Comments Add Comment

त्यो सानो देश, जसले दुनियाँ बदल्यो


विश्वमा एउटा यस्तो देश पनि छ जसको कुनै न कुनै प्रकारको प्रभाव हामी सबैमा परेको छ ।

दुनियाभर प्रभाव पार्ने यो देश सानो छ । तर यसले मानिसलाई चाहिने धेरै चिजको सिर्जना गरेको छ । यो देशलाई जिनियसको देश पनि भनिन्छ । किनकि यहाँका मानिसहरुले दुनियाँभरका मानिसहरुलाई काम लाग्ने खालका अनेक चिज बनाए ।

यो देशको नाम हो, स्कटल्याण्ड । यो इंगल्याण्डको छिमेकी हो र संयुक्त अधिराज्यको एक हिस्सा ।

स्कटल्याण्डका देन

यदि तपाईंले क्यालेन्डर, इन्साइक्लोपेडिया प्रयोग गर्नुहुन्छ भने तपाईंले अवश्य पनि स्कटल्याण्डका मान्छेको वुद्धिको फाइदा उठाइरहनुभएको छ । तपाईं हामीले प्रयोग गर्ने ट्वाइलेटको फ्लसदेखि रेफ्रिजेरेटर तथा साइकलसम्मका लागि हामीले स्कटल्याण्डका आविष्कारकहरुलाई धन्यवाद दिनै पर्दछ । शल्यक्रियाका बेला प्रयोग गरिने एनेस्थेसिया देखि वाष्प इन्जिनको आविष्कार सम्म स्कटल्याण्डकै मान्छेले गरेका थिए । अर्थशास्त्रका पिता एडम स्मिथ पनि स्कटिस नै हुन् ।

यसरी हेर्दा सिर्जना र आविष्कारका मैदानमा स्कटल्याण्डले यतिधेरै बाजी मारेको छ कि गन्ती गर्नै मुस्किल छ ।

यदि तपाईं कहिल्यै स्कटल्याण्ड जानुभएको छ वा भविष्यमा जानुभयो भने त्यहाँको माहौल, हावापानी तथा रहनसहनले तपाईंलाई यो देश विशेष रहेको महसुस गराउँदछ ।
राजधानी एडिनबरामा प्रवेश गर्ने बित्तिकै नै चर्चित एडिनबरा क्यासल धर्तीको छाती चिरेर निस्केको महल जस्तो लाग्दछ ।

यहाँका गल्ली, लुप्त ज्वालामुखी आर्थर, सहरभर फैलिएका पुस्तक पसलले यहाँको विशेषता झल्काउँछन् ।

ह्यारी पोर्टरकी लेखिका जे के रोलिंगलाई पनि यहीँ आएर सफलता प्राप्त भएको थियो । सन् १९९३ मा स्कटल्याण्डको राजधानी एडिनबरा पुगेकी थिइन्, उनी । त्यतिबेला उनका दुई सन्तान थिए । तर उनी एक्ली थिइन् र आफैंले बच्चाको देखभाल गर्नु पर्दथ्यो ।

एडिनबराको रेष्टुरेन्ट एलिफेन्ट हाउस र निकोलसन क्याफेमा बसेर उनले ह्यारी पोर्टर र त्यसका पात्रहरुको सिर्जना गरिन् । एलिफेन्ट हाउसको बाहिर त एउटा बोर्ड पनि राखिएको छ, ह्यारी पोर्टरको जन्म स्थान ।

ह्यारी पोर्टर पुस्तक श्रृंखला पढेर यदि तपाईं एडिनबरा र आसपासको माहौल हेर्नुभयो भने धेरै कुरा मेल खान्छ ।

जिनियस मानिसमा सबैभन्दा अघि

स्कटल्याण्ड निकै सानो देश हो । तर जिनियस मानिसको सूचीमा सायद सबैभन्दा धरै नाम यहीँ देशका मान्छेको हुनुपर्दछ । यहाँ इयान रेन्किन जस्ता रहस्यमयी लेखक देखि एलेक्जेन्डर मेक्काल स्मिथ जस्ता अब्बल लेखक जन्मिए ।

आखिर स्कटिसहरुको सिर्जनात्मकताको राज के हो ? नाटककार डोनाल्ड क्याम्पबेल भन्छन् कि स्कटल्याण्डले सदैव दुनियाँलाई चक्मा दिइरह्यो ।

यहाँका मानिसहरु पनि निकै अलग पाराका छन् । निकै चिसो मौसममा पनि मान्छेहरु टिसर्ट तथा जाँगेमा दौडिएका भेटिन्छन् ।
यो देशमा गज्जबको विरोधाभाष पनि छ । एकातर्फ एडम स्मिथ छन् । जसले अर्थशास्त्रको खोज गरे । अर्कोतर्फ थोमस कार्लाइल पनि छन् जसले अर्थशास्त्रलाई वाहियात विज्ञान भनेर खिल्ली उडाए । स्कटिसहरु अलिक सनकी हुन्छन् भनिन्छ । उनीहरु ठाउँका ठाउँ निर्णय लिन्छन् तर सोच विचार गरेर ।

स्कटल्याण्डमा चिसो मौसम नै सिर्जनात्मकताको मुख्य कारण भएको मान्नेहरु पनि उत्तिकै छन् । अत्यधिक चिसोका कारण मानिसहरु घरबाट बाहिर निस्किँदैनन् । आखिर घरभित्रै बस्नु परेपछि के गरुन् ? अनेक थरी सोच्दछन् र केही नयाँ खोज्दछन् ।

तर, कतिपय चाहिँ जतिसुकै चिसोमा पनि नदी किनारामा निकै कम कपडा लगाएर टहलिरहेका भेटिन्छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment