Comments Add Comment

सुर्खेतमा गुनासोपेटिका बेकामे बन्दै, एक वर्षमा पर्‍यो मात्रै एक उजुरी

११ साउन, सुर्खेत । आधुनिक सञ्चार प्रविधिको विकाससंगै सेवाग्राहीका गुनासा संकलन गर्न कार्यालयमा राखिएका गुनासो पेटिकाहरुमा गुनासाहरु आउन छाडेका छन् ।

सुर्खेतका विभिन्न कार्यालयहरुमा राखिएका गुनासो पेटिकाहरुमा वर्षभरिमा एउटा मात्र गुनासो संकलन भएको पाइएको छ ।

प्रविधिको विकास भएसँगै सेवाग्राहीले अरु माध्ययमबाटै आफ्ना गुनासा व्यक्त गर्दा गुनासो पेटिकाहरु खाली भएका हुन् । सेवाग्राहीले उजुरीपेटिकामार्फत नभएर कार्यालय प्रमुखलाई प्रत्यक्ष भेटेर गुनासो सुनाउने चलन बढेको छ ।

जिल्ला समन्वय समिति सुर्खेतको कार्यालयमा राखिएको गुनासो पेटिकामा अहिले गुनासो आउने क्रम लगभग बन्द नै भएको छ ।

गुनासो पेटिकामा राखिएका गुनासाहरुको सम्बोधन नहुने भएकोले यस्तो भएको सेवाग्राहीको भनाइ छ । सेवाग्राहीले यो प्रक्रिया झण्झटिलो मान्दा गुनासो पेटिकाको प्रयोग कम भएको सामाजिक विकास अधिकृत टंकप्रकाश लामिछानेले बताए ।

‘पहिले–पहिले नागरिकहरुलाई कार्यालय प्रमुखलाई भेट्नै समस्या हुन्थ्यो, त्यसैले गुनासो पेटिकाको व्यवस्था गरिएको हो,’ प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले भने, ‘तर आजभोलि जिल्ला प्रशासन कार्यालयमा गुनासो सुन्ने सहज व्यवस्था गरिएकाले पनि गुनासो पेटिकामा गुनासो कम आउन थालेको हो ।’

जिल्ला शिक्षा कार्यालय सुर्खेतमा राखिएको उजुरी पेटिकामा पनि एक वर्षमा एउटा मात्रै उजुरी परेको कार्यालयका निमित्त प्रमुख एवम् सूचना अधिकारी भोजप्रसाद लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment