Comments Add Comment

सांसदको प्रश्न-सभामुख महोदय ! केही सांसदको मात्र अनुहार टिभीमा देखाउनु विभेद होइन ?

मोइबाल एप्स चलाउन सांसदहरुलाई तालिम चाहियो


१२ साउन, काठमाडौं । सभामुख ज्यू, यहाँ (संसदमा) क्यामेरा घुमाउने र सांसदको अनुहार देखाउने कुरामा समेत विभेद छ ! सांसद हेरेर टीभीमा अनुहार देखाइन्छ । खास खास माननीयको मात्र अनुहार देखाउनु सांसदमाथिको विभेद होइन ?

एमाले सांसद नरदेवी पुनले संसद भवनको ल्होत्से हलमा उभिएर यसो भनिरहँदा सभामुख ओनसरी घर्ती मञ्चमा बसेर सुनिरहेकी थिइन् । यद्यपि यो संसद बैठक भने थिएन । ड्यासमा प्रमुख दलका सचेतक र संसदका महासचिव पनि थिए ।

बिहीबार संसद सचिवालयले मोबाइल एप्स र नयाँ वेबसाइट उद्घाटनपछि सांसदहरुलाई यो प्रविधिबिारे आफ्ना जिज्ञासा राख्न समय दिएको थियो । यहि समयको उपयोग गर्दै सांसद पुनले सचिवालयको श्रव्यदृष्य युनिटबाट भएको विभेदको पोल खोलिन् ।

सांसद पुनले आफू गाउँ जाँदाको दुःख पनि सुनाइन् । टीभीमा खासखास सांसदलाई मात्र अनुहार देखाउने र अरुले बोलेको कुरा नदेखाउने गर्दा आफूहरु जनताको नजरमा नालायक हुनुपरेको उनको दुःखेसो रहेछ ।

पुनले भनिन्-खासखास सांसदलाई मात्र टीभीमा देखाइने गरेको छ । हामी जाँदा जनताले तपाईलाई त टिभीमा पनि देखिएन, केही बोल्नु भएन भनेर गुनासो गरे । सबैलाई व्यवहार समान होस् ।’

हुन त यो गुनासो नरदेवी पुनको मात्र होइन । केही सांसदले यसअघि संसदको बैठकमै पनि टीभीमा देखाउने सन्दर्भमा बिभेद भएको गुनासो गरेका थिए । नेता हेेरेर, नजिकका व्यक्ति हेरेर अनुहार देखाउने र संसदमा बोलेका कुरा देखाउने गरेको उनीहरुको गुनासो छ ।

आफ्नो सुझाव राख्ने क्रममा नेकपा मालेका सांसद अइन्द्रविक्रम नेम्वाङले नरदेवी पुनको गुनासोको समाधान सुनाए । उनले भने, ‘संसदको एप्स र वेबसाइटमा व्यक्तिगत रुपमा कुन सांसदले के बोले भनेर भिडियो सहित प्रोफाइल राखिदेओस् ।’

संसद सचिवालयको श्रब्य दृष्य जिम्मा लिएको एजेन्सीले संसदभित्रका गतिबिधिहरुको भिडियो खिच्ने गरेको छ ।सोही भिडियो टेलिभिजनहरुले लिएर प्रसारण गर्छन् । अब संसदको सबै गतिविधिको भिडियो पनि वेभसाइटमा राखिने भएको छ ।

सांसदले भने-एप्स चलाउने तालिम चाहियो

माओवादी सांसद तथा पूर्वमन्त्री हितराज पाण्डेले संसद सचिवालयले वेबसाइट र मोबाइल एप्स बनाए पनि धेरै सांसद त्यो प्रबिधि चलाउन सक्षम नरहेको बताए । उनले भने, ‘एप्स बन्यो तर धेरैले चलाउन जानेको छैन । त्यसैले अब सूचना प्रबिधि सम्बन्धी तालिम पनि आयोजना गर्नुपर्‍यो ।’

राजपाका संसद इकवाल अहमद शाहको पनि यस्तै समस्या रहेछ । उनले एप्स उद्घाटन समारोहमै भने, लाज मान्ने कुरा छैन, हामी धेरैलाई यस्तो कुरा आउँदैन । सबै शिक्षित पनि छैनन् । त्यसैले एप्स चलाउने र वेबसाइटबाट सबै कुरा थाहा पाउनका लागि सचिवालयले तालिमको पनि व्यवस्था गरोस् ।’

राष्ट्रिय जनमोर्चाकी मीना पुनले पनि सांसदहरुलाई प्रविधिमैत्री बनाउन तालिम आवश्यक रहेको बताइन् । संसद सचिवालयका सूचना प्रबिधि शाखाका रोजनाथ पाण्डेले सांसदहरुलाई एप्स चलाउने तरिकाबारे कक्षा सञ्चालन गर्न सकिने बताए ।

संसद सचिवायलले आफ्नो वेबसाइट र एप्स समेत दातृ निकाय युएनडीपीको सहयोगमा बनाएको छ । सम्भवतः सांसदहरुलाई तालिम दिन पनि सचिवालयले फेरि युएनडीपी वा अन्य आइएनजीओको सहयोग लिने होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment