Comments Add Comment

दीपकराज गिरीको कुटिल दाउ, नाइलनको साडीमा आफ्नो नाउँ

समाजिक सञ्जालले समायो दीपकराजको नाडीमा

१२ साउन, काठमाडौं । ‘नेपाली सिनेमा हात पर्‍यो, तुरून्तै सेयर गरिदियो, अनि पर्‍यो फन्दामा । यस्तै गर्नाले ४ जना केटा प्रहरीको फन्दामा परेका छन् । कृपया यस्तो काम गरेर लाखौ रूपियाँ जरीवाना पर्न र कानूनको फन्दामा पर्नबाट बचौं …।’

कलाकार दीपकराज गिरीले यो ‘धम्कीपूर्ण उपदेश’ आफ्नो फेसबुक वालमा राखेका थिए, चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी भएको भन्दै । तर, अहिले दीपकराज आफैं ‘पाइरेसी’ काण्डमा मुछिएका छन् ।

गएको चिसो महिनालाई गिरीको ‘पाइरेसी कान्ड’ले जोडतोडले तताइरह्यो । त्यही रापले चार युवा प्रहरीको फन्दामा परे । त्यसमध्ये एकले आत्महत्यामार्फत् आफैंलाई समाप्त गर्नुपर्‍यो, अपमानवोधले ।

गिरीकै भाषामा भन्ने हो भने यसपालि उनी स्वयं ‘फन्दामा परेका’ छन् । छक्का पञ्जा-२ को एउटा गीत ‘चोरी गरेको’ गिरीमाथि आरोप छ । गीत हो, ‘हे दाजु नसमाउ नाडीमा, जान्न म त डिजेलको गाडीमा, हिलो लाग्ला नाइलनको साडीमा ।’

एकातिर गीतले युट्युबमा राम्रै भ्युज पाइरहेको छ, अर्कोतिर ‘नाइलनको साडी’ले समाजिक सञ्जालमा हंगामा मच्याइरहेको छ ।

विवादको मियो

सारंगी वादक श्याम नेपाली, जो अमेरिकामा बस्छन्, उनको भनाइ पत्याउने हो भने यो गीतका ‘असली स्रष्टा’ उनकै हजुरबा हुन् । अर्थात्, कान्छा मगर नेपाली ।

बाजेको काखमा यही गीत सुन्दै हुर्किएको श्याले स्मरण गरेका छन् । श्यामका छोरा एवं कान्छा मगरका पनाति प्रिन्सले यो गीत पुनः गाउने तयारी गरिरहेका थिए । यसका निम्ति म्युजिक अरेन्जर तथा गायक अल्मोडा राना उप्रेतीसँग तालमेल समेत मिलाइएको रहेछ ।

तर, अचानक उक्त गीत अल्मोडाले स्वारंकन गरे । केदार घिमिरे, स्वास्तिमा खड्का लगायतलाई नचाएर गीतको दृश्यांकन गरियो । ‘फिल्म छक्का पञ्जा- २ को गीत’ भन्दै युट्युवमा सार्वजनिक गरियो । र, यहीँबाट दीपकराज गिरी विवादमा तानिए ।

गीतको भिडियोमा यस्तो देखियो, ‘स्वर/संगीत-अल्मोडा राना उप्रेती, शब्द- प्रिन्स र दीपकराज गिरी ।’

हास्य जोडी दिपक-दीपाको फिल्म त्यसै पनि चलेको थियो । उनीहरुकै आगामी फिल्ममा समावेश गीतले चर्चा पाउने नै भयो । चर्चा भयो पनि ।

शब्द तोडेर आफै गीतकार ?

हाँसउठ्दो त के भने, यो गीतका ‘गीतकार’ भनेर दीपकराज गिरीले सगर्व आफ्नो नाम राखेका छन् । जबकि उनैले एक ठाउँमा चुहाएका छन्, ‘यो गीत मैले बच्चैदेखि सुन्दै आएको हो ।’

आफू जन्मनुअघि नै रचना भएको गीतका ‘गीतकार हुने’ सौभाग्य दीपकराज गिरीले कसरी प्राप्त गरे ?

अनलाइनखबरलाई यस्तो जवाफ प्राप्त भयो, ‘त्यो गीतको लय र स्थायी पुरानै हो । तर, बाँकी सबै मैले लेखेको हुँ ।’ उनको तर्कलाई स्वीकार्ने हो भने ‘छक्का पञ्जा’को संवाद परिवर्तन गरेर जो कोहीलाई त्यसका निर्माता/निर्देशक बन्ने ढोका खुल्ला छ ।

‘अबको १० वर्षपछि कसैले छक्कापञ्जा नाम राखेर फिल्म बनायो भने त्यसमा मेरो केही आपत्ति हुने छैन’ गिरी यसै भन्छन् । उनी के पनि थप्छन् भने, ‘पुरानो भइसकेको, हराइसकेको गीतलाई जब मैले नयाँ ढंगले उठान गरें, त्यो त राम्रो कुरा हो नि । हराइसकेको एउटा गीत फेरि नयाँ पुस्ताले गुनगुनाउन पायो ।’

गिरीको तर्कलाई मान्ने हो भने, लोप भइसकेको गीतलाई उनले ब्युँत्याए । पुनर्जीवन दिए । लोकगीतलाई पहिलेकै अवस्थामा राखिएको भए अहिले त्यो सुन्न लायक हुने थिएन । त्यसैले त्यस गीतलाई अहिलेको समय-सन्दर्भसँग मिल्दो गरिएको हो । ‘कलरफुल’ बनाइएको हो ।

छक्कापन्जा २ मा रहेको गीत

तर, कसैले सिर्जना गरेको गीतलाई अरु कसैले तोडेर/मोडेर यसरी आफ्नो बनाउन पाउँछ त ?

यसको जवाफमा गिरी यसरी पन्छिए, ‘मैले पहिलोपटक त्यस्तो गरेको होइन । यो गीत अर्कैले एल्बममै राखिसकेका छन् । यसलाई कुमार बस्नेतले गाए, विधान श्रेष्ठ, चेतन कार्कीले गाए । के दीपराज गिरीले गाउन नहुने ?’

असली स्रष्टा खोजिँदैछ

जब अनलाइनखबरले गिरीसँग यस विवादबारे बुझ्न खोज्यो, उनले अलि आक्रमक ढंगले भने, ‘अब योबारेमा अमेरिकाबाट मुख खोलेछ । यसबारेमा खास सिर्जनाबारे खोजी गर्न विज्ञ लागिपरेका छन् ।’

गिरीको आशय के थियो भने, जसले आरोप लगाए, उनीहरुको निजी गीत थिएन यो । लोकगीत कसैको रचना वा निजी नहुने गिरीको बुझाई छ । यो पुस्तौंपुस्तादेखि मुख-मुखमा झुन्डिएर आउने हो । गिरीले सोझै भने, ‘उहाँ -कान्छा मगर नेपाली) ले पनि यसलाई तोडेर गाएका छन्, खासमा यो गीतको शब्द अर्कै थियो ।’

गिरीले असली गीत दुई लाइन सुनाए-
‘हे कान्छा नसमाउ नाडीमा,
जान्न म त खुर्सानी बारीमा ।’

खुर्सानी बारीको ठाउँमा ‘डिजेल गाडी’ ल्याउने तिनै नेपाली हुन् । उनले पनि असली गीतको शब्द मोडेर आफ्नो बनाएका हुन् ।
गिरीको भनाइको सारयही थियो- ‘डिजेलको गाडीमा भन्ने ओरिजिनल गीत नै होइन’ गिरीले जिकिर गरे, ‘यो तोडिएको हो ।’

अल्मोडामाथि चोर औंला

अल्मोडा राना उप्रेती, जसले यसअघि ‘संगीत चोरी’को आरोप खेपेका थिए । ‘पानी पर्‍यो, असीना झर्‍यो’ गीतको लय र शब्द उनको आफ्नो गर्भबाट जन्मिएको होइन भन्ने आरोपसँगै गीतलाई युट्युवबाट समेत हटाइयो ।

उनै अल्मोडाले यसपालि आफुलाई ‘थाङ्नामा सुताएको’ गिरीको अर्को स्पष्टीकरण छ । उनले फेसबुकमा समेत अल्मोडाले गीत तयारीबारे सत्यतथ्य आफूलाई नबताएर धोका दिएको उल्लेख गरेका छन् । ‘अल्मोडाले वास्तविक सर्जकलाई मेरो सामु नल्याएको तथ्य थाहा भयो’ गिरीले भनेका छन् ।

तर, गिरीले ‘बच्चैदेखि सुन्दै आएको गीत’मा अल्मोडाले कहाँनिर झुक्याउने ठाउँ छ ?

गल्ती अल्मोडाको पनि हुनसक्छ । नेपालीका पनाति पि्रन्स र गिरीबीच ‘ग्याप’ राखेर गीतको क्रेडिट आफूले लिने मनासय हो कि ? संशय गर्ने ठाउँ छ । गिरीको भनाइअनुसार पि्रन्ससँग अल्मोडाको जे सरसल्लाह भएको थियो, त्यसबारे गिरीलाई पटक्कै थाहा दिइएन । र, गिरीसँग भएको सरसल्लाह पनि पि्रन्ससँग लुकाइयो । यसरी वास्तवमै ‘छक्का पञ्जा’ दाउ अल्मोडाले पनि हानेका छन् ।

गिरीका दोधारे कुरा

‘अल्मोडाले यसका सर्जकलाई मेरा सामु नल्याएको तथ्य थाहा भयो’ फेसबुकमा यसै भनेका छन्, गिरीले । यद्यपि अनलाइनखबरले गिरीलाई सोधेको थियो, ‘गीतकारमा पि्रन्सको पनि नाम समावेश छ, के उनीहरुसँग सल्लाह भएको थियो ?’
उनले ‘सल्लाह भएको’ आशय व्यक्त गरे । भने, ‘उसकै छोराले उसकै सहमतिमा गीत तयार भएको हो, अल्मोडासँग सहमति भएको थियो ।’

त्यस्तै, गिरीले असली सर्जकलाई क्रेडिट नदिनु आफ्नो भूल भएको बताएका छन् । र, पछि क्रेडिट दिइएको पनि उल्लेख गरेका छन् । तर, गिरी आफैं यसो पनि भन्छन्, ‘लोकगीत संकलन गरिन्छ । उहाँ -कान्छा मगर) भन्दा पनि अरु नै कोही यसको संकलक हुन सक्छ ।’

‘सर्जक परिवार’ को कुरा

यसका वस्ताविक सर्जक भनिएका कान्छा मगरका नाति श्याम नेपालीले गीत तोडिएकोमा क्षतिपूर्ति तिराउन नखोजेको स्पष्ट पारिसकेका छन् । उनले के मात्र भनेका छन् भने, ‘हाम्रो पुस्ताको सिर्जनालाई तोड्दा त्यसको असली भाव र मर्म मर्छ, यसो गर्नु भएन । गीतलाई नतोडी पुनः त्यसलाई गाएर फिल्ममा राखे हुन्छ ।’

तर, यसमा फिल्म निर्माण पक्ष राजी छैनन् । उनीहरुको भनाई छ, ‘यत्तिका खर्च गरेर बनाइएको गीत, भिडियो फेरि अर्को गर्दा हाम्रो लागत बढ्छ ।’

आफ्नो लागत बढ्छ भन्दैमा अर्काको सिर्जनामाथि खेलबाड गर्न पाउनुपर्ने निर्माण पक्षको ढीपी उदेकलाग्दो छ । यदि अहिले उनीहरुले गर्ने तर्क सही हुँदो हो त, अघिल्लो वर्ष फिल्म पाइरेसी गर्ने युवाहरुले पनि मानसिक, आर्थिक खर्च गरेकै थिए । उनीहरुलाई आफ्नो लागत किन उठाउन दिइएन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शिव मुखिया

ट्रेन्डिङ

Advertisment