Comments Add Comment

देउवा सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।

यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

कांग्रेसबाट को-को भए मन्त्री ?

नेपाली कांग्रेसबाट मन्त्री हुनेहरुमा वीरबहादुर बलायर, अम्बिका बस्नेत, महेन्द्र यादव र मीन विश्वकर्मा छन् । चारै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । बलायरले भौतिक पूर्वाधार, बस्नेतले सहकारी तथा गरीबी निवारण, यादवलेे खानेपानी र विश्वकर्माले बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम र राजन केसी मन्त्री भएका छन् । यादवले कृषि, थापाले कानुन, गौतमले सिचाई, र केसीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कृष्ण सिटौला समूहबाट मन्त्री भएका भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सञ्चारमन्त्री भएका बस्नेत भने खुमबहादुर खड्का समूहका हुन् ।

१३ मन्त्रालय पाएको कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान एवं शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगारमन्त्री भइसकेका छन् ।

माओवादीका ६ मन्त्री थपिए

सत्ता साझेदार माओवादीबाट ६ मन्त्री थपिएका छन् । गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री भएका छन् भने टेकबहादुर बस्नेत सामान्य प्रशासन, महेन्द्रबहादुर शाही उर्जा, शिवकुमार मण्डल आपूर्तिमन्त्री भएका छन् । यस्तै आशा कोइराला महिला बालबालिका तथा समाज कल्याण र सन्तकुमार चौधरी पशुपक्षी मन्त्री भएका छन् ।

९ वटा मन्त्रालय पाएको माओवादी केन्द्रबाट कृष्णबहादुर महारा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा प्रभाकर गृह र प्रभु साह सहरी विकासमन्त्री भइसकेका छन् ।

साना दलबाट तीन मन्त्री थपिए

बुधबारको विस्तारमा फोरम लोकतान्त्रिकबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । फोरम लोकतान्त्रिकबाट जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहिल भूमिसुधारमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधान तथा स्थानीय विकासमन्त्री भइसकेका छन् ।

नेकपा संयुक्तबाट मिथिला चौधरी मन्त्री भएका छिन् । उनले वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment