Comments Add Comment

महेन्द्रले कपडा फेर्न भ्याएनन्, तयारी गरेका चिनकाजीले सपथ लिन पाएनन्

महेन्द्र यादव कुर्ता सुरुवालमा (बायाँबाट चौथो लहरमा) । तस्वीर: रासस

तर, मन्त्रिपरिषद् विस्तारमा रोचक रहृयो । मन्त्रीको सपथ लिने तयारीमा बसेका नेताको नाम काटियो भने कुनै तयारीमै नरहेका नेतालाई लगेर सपथ गराइयो ।११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका १० सहित १९ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरे । यससँगै सरकार गठन भएको झण्डै २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै भइरहेको आलोचना टारे ।
एकाएक मन्त्रीहरुको सूचीमा नयाँ नाम आयो- महेन्द्र यादव । धनुषाका समानुपातिक सांसद एवं केन्द्रीय सदस्य यादव आफैंलाई थाहा थिएन कि उनी मन्त्री बन्दैछन् । देउवा समूहका यादवलाई दावेदारका रुपमा समेत हेरिएको थिएन ।अपराहृन ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथको कार्यक्रम राखिएको थियो । धेरै मन्त्रीहरु दौरासुरुवाल/कोट लगाएर सपथका लागि शीतल निवासतर्फ लागिसकेका थिए ।

सरकार विस्तारलाई लिएर धेरै समाचार बने तर, कहिँ कतै उनको नाम चर्चामा आएन ।

तर, एकाएक मन्त्री भए । अवस्था यस्तो रहृयो कि उनले सपथका लागि जान कपडा समेत फेर्न पाएनन् । उनी कुर्ता सुरुवाल र चप्पल लगाएर सपथका लागि पुगे ।

ठीक शीतल निवास जाने तयारीमा रहेका चिनकाजी श्रेष्ठले भने सपथ लिन पाएनन् । धन्न उनी सपथका लागि शीतल निवासतर्फ हिँडिसकेका थिएनन् ।

कांग्रेसका प्रमुख सचेतक समेत रहेका श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सपथ लिन जाने तयारी अवस्थामा थिएँ । तर, मेरो नाम काटिएको खबर आएपछि गइनँ ।’

उनी रामचन्द्र पौडेल समूहका मानिन्छन् । पौडेल समूहले सिफारिस गरेका चार मन्त्रीमा उनको नाम थिएन । तर, बुधबार विहानसम्म आइपुग्दा आफूलाई रक्षामन्त्री बनाउने सहमति भएको र त्यसअनुसार तयारी गरेको श्रेष्ठ बताउँछन् ।

स्रोतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई उनको नाम ल्याउन भनेका थिए । त्यस अनुसार अडान पनि राखेका थिए ।

तर, पौडेल समूहले नमानेपछि देउवाले आफ्नो समूहबाट मन्त्री बन्नेहरुको सूचीबाट अर्जुन जोशीको नाम काटे र, चिनकाजी श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेका थिए ।

देउवाले चाहेपनि उनको समूहले मानेन । अर्को समूहको भन्दै श्रेष्ठलाई मन्त्री नबनाउने अडान देउवा समूहले लियो । जोशीलाई पनि मन्त्री नबनाइने खबर पुगिसकेको थियो । त्यस्तो अवस्थामा महेन्द्र यादवलाई चिठ्ठा पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment