Comments Add Comment

फिजेट स्पिनरको बढ्दो लोकप्रियता, लत नबसाल्न मनोचिकित्सकको सुझाव

१२ साउन, काठमाडौं । औंलामा राखेर फननन घुमाइने एउटा सानो खेलौनाले अहिले विश्वमै ठूलो लोकप्रियता कमाइरहेको छ । नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थालेको यो खेलौनाको नाम हो, फिजेट स्पिनर ।

तनाव कम गर्न र एकाग्रता बढाउन सहयोग गर्ने विश्वासले गर्दा यसका प्रयोगकर्ताहरु बढेका हुन् । बच्चाहरुका लागि भने यो मनोरञ्जनको बस्तु पनि बनेको छ ।

प्लाष्टिक तथा मेटलयुक्त यस्ता स्पिनर बजारमा विभिन्न रङ्ग तथा डिजाइनमा किन्न पाइन्छ । नेपाली बजारमा यस्ता स्पिनरको मूल्य न्युनतम एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पर्नेगर्छ । विदेशमा भने लाखौं रुपैयाँसम्मका स्पिनर पाइन्छन् ।

कसरी खेलिन्छ फिजेट स्पिनर ?

गोलाकार स्पिनरको बीचमा एउटा रिङ्ग हुन्छ । साइडमा तीनवटा प्वाल हुन्छन् । सोही तीन प्वालमध्ये एउटामा औंला राखेर यसलाई घुमाइन्छ । त्यसरी घुमाउँदा स्पिनर नझरोस् भन्नका लागि अर्को एउटा औंला (बुढी औंला)ले सहारा दिइन्छ । यस खेलको विशेषता यति मात्रै हो । यसकै लागि अहिले बालबालिका मरिहत्ते गरिरहेका छन् ।

लत नबसाल्न सुझाव

बजारमा यसलाई एकाग्रता बढाउने र तनाव हटाउने सामग्रीका रुपमा प्रचार गरिँदै आएको छ । मनोचिकित्सकहरुले भने यो खेलौनामा लत बस्यो भने हानिकारक हुनसक्ने चेतावनी दिएका छन् ।

कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. अरुण कुवँरका अनुसार स्पिनर फिजेटको प्रभावकारीतालाई आजसम्म चिकित्सकीय विज्ञानले पुष्टि गरेको छैन ।

‘अधिकांश बच्चाहरुमा एकाग्रता नहुने समस्या बढी हुन्छ । तिनीहरुमा एकाग्रता कायम गर्न यस्ता खेलहरु उपयोगी हुनु स्वभाविक हो । तर यही कुरा लत बन्न गयो भने बच्चाहरुमा समस्या पनि निम्त्याउन सक्छ,’ डा. कुवँरले भने ।

डा. कुवँरका फिजेट स्पिनरले पनि बालबालिकालाई केही समयको लागि रमाइलो महसुस गराउनुका साथै उनीहरुलाई पढाईलेखाईको तनावबाट मुक्ति दिलाउँछ । तर त्यसो भन्दैमा यसैको पछि लाग्नु गलत हुने उनको ठहर छ ।

‘यदि कुनै बच्चा चकचके छ, एकै ठाउँमा बस्दैन र कुनै पनि कुरा ग्रहण गर्न समस्या हुन्छ भने उसलाई यसले एकाग्र हुन मद्दत गर्न सक्छ’, त्रि.वि शिक्षण अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोजराज ओझाले भने । तर, त्यसो भन्दैमा यसैमा लत बसाउन नहुनेमा उनले पनि जोड दिए ।

फिजेट स्पिनरलाई अटिज्म अर्थात आफैमा हराउने विमारी वा एडीएचडी अर्थात एटन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डरसित जोड्न पनि खासै उपयुक्त नहुने ओझाले बताए । उनले भने, ‘यसले बच्चालाई खुशी त देखाउला तर एडिएचडी कम गर्न भने कुनै भूमिका खेल्दैन ।’

कसरी भयो फिजेट स्पिनरको आविष्कार ?

द गार्जियन, द न्युयोर्क टाइम्स लगायतका विश्वचर्चित पत्रिकाहरुलाई आधार मान्ने हो भने फिजेट स्पिनरको असली आविष्कारक केमिकल्स इञ्जिनियर कैथरिन हेटिंगर हुन् । यद्यपि, उनीसित यसको पेटेन्ट नभएकाले उनलाई आधिकारिक मानिदैन ।

हेटिंगरले सन् १९९३ मै यस गेमको पेटेन्टको लागि निवेदन दिएकी थिइन् । त्यतिबेला उनलाई पेटेन्ट पनि मिलेको थियो । तर सन् २००५ सम्म पनि उनले यस गेम उत्पादनको लागि व्यापारिक सहयोगी नपाएपछि यो पेटेन्ट खारेज भएको थियो ।

हेटिंगरले एक अन्तरवार्तामा बताएअनुसार जब उनी इजरायल गएको बेला बच्चाहरुले पुलिसलाई ढुङ्गा हानेर मनोरञ्जन लिइरहेको देखिन् । त्यतिबेला नै उनमा बालबालिकाको हातमा ढुङ्गाको सट्टा अरु नै बस्तु दिनुपर्ने सोच पलाएको थियो । त्यसैले उनले स्पिनर फिजेटको आविष्कार गरिन् । यस अर्थमा खेल बच्चाहरुको मनोरञ्जनका लागि विकास गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment