Comments Add Comment

अरब किन जाने ? गाउँमै पैसा कमाउन भ्याईनभ्याई !

आम्दानीको स्रोतः घर निर्माणदेखि खेत जोत्नेसम्म

११ साउन, धादिङ । पुरुषोत्तम लम्साल (३९) गाउँकै जाँगरिला प्राविधिकका रुपमा चिनिन्छन् । घर, गोठलगायत भूकम्प प्रतिरोधी घर निर्माणमा सिपालु पुरुषोत्तम ०७२ कात्तिकदेखि आधुनिक घर निर्माणमा ब्यस्त छन् ।

‘अहिले खेतमा रोपाईंका लागि छुट्टीमा बसेको छु, घर बनाउन भ्याई नभ्याई छ,’ पुरुषोत्तमले भने ‘डेढ वर्ष भयो दशैं तिहार बाहेक अरुबेला छुट्टी बस्न पाएको छैन ।’

पहिल्यैदेखि घर निर्माणमा संलग्न पुरुषोत्तम भूकम्पपछि कामको चाप बढेको बताउँछन् । ‘पहिला पनि म घर, गोठ बनाउने काम गर्थेँ, भूकम्पपछि कामको चाप निकै बढेको छ । घर बनाउन भ्याइ नभ्याई छ,’ पुरुषोत्तमले भने ।

उनी घर निर्माण बाहेक घरको अन्य काम पनि गर्छन् । आफ्नै बारीमा उब्जेको अन्नले खान पुग्छ । खाएर केही अन्न उब्रन्छ पनि । श्रीमतीले खसीबाख्रा र एउटा भैँसी पालेकी छिन् । वर्षमा दुई चारवटा त खसी नै बेच्छन् ।

घर निर्माणको काम विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म हो । एक दिन काम गरेवापत गाउँमा एक हजार रुपैयाँ ज्यालादर चलेको छ । बिहान दिउँसै काम गरेको एक हजार पाँचसय आउँछ । यसरी हिसाब गर्दा उनी महिनामा कहिलेकाहीँ ४५ हजारसम्म कमाउँछन् ।

कमाइप्रति सन्तुष्ट पुरुषोत्तम भन्छन् ‘गाउँमा अरु दाजुभाइ पनि बसिदिए हुन्थ्यो । कोही छैनन् ।’

टेकबहादुर मगर (४४) अर्का उद्यमी किसानका रुपमा चिनिन्छन् । आफ्नै घरमा हल गोरु छ । कुनैबेला एक घर, एक हल गोरु हुने धादिङ जिल्ला नीलकण्ठ नगरपालिका ९ को निगालपानी गाउँमा अहिले जम्मा ७ हल गोरु छन् । गोरु हुनेलाई खेतीका बेला उस्तै भ्याई नभ्याई छ । एक हल गोरुले जोतेवापत एक हजार पारिश्रमिक पाइन्छ ।

टेकबहादुरको पनि आफ्नै खेती छ । अन्न किन्न पर्दैन । लुगाफाटो र छोराछोरीको पढाइ बाहेक खासै खर्च हुन्न । यसपालि मात्रै १४ हजार रुपैयाँ हालेर एउटा बहर गोरु किनेको जानकारी दिँदै उनले भने ‘गाउँको जिन्दगी नरमाइलो छैन ।’

खेतीबाहेक टेकबहादुर राम्रा डकर्मी पनि हुन् । हिउँदका बेला काठको काम गर्छन् । हिउँदको याममा खाट, दराज, लगायत अन्य काठको काम गर्न भ्याई नभ्याई हुन्छ उनलाई । छोरी श्रीमतीसमेत सँगै मेलामा हिँड्ने भएकाले सिजनको बेला एकै दिन दुई हजारसम्म कमाउँछन् टेकबहादुर ।

गाउँका धेरैले गोरु पाल्छ छाडेपछि रामचन्द्र लम्साल (५८)लाई कामको चाप बढेको छ । ‘आफ्नै खेतीपाती सजिलो हुन्छ भनेर गोरु पालेको हुँ, गाउँका दाजुभाइले मेरो बारी जोत्दे भनेपछि नाई भन्न मिल्दैन’ रामचन्द्रले भने ।

लैना र बकेर्ना भैंसी पाल्न नटुटाउने रामचन्द्र पनि हिउँदको बेला घर निर्माणमा सक्रिय हुन्छन् ।

‘गाउँमा बसेपछि फुर्सद बस्न नपाएको चिन्ता व्यक्त गर्ने रामचन्द्रले पनि गाउँको जीवनशैलिवारे कुनै गुनासो गरेनन् ।

आकर्षक आम्दानी, अग्रिम पारिश्रमिक

 

नेपालमा अवसरै छैन, काम पाए पो गर्नु ! काम गरे पनि पैसा पाइँदैन भन्दै कमाइका लागि विदेश जाने युवाहरुको भीड घटेको छैन । तर, यही मुलुकमा बसेर कतार, साउदी लगायत खाडी मुलुकमा भन्दा आकर्षक कमाई गर्ने सम्भावनाहरु देखिन थालेका छन् ।

गाउँमा बसेका केही युवाले घरको भात खाएर महिनामा ४५ हजारसम्म कमाइ गर्छन् भन्दा कसैलाई विश्वास नलाग्न सक्छ । तर, गाउँमा यस्ता पात्रहरु धेरै भेटिन थालेका छन्, जो गाउँमै घरको भात खाएर सानको जिन्दगी बिताउन थालेका छन् ।

खेत जोत्ने, आली लाउने वा अरु कुनै कामका लागि अहिले अग्रिम पारिश्रमिकको समेत व्यवस्था छ गाउँमा । हातमा सिप र जाँगर हुनेलाई काम गर्न कहाँ जाने भन्नै पर्दैन, मेरो यति दिन काम गर्दिनुपर्छ है भनेर पहिल्यै पारिश्रमिक दिन्छन् ।

‘पैसाको त तनाव छैन । काम गर्नै भ्याइ नभ्याई हुन्छ ।’ पुरुषोत्तमले भने ।

बुढाबुढीले धानेको गाउँ

गाउँका प्राय युवा विदेशमा छन् । प्राय घरमा ६० कटेका बुढाबुढी बाहेक अरु छैनन् । सामान्य अवस्थामा त खासै समस्या हुन्न । कोही बिरामी पर्‍यो  भने अस्पताल पुर्‍याउने  मान्छे पनि हुन्न । गाउँमा युवाहरु नबसेकोमा चिन्ता गर्दै स्थानीय राममणि लम्साल (५१) भन्छन् ‘गाउँमा कोही बिरामी भयो भने एम्बुलेन्स बोलाउनेदेखि बिरामी लिएर काठमाडौंसम्म आफैं पुग्नुपर्छ ।’

राममणिले गाउँका धेरै मान्छे बिरामी हुँदा काठमाडौंसम्म लिएर जाने र अस्पतालमा आफन्तको जिम्मा लाएर फर्किने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment