Comments Add Comment

जिल्ला प्रशासनमा नागरिकता बनाउनेको भिड, रुपन्देहीमा रातिसम्म सेवा

सेवाग्राहीसँग रुपन्देही प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह ।

१२ साउन, भैरहवा । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह हातमा कागजपत्र बोकेर कहिले नागरिकता फाँटमा त कहिले दर्ता शाखामा ओहोर-दोहोर गर्छन् । कहिले उनी पालो कुरिरहेका सेवाग्राही बसेकै ठाउँमा पुग्छन् र सम्बन्धित कामको लागि कागजपत्र पुगे-नपुगेको हेर्छन् ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले कुर्सीमा बसी-बसी अरु कर्मचारीलाई काम लगाउने गरे पनि रुपन्देहीको दृष्य आजभोलि फरक छ । ‘नागरिकता बनाउन आउनेहरुको भिड छ । सेवाग्राही नअलमलिउन् भनेर म आफै पनि खटिएको छु,’ प्रजिअ सिंहले अनलाइनखबरसँग भने ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य सुरु गरेसँगै जिल्ला प्रशासन कार्यालयहरुमा नागरिकता बनाउनेहरुको चाप बढेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला प्रशासन कार्यालयहरुमा दैनिक भिडभाड देखिन्छ । रुपन्देही जिल्ला प्रशासन कार्यालयले त कार्यालय समयमा काम नसकिएपछि राति आठ बजेसम्म पनि सेवा दिइरहेको छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकता आवश्यक भएको कारण नागरिकता बनाउने चाप बढ्दै गएको रुपन्देहीका प्रजिअ सिंहले बताए । विगतमा औसतमा दैनिक ५०/६० जनालाई नागरिकता वितरण गरेपनि अहिले साउन महिना यता औसतमा दैनिक २ सयभन्दा बढी नागरिकता वितरण भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सेवाग्राहीको भिड ।

नागरिकता बनाउनेको चाप बढ्दै गएपछि प्रशासन कार्यालयका कर्मचारीहरुलाई हम्मेहम्मे परेको छ । नागरिकलाई राम्रो सेवा प्रदान गर्ने उद्देश्यले प्रशासन कार्यालयका कर्मचारीहरु रातिको ८ बजेसम्म समेत नागरिकता शाखाको सेवा दिइरहेको पाइएको छ । ‘जिल्लाका विभिन्न स्थानबाट वृद्ध, वृद्धाहरु नागरिकता बनाउन आएका छन् । कोही पनि निराश भएर खाली हात फर्कनु नपरोस् भन्ने उद्देश्यले हामीले फारम दर्ता गरिसकेका सेवाग्राहीहरुलाई रातिसम्म भएपनि पनि सेवा दिइरहेका छौं,’ प्रजिअ सिंहले अनलाइनखबरसँग भने ।

उनले युवा पुस्ताका साथ साथै वृद्ध, वृद्धाहरु पनि नागरिकता बनाउन र नागरिकताको प्रतिलिपी लिने चाप बढेको बताए ।

बिहीबार जिल्लाको तिलोत्तमा नगरपालिका ६ की ८३ वर्षीया वर्मा थारुले पनि नागरिकता पाएपछि उनले भनिन्, ‘पहिला-पहिला नागरिकता नहुँदा पनि भोट हाल्न पाइन्थ्यो तर आजभोलि त नागरिकता माग्छन् । त्यसैले नागरिकता बनाएँ । आउने चुनावमा मैले पनि भोट हाल्न पाउँछु ।’

नागरिकता वितरणमा चाप बढेपछि प्रजिअ सिंह आफै सेवाग्राही बस्ने कुर्सीमा बसेर सेवाग्राहीको गुनासो सुनेर सम्बोधन गर्दछन् । उनले सेवाग्राहीहरुसँग कार्यालयको सेवाबारे सोधपुछ गर्दै आफै विभिन्न फाँटमा गएर सेवा प्रदान गरिरहेका छन् ।

त्यस्तै रुपन्देहीका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले मतदाताहरुमा चुनावमा मतदान गर्नुपर्ने चेतना बढेको कारण नागरिकता बढाउनेको चाप बढेको बताए । उनले नागरिकता बनाउनको चाप बढेपनि प्रचण्ड गर्मीमा सेवाग्राहीलाई दुःख हुने विषयलाई मध्येनजर गर्दै अन्य शाखाका कर्मचारीलाई पनि नागरिकता शाखामा लगेर सहज रुपमा नागरिकता वितरणको व्यवस्था मिलाइएको कारण सेवाग्राहीलाई कुनै किसिमको दुःख नभएको बताए ।

उनले कार्यालयमा सेवाग्राहीको चाप बढेपनि कुनै कर्मचारी वा कार्यालय उपर सेवाग्राहीको कुनै किसिमको गुनासो नआएको दाबी गरे ।

गत आर्थिक ०७३/७४ को असार महिनामा ९ सय ६१ जनालाई नागरिकता वितरण गरिएकोमा चालुको आर्थिक वर्षको साउन महिनाको ११ गतेसम्म मात्र १ हजार ५ सय ५२ जनालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशसान कार्यालय नागरिकता शाखाका नासु यज्ञराज पोख्रेलले जानकारी दिए । त्यस्तै उनले गत आर्थिक वर्ष ०७३/७४ मा जिल्लाबाट २१ हजार ८ सय ९२ जनालाई नागरिकता वितरण गरिएको बताए ।

नवलपरासी र कपिलवस्तुमा पनि चाप

जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सेवाग्राहीको भिड ।

यस्तै नवलपरासी र कपिलवस्तु जिल्लामा पनि नागरिकता बनाउनेको चाप बढेको छ । जिल्ला प्रशसान कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ०७३/७४ मा ७ हजार ६३ जनालाई नागरिकता वितरण गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको साउन महिनाको ११ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट एक हजार एक सय २६ जनालाई नागरिकता वितरण गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय रानाले बताए ।

नवलपरासी जिल्लामा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासान कार्यालय कावासोती र इलाका प्रशासन कार्यालय सेमरीबाट नागरिकता वितरण हुने गरेको छ ।

यस्तै जिल्ला प्रशासान कार्यालय कपिलवस्तुमा चालु आर्थिक वर्षको साउन महिनाको ११ गतेसम्म ४ सय ५० जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भए पश्चात गाउँनगरमा मतदाता नामावली दर्ता गराउन सूचना प्रवाह गरिरहेको कारण नागरिकता बनाउनेको चाप बढेको कर्मचारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment