Comments Add Comment

साझा र विवेकशीलबीच एकता घोषणा, विकल्प तयार भएको नेताहरुको दाबी


११ साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ ।

नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।

साझा पार्टी र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरे । एकता घोषणा कार्यक्रममा सहसंयोजक मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताए । उनले भने, ‘उहाँहरुले सम्बृद्धिको लडाई लगाडि लैजान सक्नु हुन्न ।’

स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएको भन्दै उनले भने, ‘हाम्रो आग्रह छ, अब देशले मुहार फर्ने मौका नगुमाओस् । विकल्प तयार भएको छ ।’

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् ।

दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै पार्टी एकता वा चुनावी तालमेल दुबै विकल्पमा छलफल भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेन ।

काठमाडौंमा सम्मानजनक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् । ‘जनमत दुबै पार्टी मिलेर जानुपर्छ भन्ने रहृयो,’ साझा पार्टीका एक नेताले भने, ‘नमिल्दा संगठन निर्माण गर्न पनि गाह्रो भएपछि एकता भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment