Comments Add Comment

वीर अस्पतालमा कड्किए स्वास्थ्यमन्त्रीः यो जागिर खान आउने ठाउँ होइन

१२ साउन, काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ लगायतका कर्मचारीलाई वीर अस्पतालको सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ मागेका छन् । उनले काम गर्न नसक्ने भए नयाँ नेतृत्वका लागि स्थान खाली गरिदिन पनि भने ।

‘तपाईंहरु धेरै पुराना साथीहरु हुनुहुन्छ । उमेर ढल्दै गएका अनुभवी पाका मान्छेहरुले धेरै कुरा गर्न सक्नुहुन्न भने तपाईहरुले सहजताका साथ नयाँ नेतृत्व ल्याउने गरी सोच्नैपर्छ । नेतृत्व वीरको माग पनि हो,’ वीर अस्पतालको १२८ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उनले भने ।

उनले वीरका उपकुलपतिदेखि तल्लो कर्मचारीसम्मलाई अत्याधुनिक मेसिन नचलेकोबारे समिक्षा गर्न निर्देशन दिए ।

आफू विगतमा स्वास्थ्यमन्त्री छँदै मिर्गौलाको बिरामीले वीरमा डायलासिस सेवा नपाएकै कारण ज्यान गुमाउनु परेको प्रसंग जोड्दै मन्त्री पोखरेलले भने, ‘मेसिन थाक्दैन । मेसिनलाई आराम चाहिँदैन । तैपनि अस्पताल किन चलिरहेको छैन ?’

उनले यसबारे अस्पतालका उपकुलपतिदेखि चौकीदारसम्मलाई यस्ता उपकरण बनाउन सकिन्छ कि सकिँदैन भनेर समिक्षा गर्न निर्देशन दिए ।

वीरमा नयाँ नेतृत्व आवश्यक

सोही अवसरमा मन्त्री पोखरेलले वीर अस्पतालमा नेतृत्व आवश्यक रहेको बताए । स्वास्थ्यमन्त्री पोखरेलले मुलुककै जेठो वीर अस्पतालमा क्षमतावृद्धि, नेतृत्वकर्ता तथा कार्यक्षमता नै प्रमुख समस्या भएकाले यसको नेतृत्व लिएकाहरुले अब सोच्नुपर्ने बेला आएको बताए ।

उनलेे सामान्य गतिविधिले वीर अस्पतालको सुधार सम्भव नहुने बताउदै वीरमा व्यापक सुधारको खाँचो औंल्याए । उनले भने, ‘वीरमा सुधार जरुरी छ । सुधारको दिशा ठीक हुनुपर्छ र तागत पनि त्यही ढंगले लगाउनुपर्छ । वीर अस्पतालले अहिलेको नेतृत्वसित यसको माग गरेको छ ।’

उनले वीर अस्पताल जागिर खान आउने ठाउँ नभएकाले चुनौती नबेहोर्ने हो भने नेतृत्व तहमा बस्न नहुने बताए । साथै यो चुनौतीसित मेल खान सबैलाई निर्देशन दिए । ‘एउटा सानो उपचारका लागि आएका विरामीलाई अर्कै अस्पतालमा पठाएर नेतृत्व हुँदैन । चुनौतीको सामना गरेमात्र नेतृत्व हुन्छ । त्यसैले वीर जागिर खान आउने ठाउँ मात्र चाहि हैन’ उनले भने ।

पैसा र श्रोतको समस्या नभई नेतृत्वकर्ताकै समस्या भएको भन्दै उनले वीरमा नेतृत्व सही भए आफूहरुले सोच अनुसार काम गर्न सक्ने बताए । साथै आफ्नो देशमा सेवा सुविधा छ भने त्यसको प्रत्याभूति गराउन समेत सम्बन्धि सरोकारवाला सबैसित आग्रह गरे ।

‘हामीले हाम्रा मान्छेलाई दिल्ली, सिंगापुर किन पठाउने ? देश हो भने त्यसमा भएका सेवासुविधा प्राप्त हुन्छ भन्ने प्रत्याभूति गर्न सक्नुपर्‍यो र वीरले ती कुरा गर्न सक्दैन भने कसले गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

उनले नाफा कमाउने उद्देश्यले नागरिकहरुले निजीकरणमा विश्वास गर्दै स्वास्थ्य तथा शिक्षा जस्ता कुरालाई मौलिक हकको रुपमा लागु गर्न नसकिने समेत स्पष्ट पारे ।

स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नु नै अहिलेको आवश्यकता भएको बताउँदै मन्त्री पोखरेलले हिजो स्वास्थ्य मन्त्रालयको पदभार सम्हाल्ने क्रममा निजी क्षेत्रबारे नबोल्नुको मुख्य कारणमा नेपालको सरकारी स्वास्थ्य प्रणाली कमजोर रहनु मुख्य कारण भएको बताए । उनले भने, ‘हाम्रो सरकारी स्वास्थ्य प्रणाली नै कमजोर रहेको अवस्थामा यसलाई सुधार नगरी अरु प्रश्न उठाउन मन्त्रीहरुलाई धेरै अप्ठेरो स्थिति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment