तर्गत जिल्ला समन्वय समितिको कार्यालयका ४८ जना कर्मचारीलाई भने कहाँ कसरी खटाउने भन्नेबारे वारे कुनै टुंगो लाग्न सकेको छैन ।

९ तह र ६१ वडाका लागि ४३ निजामती

दार्चुलाका २ नगरपालिका र ७ गाउँपालिकासहित ९ तहका ६१ वडाका लागि अहिलेसम्म २५ जना मात्रै वडा सचिवहरु कार्यरत छन् । २ नगरपालिकामा निमित्त कार्यकारी प्रमुख रहेको दार्चुलाका ७ गाउँपालिकामा भने कार्यकारी अधिकृत नै कार्यरत छन् ।

स्थानीय तहमा ८ लेखापाल र २ सहायक लेखापलले काम गरिरहेका छन् । स्थानीय तहका ६१ वटै वडामा वडा सचिवको व्यवस्था हुने गरी कर्मचारी समायोजन हुने प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment