Comments Add Comment

प्रदेश र संसदको चुनाव एकै पटक गर्ने सरकारको प्रस्ताव

आयोगले भन्योः एउटा मतपत्रमा दुई चुनाव गर्न सकिन्छ

फाइल तस्वीर

१२ साउन, काठमाडौं । सरकार र निर्वाचन आयोगबीच प्रदेश र संसदको चुनाव एउटै मितिमा गर्ने विकल्पबारे छलफल सुरु भएको छ । साथै आसन्न निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे पनि कुराकानी भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आयोगका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए । भेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनादर्न शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

भेटमा देउवाले प्रदेश र संसद निर्वाचनको तयारी थाल्न आग्रह गरेका छन् । तोकिएको समयमा चुनाव गर्ने सरकारको मुख्य उदेश्य रहेको भन्दै उनले क्षेत्र निर्धारण आयोगले काम थालिसकेकाो र निर्वाचन सम्वन्धी दुई कानुन पनि केही दिनभित्रै पास हुने तयारीमा रहेको बताए ।

उनले प्रदेश र संसदको चुनाव एकै पटक गर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवाले खर्च घटाउनका लागि पनि र एकै पटक दुवै निर्वाचन गर्नुपर्ने धारणा राखेको उनको निजी सचिवालयले जनाएको छ ।

आयोग पदाधिकारीहरूले भने एउटा मतपत्रमा दुई चुनाव गर्ने हो भने सोच्न सकिने बताएका छन् । ‘एकै पटक निर्वाचन गर्न ‘एउटा मतपत्र, दुई चुनाव’ गर्न सकिन्छ । एउटा विकल्प हो’ भेटपछि प्रमुख आयुक्त अयोधिप्रसाद यादवले भने ।

आयोगले असोज मसान्तमा प्रदेश र मंसिरमा संसदको चुनाव गर्ने कार्ययोजना प्रस्तुत गर्दै असार मसान्तभित्र ऐन कानुन र साउन १५ भित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन मागेको थियो ।

तर, सरकारले हालै मात्र गठन गरेको आयोगले साउन मासान्तअघि प्रतिवेदन बुझाउने सम्भावना कम छ । साथै ऐन कानुन पनि अझैसम्म पास हुन सकेको छैन ।

बैठकमा संसद र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे पनि छलफल भएको छ ।

आयोग आफैंले भोटिङ मेसिन गरेर चुनाव गराउन सम्भव नभएको आयोगका पदाधिकारीहरुको भनाइ छ । ‘ग्लोबल टेण्डर गरेर भोटिङ मेसिन ल्याएर चुनाव गर्न अहिले सम्भव छैन । मतदाता शिक्षा कार्यक्रम पनि चलाउनुपर्छ’ एक आयुक्तले भने ।

यदि सरकारले जिटुजी सम्झौता गरेर भोटिङ मेसिन ल्याउने हो भने सोच्न सकिने आयोगले बताएको छ ।

साथै भोटिङ मेसिन प्रयोगका लागि राजनीतिक सहमति जुट्नु पर्नेमा पनि आयोगले जोड दिएको छ । एक आयुत्तलले भने, यो पटक भोटिङ मेसिनको सम्भावना कम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment