Comments Add Comment

पचाल बन्यो नेपालकै अग्लो झरना


१२ साउन, कालिकोट । कालिकोटको पचाल झरना नेपालकै सबैभन्दा अग्लो झरना भएको पुष्टी भएको छ । नेपालको मात्र नभएर यो झरना एसिया कै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ ।

पचाल झरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिइएको हो । त्यसक्रममा पचाल झरना नेपाल कै सबैभन्दा अग्लो भएको पाइएको हो ।

पचालझरनाको वास्तबिक उचाई ३८१ मिटर रहेको पाइएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सेजुवालले बताए ।

जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिक कुलप्रसाद न्यौपाने, र्‍याप थ्री संस्थाका प्राविधिक विश्वास मण्डल र पचालझरना गाउँपालिकाका प्राविधिक टेकबहादुर शाहीको टिमले झरनाको उचाईको नाप लिएको हो ।

२ वटा जिपिएसको सहायताबाट साउन ५ र ६ गते दुई दिन लगाएर नाप लिइएको थियो । ‘हामीले दुई दिन लगाएर यसको नाप लिएका हौं’ अध्यक्ष सेजुवालले भने, ‘२ वटा जिपिएसको सहयोगले तीन जना प्राविधिकले २ दिनमा यसको नाम लिँदा ३८१ मिटर पाइयो ।’

यस अघि नेपालको सबैभन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचाल झरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो ।

वास्तबिक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।

स्थानीय तहको चुनाव अघिका प्रतिबद्धता अनुसार यहाँका जनप्रतिनिधिहरुले पचालझरनाको विकासको लागि कार्यक्रम बनाएर बजेट विनियोजन गरेका छन् । झरनाको प्रचारका लागि आयोजना गरिएको पदयात्रासहित कार्यक्रममा नाप लिइएको अध्यक्ष सेजुवालले जानकारी दिए । गाउँपालिकाको नाम सोही झरनाबाट राखिएकाले पनि झरनाको बारेमा सत्यतथ्य प्राप्तिका लागि साउन ५ गतेदेखि ८ गतेसम्म पदयात्रा कार्यक्रमसहित नाप लिइएको उनको भनाइ छ ।

पर्यटन बोर्डमा सूचिकृत छैन

यो झना अहिलेसम्म नेपाल पर्यटन बोर्डमा समेत सूचिकृत भएको छैन । अब झरनाको वास्तविक उचाई समेत पत्ता लागेकाले यसलाई नेपाल पर्यटन बोर्डमा सूचिकृत गराउनका लागि प्रकृया सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।

यसअघि स्थानीयले समिति बनाएर संरक्षणको काम गरेपनि औपचारिक रुपमा सूचिकृत गराउन कुनै पहल नभएको भन्दै उनले अब प्रकृया सुरु गर्ने बताए । अध्यक्ष सेजुवालले भने,’अब हामीले नाप लिइसकेका छौं, प्रकृया पुर्‍याएर सूचिकृत गरी यसको विकासमा लाग्छौं । त्यसका लागि कार्यक्रम र बजेट समेत विनियोजन गरिएको छ ।’

गाउँपालिकाले झरनासम्म पुग्नका लागि बाटो, बसोबासको व्यवस्था मिलाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्षका साथ योजना तथा कार्यक्रम बनाएको छ ।

पचाल झरना, कालिकोट

रतनबहादुर कार्कीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment