Comments Add Comment

देव परिवारको प्रश्नः हाम्रो छोरा किन मारिए ?


११ साउन, सप्तरी । ‘मेरो छोरा मारिनुपर्ने कारण के हो ? यो त बुझ्न पाउँछु नि ! ‘ राजविराज ७ का रामशंकर लाल देव जहिल्यै पनि यही प्रश्न गर्छन् । उनकी पत्नी आशादेवी पनि छोरा मारिनुपर्ने कारण बाहिर आउँला भन्ने आशमा बाँचिरहेकी छन् । तर, रामशंकर लालले न त अहिलेसम्म कारण बुझ्न सकेका छन् न त आशादेवीको आश नै पूरा हुन सकेको छ ।

करिब दुई बर्षअघि राजविराज ७ का जितेन्द्रनारायण देव मारिएको घटना हालसम्म गर्भमै रहेको छ । उनी किन मारिए ? हत्यामा संलग्न व्यक्ति को को हुन् ? भन्ने अझैसम्म सार्वजनिक हुन सकेको छैन् ।

३० वर्षीय जितेन्द्रनारायणको हत्या भएको अवस्थामा बरही बीरपुरस्थित कोशी नहर छेउमा शव फेला परेका थियो । ३० असोज २०७२ मा हराएका उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

दुवै कान काटिएको, बायाँ टाउकोदेखि गालासम्म गम्भीर चोट देखिएको, रिढ भाँचिएको तथा शरीरको बिभिन्न ठाउँमा गम्भीर चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो ।

‘बारम्बार जिल्ला प्रहरीदेखि उपल्लो निकायसम्म पुग्यौं तर, राज्य पक्षले छोरा मारिनुको कारण बताउन सकेको छैन’ मृतककी आमा आशादेवीले भनिन्, ‘छोरा मारिनुको कारणबारे बुझ्न मन लागेको छ ।’

मृतकका भाइ चन्द्रननारायण देवले पटकपटक प्रहरीलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको बताए । ‘कति पटक प्रहरी कहाँ धाएँ, आफूलाई नै थाहा छैन’ उनले भने,चार जना एसपीको सरुवा भइसकेपनि हत्यारा र हत्याको कारण पत्ता लाग्न सकेको छैन ।’

समितिले दियो सान्तवना

तराई-मधेस आन्दोलनका बेला भएको घटनाको छानबिन गर्न न्यायाधीश गिरिश चन्ऽ लालको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगको टोलीसँगको भेटमा पनि देव परिवारले आफ्नो दुखेसो पोखेका छन् ।

टोलीले केहि दिनअघि देवको शव फेला परेको स्थान सशस्त्र प्रहरीको बेस क्याम्प नजिक बरही-विरपुरमा रहेको कोशी नहरको स्थलगत अनुगमन गर्नुका साथै स्थानीयसँग घटनाबारे जानकारी लिएका छन् ।

आयोगको टोली मृतक देवको राजविराज स्थित घर पुगी शोकाकुल आमा-बुवालाई भेटेर शोक र सहानभुती प्रकट गर्दै घटनाबारे वास्तविक जानकारी लिएका छन् । पीडित आमा-बुबाले आयोग समक्ष आफ्ना छोरालाई चरम यातना दिई निर्मम्तापुर्वक हत्या गरिएकोले दोषीलाई कडा कारबाही हुनुपर्ने, मृतक देवलाई शहीद घोषणा गर्नु पर्ने, क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने मागबारे ध्यानाकर्षण गराएका छन् ।

आयोगले उचित निर्णय लिएर पीडित परिवारलाई न्याय दिलाउन सिफारिस गर्ने प्रतिवद्धता अध्यक्ष गिरिशचन्द्र लालले व्यक्त गरेको मृतकका भाई चन्द्रनारायणले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment