Comments Add Comment

एन्फा बिवादः केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

१२ साउन, काठमाडौं । थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

एन्फाको बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले एएफसी एशिया कपको दोस्रो चरणको खेल खेल्न नपाएबापत थ्रीस्टारलाई १ करोड ५० लाख क्षतिपूर्ति र ३ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने व्यवस्था मिलाउनुपहिले घटनाका दोषीहरुलाई कारबाहीको माग गरेका थिए ।

क्षतिपूर्ति अनुमोदनबारे छलफल सुरु भएपछि बैठकमा केन्द्रीय सदस्यहरुबीच चर्काचर्की नै परेको बैठकमा सहभागी एक सदस्यले अनलाइनखवरलाई जानकारी दिए ।

बैठकमा सदस्यहरु पंकजबिक्रम नेम्वाङ, वीरबहादुर खड्का, बसन्त अर्याल, रत्न श्रेष्ठ लगायतले थ्रीस्टारलाई क्षतिपूर्ति दिनुपूर्व घटनाका दोषीलाई कारबाहीको माग गरेका थिए । तर एन्फा नेतृत्व त्यसमा सहमत नभएपछि बुधबारको बैठक बिहीबारका लागि सारिएको थियो ।

बिहीबार अपराहृन बैठक हुने भनिएपनि महासचिव धिरेन्द्र प्रधानले मध्याहृन बिज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

एन्फाका केन्द्रीय सदस्य रमेश रायमाझीले थ्रीस्टारलाई क्षतिपूर्ति दिने र दोषीमाथि कारबाही गर्ने बिषयमा कसैको दुईमत नभएको भन्दै छिट्टै बस्ने बैठकमा सबै समस्याको समाधान हुने जानकारी दिए ।

थ्रीस्टार क्लव अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बञ्चित हुनुपर्नाको घटनाबारे छानविन गर्न एन्फाले केन्द्रीय सदस्य वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिले एन्फाका कर्मचारी गोकुल थापालाई मूख्य जिम्मेबार तथा अर्का कर्मचारी बसन्त रिजाल त्यस्तै अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव धिरेन्द्र प्रधान पनि गैरजिम्मेबार भएकोमा सचचेत गराउनुपर्ने व्यहोराको प्रतिवेदन पेश गरेको थियो ।

बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले त्यही प्रतिबेदनको आधारमा दोषीलाई कारबाही गर्ने र आसन्न साधारसभाबाट थ्रीस्टारलाई दिने क्षतिपूर्ति अनुमोदन गराउनुपर्ने माग गरेका थिए ।

एन्फाको बैठकमा थ्रीस्टारलाई क्षतिपूर्ति लगायत लामो समयदेखि रोकिएको लिग आयोजना गर्ने, महिला फुठबल, फुटसल प्रतियोगिता आयोजना गर्ने तथा भौतिक पूर्वाधारको अभाव जस्ता बिषय मूख्य एजेण्डामा थिए । अन्य सबै विषयमा सौहार्दपूर्ण छलफल भएको बैठकमा सहभागीले जनाएका छन् ।

विज्ञप्ति पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment