Comments Add Comment

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौमा, नेतृत्व चयन निर्वाचनबाट

११०० अायाेजक समिति सदस्य र ९७६ प्रतिनिधि सहभागी हुने

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आगामी भदौ पहिलो साता काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म काठमाडौं सम्मेलन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामांगले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनका लागि एक हजार एक सय सदस्यीय समिति गठन गरिएको छ । सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक गरी जम्मा २ हजार ७६ जना सहभागी हुने अखिल क्रान्तिकारीले जनाएको छ ।

पछिल्लो समय दशवटा विभिन्न माओवादी घटकबीच एकता भएपछि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पहिलो पटक हुन लागेको हो । त्यसैले यसलाई एकताको राष्ट्रिय सम्मेलन नाम दिइएको छ ।

सम्मेलनले आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्ने छ । सम्मेलनमार्फत् निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने तामांगले बताए । निर्वाचनबाट नेतृत्व चयन हुन लागेको अखिल क्रान्तिकारीको इतिहासमै पहिलोपटक हो ।

यसअघि माओवादी केन्द्रको युवा संगठन वार्इसीएलले आगामी भदौ २ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।

अखिल क्रान्तिकारीको पदाधिकारी बैठकमा नेता रामबहादुर थापा बादल, विद्यार्थी इन्चार्ज हितमान शाक्य, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, रत्न ढकाल लगायतको उपस्थिति थियो । बैठकमा बोल्दै माओवादी केन्द्रका नेता बादलले निर्वाचनबाट चुस्त संगठन निर्माण गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment