Comments Add Comment

अभिभावकले जान्नैपर्ने कुरा, बच्चालाई कसरी व्यवहारिक, अनुशासित र स्वस्थ्य बनाउने ?


बच्चालाई बच्चालाई हामी विद्यालय पठाउँछौ, पढ्नका लागि । पढ्नुको अर्थ, सिक्नु । ज्ञान आर्जन गर्नु । विद्यालयले परीक्षा लिन्छ । परीक्षामा बच्चाको प्रतिफल कस्तो रह्यो भनेर चासो दिन्छौ । हामी चाहन्छौ, आफ्नो बच्चाको परिक्षाफल उत्कृष्ट होस् ।

तर जान्ने प्रयास गर्दैैनौ कि, बच्चाले विद्यालयमा के सिक्यो, त्यो कति उपयोगी छ, पढेको कुरालाई उसले कसरी बुझेको छ, त्यसलाई व्यवहारिक प्रयोगमा ल्याएको छ कि छैन ?

विद्यालय भर्सेस घर

विद्यालयको पढाई, पाठ्यक्रमबाट मात्र बच्चाले सबै कुरा सिक्दैनन् । अक्सर बच्चाले विद्यालयमा ७, ८ घण्टा विताउँछन् । त्यस अवधीमा उनीहरुले विद्यालयले निर्धारण गरेको पाठ सिक्छन् । पढ्ने र लेख्ने अभ्यास गर्छन् ।

विद्यालयमा भन्दा बच्चाको बढी समय घरमा व्यातित हुन्छ । यहि अवधीमा हो बच्चाले जीवनोपयोगी कुराहरु सिक्ने । आफ्ना अमाबुवाले गर्ने व्यवहार, चालचलन, संस्कार आदिबाट बच्चाले ज्ञान आर्जन गर्छन् । यहि ज्ञानले उनीहरुलाई व्यवहारिक रुपमा डोहोर्‍याउने हो ।

कसरी सिक्ने घरमा ?

बच्चालाई व्यवहारिक ज्ञान दिन सकिन्छ, जसले उनीहरुको जीवनलाई सहज र उत्कृष्ट बनाउन सघाउ पुर्‍याउँछ । यसका लागि कुनै पाठ घोकाउनु पर्दैन । उपदेश दिनु पर्दैन । ज्ञानका ठेली कष्ठस्थ गराउनु पर्दैन । अनुशासित र स्वस्थ्य दिनचर्यामा अभ्यस्त गराए पुग्छ ।

बच्चालाई सानै उमेरदेखि कसरी खाने, के खाने, के गर्ने, के नगर्ने भन्ने कुरामा अभ्यस्त गराउन सकिन्छ । यसको पहिलो सर्त भनेको अभिभावक एवं घर-परिवार अनुशासित हुनैपर्छ । उपदेश दिएर होइन, आफै उदाहरणको रुपमा प्रस्तुत भएर बच्चालाई सिक्ने अवसर दिनुपर्छ ।

नानीदेखि लागेको बानी

नेपाली समाजमा प्रचलित नै छ, ‘नानीदेखि लागेको बानी ।’ अर्थात बच्चामा सिकेको, बुझेको, जानेको र अनुभव गरेको कुरा चीरस्थायी हुन्छ । त्यसैले बच्चालाई सानै उमेरदेखि यस्तो दिनचर्यामा अभ्यस्त गराउनु पर्छ, जो उनीहरुको जीवनभर काम लागोस् ।

कस्तो दिनचर्यामा अभ्यस्त गराउने ?


१. कतिबेला सुत्ने, कतिबेला उठ्ने, कतिबेला खाने ? एउटा निश्चित तालिका तयार गरौ । राती चाडै सुत्ने र बिहान चाडै उठ्ने बानी गराउन सकिन्छ । सुत्ने अवधी औसत ८ घण्टा हुनुपर्छ ।

२. बिहान उठ्नसाथ मनतातो पानी पिउन दिने । त्यसपछि दिसा-पिसाब गराउने । निश्चित समयमा दिसापिसाब गरेपछि उनीहरु दिनभर फ्रेस  हुन्छन् ।

३. बिहान फ्रेस भइसकेपछि योग, व्यायामको अभ्यास गराउन सकिन्छ । बच्चाहरुको निम्ति विशेष किसिमको योग आसन हुन्छन् । बच्चाको शरीर लचिलो हुने भएकाले सानै उमेरदेखि उनीहरुले राम्रोसँग योगा आसन गर्न सक्छन् ।

४. व्यायाम वा योगअभ्यासपछि ब्रेकफास्ट दिनुपर्छ । ब्रेकफास्ट स्वस्थ्य र पोषिलो हुनुपर्छ । ताजा फलफूल, जुस, दुध आदि ब्रेकफास्टको रुपमा उपयोगी हुन्छ । तारेको, भुटेको खानेकुरामा बानी नपारौ ।

५. विद्यालय जानुअघिको समयमा खेल्न दिनुपर्छ । यसले उनीहरुको मन चंगा हुन्छ । पढ्ने उर्जा प्राप्त हुन्छ ।

६. दिनभरमा पाँच वा छ पटक खाना खाने अभ्यास गराउनु पर्छ । निश्चित अवधीमा खानेकुरा खान पाएपछि उनीहरुले भोक महसुष गर्दैनन् । भोक नलागेपछि उनीहरुको ध्यान जंक फूडमा जाँदैन ।

७. साँझ घाम अस्ताउनुअघि खाना खानु राम्रो मानिन्छ । संभव भएसम्म उनीहरुलाई घाम अस्ताउनुअघि खाना ख्वाउनुपर्छ । खाना खाएको दुई वा तीन घण्टा पछि सुत्ने अभ्यास गराउनु पर्छ ।

८. सुत्नुअघि प्रेरणादायी कथाहरु सुनाउन सकिन्छ । यस्तो कथा, प्रसंगहरु सुनाउनुपर्छ जसले उनीहरुमा उत्साह, उमंग, जाँगर, आत्माविश्वास, साहस बढाउँछ । यद्यपी डरलाग्दो, तर्साउने, रुवाउने कथाहरु सुनाउने भुल गर्नु हुँदैन ।

९. बच्चालाई रमाइलो गर्ने समय पनि दिनुपर्छ । यसका लागि निश्चित समय छ्ुट्याउन सकिन्छ । टिभी हेर्ने, ल्यापटपमा गेम खेल्ने समय निर्धारण गरिदिनुपर्छ । त्यसका साथै घरबाहिरको खेलकुदमा अभ्यस्त गराउनुपर्छ । खेलले उनीहरुको शारीरिक विकास हुने मात्र होइन, धैर्यता, अनुशासन, प्रतिस्पर्धा, लगाव जस्ता गुणहरुको विकास हुन्छ ।

१०. घरको संस्कार, परम्परामा पनि बच्चालाई अभ्यस्त गराउनुपर्छ । सामाजिक, धार्मिक गतिविधिमा सरिक गराउनुपर्छ ।

१२. बच्चालाई आफ्नो काम आफै गर्न प्रेरित गरौ । पुस्तक मिलाउने, खेलौना मिलाउने, लुगाफाटो राख्ने, जुत्तामा पोलिस गर्ने, ब्रस गर्ने, खाना खाइसकेपछिको जुठो थाल उठाउने जस्ता काम उनीहरुलाई नै गर्न दिनुपर्छ । यसले उनीहरुमा कामप्रति लगाव बढ्छ । श्रमको महत्व बुझ्छन् ।

१३. सरसफाई बस्न सिकाउनुपर्छ । खाना खानुअघि हात धुने, खाना खाइसकेपछि दाँतमा ब्रस गर्ने, नुहाउने जस्ता कुरामा बानी गराउनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment