Comments Add Comment

डेढ महिनापछि सरकार विस्तारको तयारी, यी हुन् नयाँ मन्त्री


११ साउन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ ।

मन्त्री चयनमा आफ्नै पार्टीको आन्तरिक समस्या झेल्दै आएका देउवाले दोस्रो चरणको स्थानीय चुनावको व्यस्ततालाई कारण देखाउँदै मन्त्रिपरिषद बिस्तार गरेका थिएनन् ।

कांग्रेसमा भागबण्डाको आधारमा मन्त्री बन्नेहरुको सूची टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । सरकारमा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट पनि मन्त्रीहरु समावेश हुँदैछन् । राप्रपासँग भने अझैसम्म कुरो मिलेको छैन ।

प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीका अनुसार आज दिउँसोसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ । मंगलबार नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसको भोलिपल्टै कांंग्रेसबाट ३, माओवादीबाट ३ र फोरम लोकतान्त्रिकबाट १ जना गरी जम्मा ८ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको थियो ।

को–को बन्दैछन् मन्त्री ?

कांग्रेसबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी, भीमसेनदास प्रधान, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने चर्चा छ ।

यद्यपि मीन विश्वकर्मा, अर्जुन जोशी र वीरबहादुर बलायरको नाम हेरफेर हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

हाल कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुर श्रममन्त्री छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सीता नेपालीको चर्चा छ । सीता नेपालीको सट्टा आशा कोइरालालाई मन्त्री बनाउने चर्चा पनि माओवादीभित्र चलेको छ ।

९ मन्त्रालय पाएको माओवादीबाट हाल उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा छन् भने गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह छन् ।

यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहितलाई सरकारमा पठाउने तयारी गरेको छ । प्रचण्ड नेतृत्वको सरकारमा पनि देव र दहित मन्त्री थिए । देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता पाउने आश्वासन पाएका उनीहरुले अझैसम्म मन्त्री क्वाटर छाडेका छैनन् ।

हाल सरकारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संसदीय मामिला तथा स्थानीय विकास मन्त्री छन् ।

यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment