Comments Add Comment

बहसः बाआमालाई कसले पाल्ने ? कसरी पाल्ने ?

यस्तो छ अमेरिकी समाजको अनुभव

उल्लेखित शीर्षकबारे टिप्पणी गर्नुपूर्व हामीलाई अपत्यारिलो लाग्न सक्ने एउटा संक्षिप्त अमेरिकी जीवनी म यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु ।

माथिको यो तस्विर ९७ वर्षकी एक एकल अमेरिकी महिला बार्बरा रेमन को हो । उनी १० वर्षअघि श्रीमान बितेपछि एक्लो जीवन बिताइरहेकी छिन् । उनको शरीरका हाड र छाला लगभग छुट्टइिसकेका छन् । र मांशपेसीको भाग पनि रित्तिँदै गएको छ । जीवनको आखिरी समयमा पनि उनी आफ्ना नित्यकर्महरु र घरायसी कामहरु जस्तै सफासुग्घर रहने, खाना पकाउने, घर सफा राख्ने र करेसाबारीमा तरकारी उब्जाउने आदि आफै गर्छिन् । पोहोरसम्म त गाडी पनि आफै चलाऊने गर्थिन् ।

उनी निसन्तान भएर यो उमेरमा एक्लै बस्नुपरेको भने होइन । उनका असल र सक्षम दुई छोराहरु र थुप्रै नाति-नातिनाहरु उनकै घर वरिपरि बस्दछन् । उनका प्रायः सबै परिवारका सदस्यहरुलाई मैले केही वर्षदेखि चिन्दै आएको छु । उनी र उनका परिवारहरुलाई चिनेदेखिनै मेरो मन-मस्तिष्कमा बारम्बार एउटा प्रश्न उठ्ने गर्थ्यो – यति राम्रो र सम्पन्न परिवारहरुवीच पनि यी बुढी महिला किन एक्लै बसेकी होलिन् ?

हुनत उनी र उनका स-परिवारको सम्बन्ध सधैं अत्यन्तै राम्रो र हार्दिक देखिन्छ । उनी सधैं हाँसिली देखिन्छिन् । छोरा-बुहारी सबैले उनलाई असाध्यै माया र सम्मान गरेको देखिन्छ । त्यसैले उनीहरुको सम्बन्धमा शंका गर्ने ठाउँ देखिँदैन ।

लामो समयदेखिको मेरो मनको कौतुहललाई मेट्न मैले एकदिन ती बुढीआमा (बार्बरा) र उनका छोराहरुलाई छुट्टाछुट्टै भेटी आफ्ना जिज्ञासाहरु राख्ने जमर्को गरें । सर्वप्रथम बार्बरा लाई भेटें । उनीसँग गरिएको कुराकानीको प्रमुख अंश यस प्रकार छः

प्रश्नः यतिका धेरै छोराबुहारी र नातिनातीनाहरु भएर पनि किन एक्लै बस्नुभएको ? यहाँको यो रहर हो कि वाध्यता ? तपाईंलाई अरुको सहारा चाहिँदैन र ?

बार्बराः (मुसुक्क हाँस्दै ) एक्लै बस्नु मेरो रहर हो । खुशी भएर र खुशी रहन नै मैले यसो गरेकी हुँ । म अझै पनि आफ्ना कामहरु आफैं गर्न सक्छु, अरुको भर पर्नु पर्दैन । फेरि उनीहरु (छोराबुहारीहरु ) व्यस्त पनि त छन् नि । मैले सकुञ्जेल अरुलाई दुःख दिन र बोझ बन्न हुँदैन ।

यसरी बस्नुमा म बढी स्वतन्त्र भएको महशुस गर्दछु । एक्लै बस्दा आफ्नो इच्छाअनुसार खान र कामहरु गर्न पनि त पाइन्छ । अप्ठेरो पर्दा उनीहरुलाई फोन गर्छु, तुरुन्तै आएर सहयोग गरिहाल्छन् । फेरि उनीहरुले मलाई बारम्बार भेट्ने र फोन गर्ने पनि गरिरहन्छन् । यो वर्षदेखि गाडी चलाउन नसक्ने भएकाले किनमेलको काम छोराहरुले नै गरिदिन्छन् ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ताले मलाई खान लाउन पुग्ने भएकाले मलाई उनीहरुको आर्थिक सहयोग पनि खासै चाहिँदैन ।

प्रश्नः अनि यतिका लामा दिनहरु कसरी बिताउनुहुन्छ त ? एक्लो महशुस हुने र पट्यार लाग्ने गर्दैन ?

बार्बराः मेरा कुकुर र बिराला साथीहरु छन् । उनीहरुसँग खेल्छु र रमाउँछु । दिनमा बाइबल लगायतका किताबहरु पढ्छु । करेसाबारीमा काम गर्छु, कहिलेकाहीँ नजिकैको सिनियर सेन्टरमा जान्छु, उतै खाना खान्छु र साथीसंगीहरुसँग गफगाफ गरी रमाइलो गर्छु ।

प्रत्येक आइतबार बिहान र बेलुकी चर्चमा जान्छु र त्यहाँ प्रार्थना गर्ने र प्रवचन सुन्ने गर्छु । यस बाहेक चर्चमा हुने विभिन्न गतिविधिहरुमा सहभागी भई स्वयंसेवा पनि गर्छु । यसरी म आफूलाई कुनै न कुनै काममा सधैं व्यस्त राख्ने गर्छु । त्यसैले मलाई पट्यार लाग्ने गरी एक्लोपनाको महशुस कहिल्यै हुँदैहुँदैन ।

प्रश्नः तपाईं आफ्नो सन्ततिहरुप्रति सन्तोष र खुशी हुनुहुन्छ त ? उनीहरुप्रति कुनै गुनासो छ कि छैन ?

बार्बराः विल्कुलै । म उनीहरुप्रति सन्तोष र खुशी मात्रै होइन, गर्व पनि गर्दछु । सबैजना मेरा पति र मैले देखाएको बाटोमा हिँडेका छन् । मेरो असाध्यै माया र हेरचाह गर्छन् । त्यसैले उनीहरुप्रति मेरो कुनै गुनासो छैन । सँगै बस्दा परिवारका सदस्यहरुबीच मनमुटाव र चिसोपना बढ्न सक्छ, सम्बन्धमा समस्याहरु उत्पन्न हुने खतरा हुन्छ र स्वतन्त्रता पनि त साँघुरिन्छ । त्यसैले काम गर्न सकुञ्जेल बेग्लाबेग्लै बस्नु बेस हुन्छ नि, होइन र ?

प्रश्नः उसोभए हातखुट्टा नचल्ने भएपछि चाँही के गर्नुहुन्छ नि ?

बार्बराः म त चाहन्छु- म काम गर्न सक्ने हुँदाहुँदै मरुँ, अर्थात रोग वा अन्य कारणले थलिएर बाँच्न नपरोस् । त्यसैले त्यसबारे अहिले खासै केही सोचेकी छैन ।

त्यस्तो अवस्था आइहालेमा चाँहि छोराबुहारीले चाहेमा म उनीहरुसँगै बस्छु होला । अन्यथा, सिनियर सेल्टर (बृद्धाश्रम ) मा जान्छु ।

प्रश्नः अन्त्यमा, मृत्युपछि आफ्नो धनसम्पत्ति चाँहि के गर्नुहुन्छ नि ?

बार्बराः मैले उपयोग गरेर बचेको सम्पत्ति दुबै छोराहरुलाई बराबर बाँडिदिन्छु ।

उनीसँगको कुराकानी पछि मैले उनको जेठा छोरा माइक रेमनसँग कुराकानी गरेँ, जुन यस प्रकार छः

प्रश्नः तपाईं आफ्नी आमालाई कति माया गर्नु हुन्छ ?

माइकः खै कसरी भनुँ ! असाध्यै धेरै ।

प्रश्नः उसोभए आमालाई ९७ वर्षको उमेर भैसक्दा पनि किन एक्लै राख्नुभएको त ?

माइकः एक्लै बस्नु उहाँको खुशी र रोजाइ हो । सायद उहाँ स्वतन्त्र जीवन बिताउन चाहनुहुन्छ । हामीले त हाम्रो भन्दा पनि उहाँको चाहनाअनुसार काम गर्ने हो । हामीसँगै बस्न चाहनुहुन्छ भने पनि हामी उहाँलाई सदैव स्वागत गर्दछौं । तर, मलाई थाहा छ, उहाँ अहिले त्यसो गर्नुहुन्न। हाम्रो कर्तव्य भनेको नै उहाँलाई सुखी र खुशी राख्नु हो ।

प्रश्नः उहाँ काम गर्न नसक्ने भएपछिचाँहि के गर्नुहुन्छ नि ?

माइकः त्यतिबेला पनि उहाँकै इच्छाअनुसार काम गर्ने छौं । हामीसँगै बस्न चाहनुहुन्छ वा अन्य कतै बस्न रुचाउनुहुन्उँछ, हामी त्यसैअनुसार व्यवस्था मिलाउँछौं ।

प्रश्नः यसरी एक्ली बूढीआमालाई एक्लै छुट्टै घरमा राख्दा तपाईंका आफन्त र छरछिमेकीहरुले कुरा काट्दैनन त ? तपाईंलाई यसले किन यस्तो प्रश्न गर्‍यो होला भन्ने लाग्न पनि सक्छ, यसको कारण के हो भने हाम्रो नेपाली समाजमा यस्तो हुने गर्छ ।

माइकः (छक्क पर्दै ) के यो साँचो हो ? अरुको घरको आन्तरिक विषयहरुप्रति समाजले अनावश्यक कुरा काट्ने प्रवृत्ति हुन्छ है तपाईंहरुकोमा ? यसबाट कुरा काट्नेहरुलाई चाँहि के फाइदा हुन्छ ? त्यस्तो हो भने त कुरा काट्नेहरुले नै दया गरी बुढाबूढीहरुलाई लगेर पाल्दिए भैहाल्यो नि त । हामीलाई चाँही अरुले के भन्छन् भन्दा पनि हाम्री आमाले के चाहन्छिन् भन्ने कुराको बढी सरोकार हुन्छ ।

प्रश्नः अनि आमाको मृत्युपछि उनको सम्पत्ती के गर्नु हुन्छ नि ?

माइकः त्यो पनि उहाँकै चाहनाअनुसार गरिदिन्छौं ।

प्रश्न- अन्त्यमा, आफ्नी आमाको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

माइकः मेरी अामाएक महान र गर्व गर्न लायक नारी हुनुहुन्छ । उहाँजस्ती आमा पाउनु हाम्रो सौभाग्य हो । उहाँ एक असल छोरी, असल आमा र असल श्रीमती सबै हुनुहुन्छ। उहाँकै मार्गदर्शनले नै आज हामी यो अवस्थामा छौं ।

बहसः बाआमालाई कसले, कसरी पाल्ने ?

यी दुई अमेरिकी आमाछोरासँगको कुराकानीपछि मलाई हाम्रो नेपाली समाजमा विद्यमान र विकराल बन्दै गएको सामाजिक समस्याप्रति केही टिप्पणी नगरी बस्न मलाई मेरो मनले दिँदै दिएन ।

बुढाबुढी बाआमाको हेरचाह कसले र कसरी गर्ने भन्नेबारे बहसको थालनी गर्न अब ढिला गर्नुहुँदैन । र, केही शुरुवात भैसकेका पनि छन । म पनि यो लेख मार्फत आफ्नो अनुभव र दृष्टिकोणसहित त्यस बहसमा सहभागी हुने प्रयत्न गर्दैछु ।

साँच्चै भन्नुपर्दा अहिले हाम्रो समाजमा बा-आमा र छोराछोरी दुबै पक्षलाई चिन्ता छ-बाआमालाई छोराछोरीहरुले पालेनन् वा नपाल्लान् कि भन्ने चिन्ता छ भने छोराछोरीहरुलाई बा-आमा पाल्नुपर्ला कि भन्ने चिन्ता छ ।

जसरी बाआमाले छोराछोरीहरुलाई जन्माउने, हुर्काउने, बढाउने र पढाउने काममा मद्दत गरे, सन्ततिहरुले त्यो गुनलाई बिर्सनुहुँदैन । बाआमाको माया र हेरचाह गर्नु मानवीय कर्तव्य र धर्मभित्र पर्ने कुराहरु हुन् ।

छोराछोरीहरु उनीहरुको बुढेसकालको लौरो (सहारा ) बन्नैपर्छ । यसबारे ज्यादा बहस र विवाद गर्नुपर्ने कुनै कारण छँदै छैन । बहस मात्र ‘कसरी’ गर्ने भन्ने कुरामा केन्द्रित हुनुपर्छ भन्ने लाग्छ ।

समय, परिस्थिति, र वाध्यता आदिका कारण मन भएर पनि धेरै छोराछोरीहरुले आफ्ना बाआमासँगै बसेर उनीहरुको रेखदेख गर्ने अवस्था छैन । छोराछोरीहरुलाई एकातिर आफ्ना बाआमाप्रतिको दायित्व हुन्छ भने अर्कोतिर आफ्नो र बालबच्चाहरुको भविश्यप्रतिको चिन्ता र कर्तव्य हुन्छ । आजको युवा पुस्तालाई यी दुबै कुराहरुलाई सन्तुलित व्यवस्थापन गर्नुपर्ने चुनौती र जिम्मेवारी छ ।

बाआमासँगै बसेर उनीहरुको हेरचाह पुर्‍याउन सके त सर्वोत्तम सेवा हुने भैहाल्यो । तर, सपरिवारसँगै बस्न मिल्ने र पाउने परिवारहरुमा पनि थुप्रै समस्या देखापरिरहेका छन् । फरक पुस्ता र फरक उमेरका कारण खाने, लगाउने, काम गर्ने, सोच्ने आदि तरिका र इच्छाहरु बाआमा र छोराबुहारीका प्रायः सबै फरक हुन्छन् । एउटाको शैली र चाहना अर्कोलाई चित्त नबुझ्नेवित्तिकै असमजदारी बढ्दै जान थाल्छ र झगडाको बिउ रोपिन्छ । विशेष गरी अझ लामो समय सँगै बस्दा सासू र बुहारीविच चिसोपना बढ्दै जाने रहेछ भन्ने म आफैले पनि भोगेको र बुझेको छु ।

सासूससुराले आफुलाई अभिभावक नसम्झी ‘सासू-ससुरा’ पो हुँ त भन्ने अभिमान गर्ने र बुहारीले पनि आफूलाई बुहारीभन्दा ‘आधुनिक नारी’ ठान्ने प्रवृत्तिले मनमुटाव बढ्ने मात्रै नभई भनाभन, झैंझगडा र मानसिक तनाव हुने गर्छ ।

आफन्त र छरछिमेकीले कुरा काट्लान भनी हामी बलजफ्ती एउटै घरभित्र बस्ने कोशिस त गर्छौं नै, तर भित्र भने त्यो घर र परिवारजस्तो नभै कलहको अखडा मात्र हुने गर्छ । एकअर्काप्रतिको माया र श्रद्धा सबै चकनाचूर हुने गर्छ ।

यी र यस्ता पारिवारिक जोखिमलाई न्युनीकरण गर्न र सदस्यहरुलाई स्वतन्त्र जीवन जिउने अवसर दिन हामीले पनि माथि उल्लेखित अमेरिकी रेमन परिवारको जस्तो पश्चिमी शैली पो अपनाउने हो कि ?

सँगै बसेर नराम्रो हुनुभन्दा छुट्टाछुट्टै बसेर सम्बन्धलाई सुधार गर्नु नै श्रेयस्कर हुनेछ । यो भौतिक विज्ञानको सिद्धान्त पनि हो । जब परमाणुहरु पनि निश्चित दूरीभन्दा नजिक जान्छन्, तिनीहरुवीच विकर्षण (घृणा वा तिरस्कार) बढ्न थाल्छ । तर, जब एक आपसमा टाढा हुन थाल्छन्, त्यसपछि तिनीहरुका वीचमा आकर्षण (माया) बढ्न थाल्दछ । हामी मानिसमा पनि यो प्राकृतिक नियम लागू नहुने कुरै भएन ।

डा. नारायण अधिकारी

त्यसैले बार्बराले भन्नुभएजस्तै आफ्ना हातखुट्टा चलुञ्जेल हामी सँगै बस्ने भन्दा सकेसम्म र सम्भव भएसम्म बेग्लाबेग्लै बस्ने कोशिस गर्नुपर्छ । यसले पारिवारिक सम्बन्धलाई झनै मजबुत बनाउने र एक आपसमा माया, स्नेह, सद्भाव र सहयोगको अभिवृद्धि गर्ने रहेछ ।

यसबारे मेरो थप्नु यति हो कि हाम्रो अवस्था, क्षमता र हैसियत अनुसार बुढाबुढीहरुलाई पनि सकेसम्म सुविधासम्पन्न घरमा राख्नुपर्छ र बाहिरबाट रेखदेख र सर-सहयोग गरिराख्नुपर्छ । बुढाबुढीहरुले पनि छोराछोरीहरुलाई अनावश्यक बोझ दिने र गनगन गर्ने गर्नुहुँदैन ।

आफ्ना कारणले अरुलाई अप्ठेरो पो भएको छ वा हुन्छ कि भन्ने कुरामा सबै, सधैं सतर्क रहनुपर्छ ।

फेरि प्रश्न उठ्छ- बुढाबुढी दुबैका हातखुट्टा नचल्ने भएपछि चाँहि के गर्ने नि ? त्यसका लागि परिवारका सबै सदस्यहरुवीच छलफल गरी बाआमाको इच्छालाई केन्द्रमा राखी उपयुक्त उपाय पहिल्याउनुपर्छ ।

परिवारका कुनै सदस्यले उनीहरुको स्याहार सुसार गर्ने इच्छा व्यक्त गर्छन् भने सबैभन्दा राम्रो हुने भैहाल्यो । त्यसवापत पाल्ने छोरा वा छोरीले नै उनीहरुको सम्पूर्ण सम्पत्ती भोगचलन गर्न पाउनुपर्छ । अन्य छोराछोरीहरुले पनि बाआमालाई आफ्ना तर्फबाट आवश्यक सर-सहयोग गर्दै जानुपर्छ ।

बाआमालाई स्वास्थसम्बन्धी जटिल समस्या आइलागेमा र उनीहरुको सबै जिउनी बेचेर पनि उपचार गर्न नसकिने भएमा सबै मिली आर्थिक सहयोग गर्नुपर्छ ।

हाम्रो समाजमा पैत्रिक सम्पत्तिको बिषयलाई लिएर खास गरी दाजुभाइहरु बीच झैंझगडा हुने गर्छ । पहिलो कुरा त पैत्रिक सम्पत्ति भनेको बाआमाको सम्पत्ति हो, त्यो उनीहरुले मात्र उपयोग गर्न पाउने कुरा हो, उनीहरु मरिसकेपछि बाँकी रहेको सम्पत्ति मात्र भाग लाग्ने हो ।

हरेकले आफूले अर्कोले भन्दा केही थोरै पाएँ कि भन्दा पनि बढी पो पाएँ कि भनेर सोचियो भने धेरै समस्या स्वतः समाधान हुन्छ ।

समस्या समाधानका केही उपायहरु

अनि, शरीरिकरुपमा असक्त बाआमालाई यदि उनका कुनै पनि छोरा वा छोरीहरुले हेरचाह गर्न नसक्ने भएमा वा त्यसो गर्न नचाहेमा चाँहि के गर्ने नि ? यो समस्याको निम्न समाधान हुन सक्ला ।

पहिलो समाधानः आफ्नै गाउँ-ठाउँ परपरका छरछिमेकी वा आफन्त कोही कसैले बुढाबुढीहरुको राम्ररी स्याहार सुसार गर्न चाहन्छन् भने त्यस्ता व्यक्तिलाई जिम्मा दिइनुपर्छ । ती व्यक्तिलाई सेवावापतको शुल्क सबै मिली तिर्नु (व्यहोर्नु ) पर्दछ वा बाआमाको मृत्यु् पछि उनीहरुको सम्पूर्ण सम्पत्ति दिने ‘इच्छापत्र’ गरिदिनुपर्छ ।

यहाँनिर ध्यान दिनुपर्ने कुरा के हुन्छ भने बुढाबुढीहरुको चाहना बेगर उनीहरुलाई सकेसम्म जन्मथलोबाट अन्त्र टाढा सार्ने गर्नुहुँदैन । अर्थात मृत्युपर्यन्त आफ्नै प्यारो गाउँ-ठाउँमा रम्न दिनुपर्छ । भौतिक सुखले मात्र उनीहरुको मन खुशी हुन र रमाउन कदापि सक्दैन । आफ्नो लामो जीवनका अनेकौँ अनुभव र घटनाहरु साटफेर गर्ने दौंतरीहरु नभेटिने ठाउँ उनिहरुको लागि बिरानो र जेल समान हुन्छ ।

दोस्रो समाधानः बुढाबुढीहरुलाई बृद्धाश्रम वा संरक्षण केन्द्र वा तत् सम्बन्धी सामाजिक संस्थामा राख्ने । माथिका कुनै पनि विकल्पहरु असफल भएमा वा सम्भव नभएमा मात्रै यो विकल्प रोजिनुपर्छ । अर्थात यसलाई अन्तिम विकल्पको रुपमा लिनुपर्छ । तथापि, सन्तान नभएका अशक्त र असहाय बुढाबुढीहरुका लागि त यो नै पहिलो र एकमात्र उपाय हुने भयो ।

त्यसैले पनि अब हरेक गाउँ र शहरहरुमा असहाय र अशक्त बुढाबुढीहरुका लागि कम्तिमा एउटा संरक्षण केन्ऽ बनाउनैपर्ने देखिन्छ ।

सारांशमा, यो टिप्पणीको मुख्य उद्देश्य पारिवारिक सदभाव र सम्बन्धलाई मजबुत पार्दै बुढाबुढीहरुलाई कसरी सुखी र खुशी राख्न सकिन्छ भन्ने हो । हरेक परिवारको परिवेश, आर्थिक हैसियत र सोचाइ अनुसार विकल्पहरु फरक-फरक हुन्छन् ।

बाआमाले पनि आफ्नो कारणले सन्ततिहरुलाई कतै दुःख र अप्ठेरो पो भैराखेको छ कि भनि सोच्ने र सम्भव भए सम्म आफ्नो काम आँफै गर्ने र समस्याहरु पनि आँफै समाधान गर्न कोशीस गर्ने, अनि सन्ततिहरुले पनि आफ्ना जीवनदाता र भाग्य विधाता बाआमाहरुको चाहना र आवश्यकताप्रति सचेत बन्दै उनीहरुप्रति सहयोगी बनिरहन सके पारिवारिक सम्बन्ध स्वतः मजबुत भैरहने छ ।

नियम कानुनले बलजफ्ती बाँधेर करकापले गरिने पितृसेवा भन्दा स्वेच्छिक र स्वतन्त्ररुपमा गरिने सेवा कैयौं गुना बढी मुल्यवान र अर्थपूर्ण हुन्छ भन्ने मेरो निश्कर्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment