Comments Add Comment

पोर्चुगल लैजाने भन्दै इराक पुर्‍याए, ४ दिन थुनिएर फर्किँदा अफ्रिकाको लोभमा फसाए

जयप्रकाश बुढा मगर

१२ साउन, काठमाडौं । नेपालगञ्ज-१८ का उपेन्द्र साह झण्डै चार वर्ष मलेसियामा श्रम गरेर फर्किए । तर, त्यहाँको कमाईले ऋण तिर्दा बचत भएन र, सोचे, फेरि विदेश जान्छु ।

तर, उनी नराम्ररी ठगको फन्दामा परेका छन् र, पोर्चुगल हिँडेका उनी अनेक हण्डर खाँदै साढे दुई महिनापछि इराक पुगे । त्यहाँ चार दिन थुनिएर नेपाल फर्किएका उनी त्यही ठगको फन्दामा पर्छन् र दक्षिण अफ्रिका जाने नाममा फेरि गठिन्छन् ।

यसरी ठगिए उपेन्द्र

उपेन्द्र २०७३ असारमा विदेश जान भन्दै म्यानपावर कार्यालय पुग्दा एक जनाले उनलाई राम्रो रोजगारीका लागि युरोप लैजाने साथी छ भन्दै गामा ट्राभल एण्ड टुर्स देखाए । उपेन्द्र पनि राम्रो कमाई हुने लोभमा फसे । टोखास्थित गामा ट्राभल्स एण्ड टुर्स पुगेर सञ्चालक रोल्पा सुनछहारी गाउँपालिका–२ का प्रकाश बुढामगरले मासिक ८०० देखि १ हजार युरोसम्म तलब पाउने गरी कृषि फर्ममा काम गर्न पोर्चुगल पठाउन सक्ने तर, १२ लाख रूपैयाँ लाग्ने बताए ।

उपेन्द्र १२ लाख तिर्न तयार भए । ५० हजारसँगै पासपोर्ट बुझाए । भदौमा काम भयो भन्दै खबर गरे । बैंकबाट ऋण निकालेर उपेन्द्र पनि उनलाई भेट्न काठमाडौं आइपुगे ।

भदौ २४ मा उनले नेपाल छाडे । तर, उनलाई नेपालबाट सिधै युरोपतिर लगिएन । एक महिनाको भिजिट भिसा थमाएर दुवई पठाइयो । सुरुमा भाइसँग बसे तर, एक महिनामा उनी उड्न सकेनन् । ओमान गएर फर्किए र अर्को एक महिना भिसा थपे ।

भाइलाई अप्ठेरो परेपछि उनले बंगालीहरुसँग साथी बनेर बसे । तर, फेरि पनि पोर्चुगल जाने कुनै सुरसार छैन । ‘ओभर स्टे’ भइसकेपछि जयप्रकाशको खबर आयो, ‘इराक हुँदै जानुपर्ने भयो ।’ उपेन्द्र तयार भए । आफैंले इराकको टिकट काटे ।

पोर्चुगल जाने र युरो कमाउने योजनाका साथ इराक हानिएका उपेन्द्र विमानस्थलमा ओर्लिनासाथ इराकी इमिग्रेसनमा समातिए । उनले भने, ‘भिसा फेक छ भनेर मलाई हिरासतमा लियो । चार दिनपछि म गएकै विमानमा राखेर फिर्ता पठाइयो ।’

नेपाल आएपछि उनी गामा म्यानपावर पुगे । तर, ठगी धन्दामा माहिर जयप्रकाशले उनलाई फकाइहाले । उनले अब दक्षिण अफ्रिका पठाउँछु ५ वर्षको वर्किङ भिसा लाग्छ भने । उपेन्द्रले सर्त राखे, मेरो १३ लाख खर्च भइसक्यो, मसँगै मेरो भाइलाई पनि पठाउनुपर्छ ।

आफ्नो बदमासी सार्वजनिक हुने डरले जयप्रकाश तयार भए । उनले उपेन्द्रलाई विश्वास दिलाउन आफ्नै गाउँका भाइहरुको भिसा लागेको पासपोर्ट पनि देखाए । त्यो देखेपछि दक्षिण अफ्रिका जाने सपना बुन्दै उपेन्द्रले आफूसँगै भाइको पासपोर्ट बुझाए ।

केही दिनपछि जयप्रकाशले सुरुमै वर्किङ भिसा नहुने भयो । भिजिट भिसामा जानुस्, त्यहाँ पुगेको दुई सातामा ५ वर्षको वर्किङ भिसा हुन्छ भने । उपेन्द्रले ठीकै छ भने ।

तर, चार महिना वित्यो, अफ्रिका पठाइएन । अब जयप्रकाशले दक्षिण अफ्रिकाको साटो मोजाम्बिक जान प्रस्ताव गरेपछि उनलाई शंका लाग्यो म फेरि ठगिएँ । ‘नेटमा हरेँ, त्यो त गरिब देश जस्तो लाग्थ्यो र मैले नजाने निधो गरेँ,’ उपेन्द्रले भने ।

एक वर्ष जयप्रकाशको जालमा परेका उनले असार १५ गते महानगगरीय अपराध महाशाखा गएर उजुरी दिए । महाशाखाले बुधबार गामा ट्राभलका सञ्चालक ३२ वर्षका जयप्रकाश बुढा मगरलाई पक्राउ गरेको छ र ठगी मुद्दामा कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

प्रहरीका अनुसार पछिल्लो दिनमा विदेश पठाउँछु भनेर ठगी गर्नेहरुको संख्या बढ्दो छ । महाशाखाका इन्स्पेक्टर वीरेन्द्र राज गुरुङ भन्छन्, ‘भिजिट भिसामा पठाउने र ठगी गर्नेहरु छन् । कोही वैदेशिक रोजगारीमा जानै हुनुहुन्छ भने वर्किङ भिसा छ कि छैन ? श्रम स्वीकृति छ कि छैन हेरेर मात्र जानुस् । र, विदेश जाँदा एजेन्ट वा ट्राभल एजेन्सी होइन, म्यानपावर कम्पनीहरुमार्फत नै जानुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment