Comments Add Comment

माओवादीका मन्त्रीः पशु डाक्टरदेखि लोकमानलाई गलाउनेसम्म !

११ साउन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा बुधबार माओवादीका तर्फबाट ६ जना मन्त्री थपिएका छन् । गिरिराजमणि पोखरेलबाहेक माओवादीबाट सबैजना नयाँ अनुहारहरु मन्त्री बनेका छन् ।

माओवादीका मन्त्री बन्नेहरुको संक्षिप्त परिचय यस्तो छः

गिरिराजमणि पोखरेलः स्वास्थ्य मन्त्री

गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी यसअघि दुई पटकसम्म स्वास्थ्यमन्त्री र एकपटक शिक्षा मन्त्री बनिसकेका छन् ।

नारायणकाजी श्रेष्ठसँगै माओवादीसँग पार्टी एकतामा आएर पटक-पटक मन्त्री पद पाउने ‘भाग्यमानी’ नेताका रुपमा उनी चिनिन्छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ बैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलोपटक पोखरेल स्वास्थ्यमन्त्री बनेका थिए । यस्तै ०६५ भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पोखरेल स्वास्थ्यमन्त्री बनेका थिए ।

उनी केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

०३७ सालदेखि राजनीतिमा होमिएका उनले कमर्शमा स्नातकोत्तर र कानुन विषयमा स्नातकसम्म अध्ययन गरेका छन् ।

महोत्तरीको गौरीबास स्थायी घर भएका पोखरेल महोत्तरीको क्षेत्रन म्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बुवा चन्द्रमणि र आमा कनकमणिका छोरा गिरिराजमणि अविवाहित नेता हुन् । पोखरेलले बेलायत, चीन, भारत, भुटान, थाइल्याण्ड, फ्रान्स, स्वीटजल्याण्डसहित एक दर्जन देशहरुको भ्रमण गरेका छन् ।

टेकबहादुर बस्नेतः सामान्य प्रशासनमन्त्री

सल्यानको कोटमौला घर भएका टेकबहादुर बस्नेत पहिलोपटक मन्त्रीको जिम्मेवारीमा पुगेका छन् । व्यवस्थापन र भेटेरिनरी जेटिए (पशु चिकित्सा) विषयमा स्नातक अध्ययन गरेका उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनी हाल माओवादीको प्रमुख सचेतक छन् । उनी ०४७ सालमा पार्टी सदस्यता पाएका उनी ०५० सालदेखि ०६२ सालसम्म १२ वर्ष भूमिगत भएका थिए । उनी शिक्षण पेशा छाडेर राजनीतिमा लागेका थिए । ०४३ सालदेखि ०५० सालसम्म उनले भेटेनरी जेटिए विषय पढाएका थिए ।
राजनीतिमा लागेकै कारण ०५० साल भदौ महिनामा चार दिनसम्म उनलाई हिरासतमा बस्नु परेको थियो ।

बस्नेतले नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु, संविधान निर्माणमा जनसहभागीता नामक दुई कीर्ति संकलन समेत गरेका छन् ।

महेन्द्रबहादुर शाहीः उर्जामन्त्री

महेन्द्रबहादुर शाही देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् । कालिकोटमा जन्मिएका ४१ वर्षीय शाही माओवादीका पूर्वलडाकू कमाण्डर हुन् । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए ।

उनले माओवादी लडाईंका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

राजनीतिक र फौजी दुबै मोर्चामा काम गरेका उनी कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए । उनलाई हर्षबहादुर शाहीले पार्टी सदस्यता दिएका थिए । हर्षबहादुर शाही भने दिवंगत भइसकेका छन् । ०५२ सालको सशस्त्र जनयुद्धको सुरुदेखि नै उनी भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् ।

संसदमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर उनी चर्चामा आएका थिए । महाअभियोगमा शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक थिए ।

शाही सरकारी लाभको पदमा पुगेको पहिलोपटक हो । उनका श्रीमती, दुई छोरी र एउटा छोरा छन् ।

आशा कोइरालाः महिला तथा वालवालिका मन्त्री

आशा कोइराला प्रदेश नम्बर चारबाट मन्त्री बनेकी छन् । उनलाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गोरखाको नारेश्वर जन्मघर भए पनि उनको स्थायी ठेगाना तनहुँको शुक्लागण्डकी हो । गोर्खा क्याम्पसबाट नेपाली विषयमा विएडसम्म अध्ययन गरेकी उनी स्थायी शिक्षकको जागिर छाडेर माओवादी जनयुद्धमा होमिएकी थिइन् । ०४५ सालेदेखि नै पढाउन थालेकी उनी ०५० सालमा स्थायी शिक्षक बनिन् । उनले तनहुँको राधा मावि जामुनेमा १० वर्षसम्म पढाइन् ।

तर, गोरखामा स्कुले जीवनदेखि नै विद्यार्थी राजनीति सुरु गरेकी उनी राजनीतिभन्दा टाढा रहन सकिनन् र भूमिगत भइन् । ०५० सालदेखि ०५८ सालसम्म उनले जेल जीवन बिताएकी छन् । जेलमुक्त भएपछि ०६० सालमा तनहुँ जनसरकार प्रमुख बनेकी उनले आधार इलाकामा समानान्तर सरकार सन्चालन गरेकी थिइन् ।

०६२ साल जेठ ४ गते तनहुँको पालुङबाट उनलाई पुनः नेपाली सेनाले पक्रियो । सेनाको युनिफाइड कमाण्डले आशालाई गोली हानेर घाइते बनाएर पक्रेको थियो । दमौली र बिजयपुरको सैनिक व्यारेकमा करिब २० दिनसम्म बसेकी उनलाई कर्तत्व ज्यान मुद्दा लगाएर फेरि कास्की चलान गरियो । शान्तिप्रक्रिया पछि सरकारले मुद्दा फिर्ता लिएपछि उनी मुक्त भइन् ।

०६४ सालको पहिलो संविधानसभा चुनावमा क्षेत्र नम्बर ३ बाट माओवादी उम्मेदवार बनेकी उनी थोरै मत अन्तरले एमालेका किरण गुरुङसँग पराजित भएकी थिइन् ।

आशाले दिनेश गौतमसँग पुनर्विवाह गरेकी छन् । दिनेश र आशाबाट एक छोरा र एक छोरी छन् । २०४५ सालमै उनको पहिलो विहे भएको थियो । तर २०४८ सालमा उनको श्रीमानको देहान्त भएपछि युद्धकालमा दिनेश गौतमसँग पार्टीले नै जनवादी शैलीमा पुनर्विवाह गराइदियो ।

सन्तकुमार थारुः पशुपंक्षी मन्त्री

बर्दियाको बनियाभार घर भएका सन्तकुमार थारु बर्दिया क्षेत्रनम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

४७ वर्षे थारु ०५३ सालदेखि माओवादीमा संलग्न भएका थिए । बुवा भोलिराम र आमा बेलासीको कोखबाट जन्मिएका सन्तकुमारका श्रीमती, ३ छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment