Comments Add Comment

समान धारणा भएका दलसँग मात्र एकता गर्न नयाँ शक्ति नेतृत्वलाई सुझाव

१० साउन, काठमाडौं । संघीय समाजबादी फोरमसँगको एकता प्रक्रियाको पार्टीभित्रैबाट बिरोध भएपछि बसेको नयाँ शक्ति नेपालको केन्द्रीय समिति बैठकमा नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण अभियान सुरु गर्न नेतृत्वलाई सुझाव दिएका छन ।

नयाँ शक्तिका नेताहरुले समृद्धि, सुशासन र राष्ट्रिय एकतालाई पार्टीको आगामी कार्यदिशा बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय कार्यकारी समिति तथा संघीय परिषद बैठकमा बोल्दै नेताहरुले समान धारणा भएका राजनीतिक दलहरुसँग मात्रै पार्टी एकीकरण गरेर जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

पार्टीले हाल उपेन्द्र यादव नेतृत्वकेा संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताकालागि चरणवद्ध छलफल गरिरहेको छ । बैठकमा संगठन निर्माण अभियानलाई व्यवस्थित बनाउन नसकेको भन्दै पार्टीका कतिपय नेताहरुले संयोजक डा. बाबुराम भट्टराईको आलोचना समेत गरेका छन् ।

पार्टीका नेताहरुले समृद्धि, सुशासन र राष्ट्रिय एकताका लागि आवश्यक पहलकदमी लिन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । मुलुकमा बैकल्पिक शक्ति आवश्यक रहेकाले त्यस्तो आवश्यक्ता पूरा हुने गरी पार्टीको विचार र संगठनलाई गतिशील बनाउन बैठकमा जोड दिइएको नेता देवेन्द्र पराजुलीले जानकारी दिए ।

नयाँ शक्तिले स्थानीय तह दुई चरणको निर्वाचनमा हार व्यहोर्नु परेपछि त्यसको समीक्षा गर्दै भावी रणनीति तय गर्न बुधबारबाट केन्द्रीय कार्यकारी समितिको बैठक समेत बोलाएको छ ।

बैठकमा लागि एजेन्डा तय गर्न केन्द्रीय कार्यकारी समिति र संघीय परिषद बैठक बसिरहेको पनि नेता पासाङ शेर्पाले बताए । सोमबार बैठकको उदघाटन गर्दै पार्टीका संयोजक बाबुराम भट्टराईले आर्थिक समृद्धिमा जोड दिएर मुलुकलाई निकास दिन आफ्नो पार्टी मात्रै समक्ष हुने दावीसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment