Comments Add Comment

‘प्रचण्डले कमल थापालाई फोन गर्छु भनेर ढाँटे’

हामीलाई अपमानित गरियो, यस्तै हो भने सरकारमा जान्नौंः दिलनाथ

फाइल फोटो

१० साउन, काठमाडौं । सत्तारुढ दलले आफूहरुलाई अपमानित गरेको भन्दै राप्रपाका नेताहरुले सरकारमा नजाने चेतावनी दिएका छन् । बुधबार पुनर्गठन हुने मन्त्रिपरिषदमा सम्मानजनक सहभागी नगराइए राप्रपा देउवा सरकारमा नजाने र फरक ढंगले अघि बढ्ने राप्रपाका एक नेताले बताएका छन् ।

‘सरकारमा सहभागी हुने कुरामा हामी सकारात्मक नै थियौं, तर कांग्रेस र माओवादीले १८ जना मन्त्रीहरु बनाउँदै गर्दा हामीलाई अपमानित गरियो,’ राप्रपाका नेता दिलनाथ गिरीले अनलाइनखबरसँग भने, ‘आफूहरु राम्रा मन्त्रालय लिने अनि राप्रपालाई सुकेको रोटी फ्याक्न खोजिएको हो भने राप्रपा त्यसरी सरकारमा सहभागी हुँदैन ।’

बुधबार विस्तार हुने मन्त्रिपरिषदमा राप्रपालाई सम्मानजनक रुपमा सहभागी गराइएन भने देउवा सरकारमा पार्टीले सहभागिता नजनाउने र फरक ढंगबाट अघि बढ्ने गिरीले बताए ।

मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्याले प्रधानमन्त्रीले राप्रपासँग कुनै परामर्श नगरेको गिरीले बताए । उनले भने, ‘प्रधानमन्त्रीले अहिलेसम्म हामीसँग कुनै सम्पर्क गर्नुभएको छैन, सत्तापक्षको वार्ता टोलीले पनि सम्पर्क गरेको छैन, हामीले सम्पर्क गर्न खोज्दा रेस्पोन्स नै
गर्दैनन् ।’

यसैवीच राप्रपा अध्यक्ष कमल थापाले मंगलबार बिहान लाजिम्पाट पुगेर सत्तारुढ दलका नेता पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । भेटमा सरकारमा सहभागिताका साथै संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो ।

कमल थापासँगको भेटमा प्रचण्डले राप्रपा सरकारमा सहभागी हुनै पर्ने बताउँदै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग तत्काल कुरा गर्ने आश्वासन दिएका थिए । दुई नेताको भेटबारे जानकारी दिँदै गिरीले अनलाइनखबरसँग भने, ‘प्रचण्डजीले हाम्रा अध्यक्षलाई म देउवाजीसँग कुरा गरेर तपाईलाई फोन गर्छु भन्नुभएको थियो, तर खबरै गर्नुभएन ।’

उसो त कांग्रेस- माओवादी गठबन्धनको सरकारमा सहभागी हुने/नहुनेबारे राप्रपाभित्र विवाद छ । अध्यक्ष कमल थापा आफैं सरकारमा सहभागी नहुने मनसायमा छन् भने पूर्व राप्रपा पक्षका नेताहरु आफैं सरकारमा जाने पक्षमा छन् ।
थापाले संसदमा ३७ सीटको प्रतिनिधित्व गर्ने राप्रपालाई एक उपप्रधानमन्त्रीसहित ५ मन्त्रालय दिनुपर्ने माग राखेका छन् । तर, प्रधानमन्त्रीले भने उपप्रधान बाहेक ४ मन्त्रालय दिने बताउँदै आएका छन् ।

कांग्रेस र माओवादीबाट मन्त्रीको नाम टुंगो लागिसकेकाले बुधबार मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ । लोकतान्त्रिक फोरम र नेकपा संयुक्त पनि बुधबार सरकारमा सहभागी हुने सम्भावना छ । तर, राप्रपाबाट भने अझैसम्म सरकारमा जाने/ नजाने टुंगो लागिसकेको छैन ।

यसैसाता बसेको राप्रपा केन्द्रीय समितिको बैठकले सरकारमा सहभागि हुने/नहुनेबारे निर्णय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment