Comments Add Comment

वायुसेवा निगमको बोइङ किन्न ७ आवेदन, सम्पर्क म्याद आजसम्म

इच्छुकमा अमेरिकी र इजरायली कम्पनी पनि


१२ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज बी ७५७–२०० खरिदको लागि ७ वटा कम्पनीले चासो देखाएका छन् । यी कम्पनीलाई निगमले आज (बिहीबार) सम्मको सम्पर्क म्याद दिएको छ ।

यो जहाज लिलाम बिक्रीमा राखिएको लामो समयसम्म एउटै आवेदन परेको थिएन । त्यसपछि निगमले विमान कम्पनीबाहेक एजेन्ट कम्पनीहरुले पनि आवेदन दिनसक्ने भनेर सूचना निकाल्यो र, अहिले सातवटा कम्पनीले आवेदन दिएका हुन् । आवेदन दिनेमा ५ वटा कम्पनी नेपाली नै छन् भने बाँकी २ वटा अमेरिकी र इजरायली कम्पनी हुन् ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठकाअनुसार निगमले सार्वजनिक सूचना जारी गरेर सबै कम्पनीलाई बिहीबार बेलुकासम्म सम्पर्क गर्न आग्रह गरेको छ । अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको उनले बताए ।

१९८७ मा खरिद गरिएको यो विमानको मर्मत खर्च बढ्दै जाने र लागत अनुसारको नाफा पनि नहुने देखेपछि निगमले बेच्ने निर्णय लिएको थियो । निगमका अनुसार २०७२ सालको चैतदेखि यो विमान ग्राउण्डेड भएर बसेको छ ।

बी ७५७–२०० विमान नेपालमा ९ एन एसियामा दर्ता भएको छ । सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको यो विमानले अहिलेसम्म ८६ हजार ४ सय १० घन्टा उडान भरेको छ ।

वायुसेवा निगमले विमान खरिद गर्न चाहनेका लागि न्यूनतम् रकम तोकिदिएको छ । १.७१ मिलियन अमेरीकी डलर अर्थात् करिब १७ करोड रुपैयाँमाथि प्रस्ताव हाल्नुपर्छ । निगमले सबैभन्दा बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई यो विमान बेच्नेछ ।

कुन–कुन कम्पनीको आयो आवेदन ?

विमान खरिदका लागि अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पाेरेसन र इजरायलको एपिएस एअरपार्ट्स सर्भिसेज एन्ड सप्लाइजले प्रस्ताव हालेका छन् ।

प्रस्ताव हाल्ने नेपाली व्यक्ति तथा कम्पनीहरुमा हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टिबीआइए ग्रुप नेपाल गैह्रीधारा, जनार्दनमान डंगोल सानेपा, बीबी एयरवेज नागपोखरी नक्साल र अनु मानन्धर नयाँ बानेश्वर रहेका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससँग अहिले जहाज थोरै छन् । दुईवटा बोइङमध्ये एउटा लिलामी गरेर बेच्न लागिएको छ भने अर्काे मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा हेभी मर्मतको लागि गएको छ । यसले निगमको उडान नै प्रभावित भएको छ ।

सन् २०१५ को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुईवटा ए ३२० एयरबस थप गरेपछि ४ वटा विमान भए । तर, केही समयपछि बि ७५७–२०० बोइङ भने लिलामका लागि राखियो ।

अहिले निगमले दुईवटा वाइडबडी एयरबस पनि खरिद गर्न लागेको छ । जुन सन् २०१८ को मेसम्ममा ल्याउने निगमको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment