Comments Add Comment

बजार नपसिकन सेयरबाट ५ वर्षमा ४ गुणा कमाई


१२ साउन, काठमाडौं । आजभोली सेयर बजारमा लगानी गर्नेहरुको संख्या बढेसँगै सहर–बजारका चोक चोकमा सेयरका गफहरु हुन थालेका छन् । महिना वा वर्ष दिनमै लगानीको दोब्बर/तेब्बर प्रतिफल प्राप्त हुने क्षेत्रका रुपमा सेयर बजारलाई लिन थालिएको छ ।

कतिपय व्यक्तिहरु भने आवश्यक ज्ञानको अभावमा चाहेर पनि सेयरमा लगानी गर्न आँट गर्दैनन् । सेयरबाट पैसा कमाउन चाहने तर बजारमा प्रत्यक्ष होमिने आँट नभएका लगानीकर्ताहरुका लागि उपयुक्त विकल्प हो, सामुहिक लगानी कोष । यस्ता कोषमा लगानी गर्दा पनि ५ वर्षमा प्रतिफल लगभग चौबर भएको उदाहरण देखिएको छ ।

नेपालमा सबैभन्दा पहिलो व्यवसायिक सामूहिक लगानी कोष हो, सिद्धार्थ क्यापिटलले ल्याएको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम’ । आगामी पुस ९ गते यो परिपक्व हुदैछ अर्थात् योजना समाप्त हुँदैछ । त्यतिबेलासम्म यो योजनामा सुरुमा १० हजार रुपैयाँ हालेको लगानीकर्ताले करिब ३६ हजार कमाइ गर्ने देखिएको छ ।
५ वर्ष परिपक्व अवधि रहेको यो योजनाले पहिलो आर्थिक वर्ष (योजना सञ्चालनमा आएको ६ महिना) मा ४.५ प्रतिशतका दरले, दोस्रो र तेस्रो दुवै वर्ष १५ प्रतिशतका दरले र चौथो वर्ष ३० प्रतिशतका दरले नगद लाभांश दिएको छ । १० हजार हाल्नेले यो अवधिसम्म ६ हजार ४ सय ५० रुपैयाँ कमाइसकेका छन् ।
गत आवको नाफापछि यो योजनाले यस वर्ष लगभग ३० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा रहेको बुझिएको छ । यसो भएमा लगानीकर्ताले कुल ९ हजार ४ सय ५० रुपैयाँ प्रतिफल प्राप्त गर्नेछन् ।हाल बजारमा यसको प्रतिइकाई २४ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

१० हजार लगानी गर्नेले यसपाली लाभांश नखाई अहिल्यै यो इकाइ बिक्री गर्न चाहेमा पनि बजारबाट मात्रै लगभग २४ हजार ९ सय (कर सहित) कमाउने छ ।यसअघि पाइसकेको लाभांश समेत हिसाब गर्ने हो भने सुरुमा १० हजार हाल्नेले तीन गुणा (कुल ३१ हजार ३ सय ५०) रुपैयाँ कमाउनेछ ।
हाल यो योजनाको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य भने २७ रुपैयाँ रहेको छ । यो भनेको दायित्व कटाएर बाँकी रहने सबै सम्पत्ति बिक्री गर्दा यो योजनाको एक इकाइको मूल्य यति बराबर हो ।
यो दर आगामी पुससम्म रहन्छ नै भन्न सकिदैन । किनभने योजनाको लगानीको राम्रै हिस्सा सेयर बजारमा र निक्षेपमा रहेको छ । सेयर बजार र निक्षेपको व्याज दर घट्न थालेमा भने यसको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य पनि केही घट्ने सम्भावना रहन्छ ।
तर, हालकै प्रतिइकाइ खुद सम्पत्ती मूल्य २७ लाई आधार मानेर हेर्ने हो भने परिपक्व अवधिसम्म कुर्नेले सबै लाभांशसहित कुल ३६ हजार ४ सय ५० कमाउनेछ ।
के हो सामुहिक लगानी कोष ?
सामुहिक लगानी कोष भनेको व्यक्तिगत र संस्थागत रुपमा छरिएका लगानीहरुलाई एकीकृत गरेर बनाइने कोष हो । यसको निश्चित लगानी उद्देश्य रहेको हुन्छ । नेपालमा यस्तो कोष बैंकको कम्तिमा १५ प्रतिशत लगानी रहने गरी बनाइएको हुन्छ । हाल बैंकका सहायक कम्पनीहरुले यस्तो कोषको सञ्चालन गर्छन् भने छुट्टै कोष व्यवस्थापकहरु नियुक्त गरिएको हुन्छ ।
सामूहिक लगानी कोषमा १ हजार रुपैयाँ मात्र लगानी गर्न चाहनेले पनि सहभागिता जनाउन सक्छ । यसमा लगानी गरेपछि जम्मा हुने रकम सञ्चालक कम्पनीहरुले नियुक्त गरेका कोष व्यवस्थापकहरुले गरिदिन्छन् ।
कोष व्यवस्थापकहरुले नै कोषको रकम लगानी सम्बन्धि रणनीतिहरु बनाएका हुन्छन् । यस्ता व्यवस्थापकमा को–को रहेका छन् भन्ने कुरा योजनाको इकाइ निष्कासनको क्रममा आव्हानपत्रमा समेत उल्लेख गरिएको हुन्छ ।
कोष सञ्चालकहरुले यो संकलित पुँजीलाई कोषको रुपमा राख्छन् र त्यसलाई इकाइ जारी गर्नुअघि तोकिएका क्षेत्रमा लगानी गर्छन् । धेरैजसो सामूहिक लगानी कोषको अधिक हिस्सा सेयर बजारमा हुने गरेको छ ।
लगानीबाट आउने प्रतिफल इकाइ धनीहरुलाई कोष सञ्चालकले बार्षिक रुपमा वितरण गरिदिन्छन् । तर, प्रतिफल भने लगानीमा भर पर्छ । कोषको रकम लगानी गरेका क्षेत्रमा प्रतिफल नआए लगानी नबाँड्ने सम्भावना पनि रहन्छ । नोक्सान भएमा प्रतिफल बाँड्नै पर्छ भन्ने हुदैन । यो नाफा वा घाटामा भर पर्छ ।
परिपक्व अवधि अन्त्यपछि भने योजना सञ्चालकले प्रतिइकाइ खुद सम्पत्तीको आधारमा नै वितरण गरिदिन्छ । त्यसैले योजनाले कत्तिको कमाएको छ/छैन हेर्ने गर्नुपर्छ । यस्ता कोष सञ्चालकहरुले हरेक महिना कोषको वित्तीय विवरण पनि प्रकाशित गर्छन् ।

कोष सञ्चालन लागत, कोषले कुन क्षेत्रमा कति लगानी गरेको छ, नाफा घाटा के भइरहेको छ, प्रतिइकाइ सम्पत्तीको मूल्य घटबढ के छ हेर्न सकिन्छ ।
कोषमा लगानी नगरेकाहरुले पनि आफुले व्यक्तिगत लगानी गर्नको लागि कोषको वित्तीय विवरण हेर्ने गर्छन् । यस्ता कोषले केमा लगानी बढाइरहेका छन् वा घटाइरहेका छन् भन्ने कुरालाई आधार मानेर पनि व्यक्तिगत लगानीकर्ताले आफ्नो लगानी रणनीति बनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment