११साउन, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाही १० वर्षे जनयुद्वकालका माओवादी कमाण्डर हुन् ।
बुधबार पदभार ग्रहण गर्ने क्रममा उनले कमाण्डर शैलीमै निर्देशन दिए । ‘काम गर्दै जाँदा मुद्धा पर्ला र जेल जानु पर्ला भनेर नडराउनुस्,’ मन्त्री शाहीले भने, ‘देशका लागि अब मर्न पनि तयार हुनुस् ।’
उनले थपे, ‘आफ्नो घर निर्माण गर्ने क्रममा जेल जानुपर्यो भने त्यो घृणित कार्य हो, तर राष्ट्र निर्माणमा जेल जानुपर्यो भने त्यो गौरब हो ।’
लामो समय विद्युत आयोजनाहरु अघि बढाउन रोकेर फाइदा लिने तत्व अहिले पनि देशमा सक्रिय रहेको भन्दै उनले कर्मचारीहरुले खुट्टा कमाउन नहुने बताए । उनले चेतावनी दिँदै भने, ‘खुट्टा कमाउनुहुन्छ भने आजै राजीनामा दिनुस्, रिटायर्ड हुनुस् । तर, काम गर्ने आँट छ भने अब म तपाईहरुको साथमा छु ।’
मन्त्री शाहीले देशलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनको लागि अब जलविद्युतको उत्पादन उच्च मात्रामा बढाउन आफ्नो सम्पुर्ण ध्यान केन्दि्रत गर्ने बताए । उनले भने ‘देशमा बिद्युतको उत्पादन बढाउनु पर्ने छ यसका लागि आयोजनाहरु अघि बढाउन पहल गर्छु ।’
मन्त्री शाहीले देशका जलविद्युत आयोजनामा स्वदेशी लगानीलाई प्रोत्साहन गरिने बताए । तर, स्वदेशी लगानीले मात्रै आवश्यक मात्रामा जलबिद्युत आयोजना अघि बढाउन नसकिने उनको बुझाइ छ ।
शाहीले भने, ‘ढोंगी राष्ट्रबादको नाममा जलविद्युतमा हुन लागेको बिदेशी लगानीलाई रोक्ने प्रयासहरु भएका छन्, तपाईहरु यसमा सजग हुनुस् ।’
सिंगो मुलुक दलालहरुको कब्जामा रहेको भन्दै उनले कर्मचारीहरुले दलालको घेराबाट बाहिर आउने आँट गर्नुपर्ने बताए । ‘म तपाइहरुको साथमा छ,ु अब दलालहरुको बिरुद्धमा सँगै बसेर लड्न तयार हुनुस्,’ उनले भने ।
आउँदो हिउँदमा बिद्युत आपुर्ति सहज गराउनका लागि लोड म्यानेजका साथै चुहावट घटाउन पर्ने मन्त्री शाहीले बताए । प्राबिधिक चुहावट नियन्त्रण तत्काल अघि बढाउने उनको भनाइ छ ।