Comments Add Comment

तोकियो पुनर्निर्माणको समयसीमा, भूकम्पपीडितले एक वर्षभित्र घर बनाइसक्नुपर्ने


१३ साउन, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोकेको छ । यसअनुसार अहिलेसम्म पहिचान भएका सबै भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्नेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझेर पनि निजी आवास निर्माणमा ढिलासुस्ती भएको निश्कर्ष निकाल्दै घर बनाइसक्ने गरी समयसीमा तोकेको हो । अब क्षतिग्रस्त ७ लाख ४७ हजार घर ०७५ को साउनसम्म बनाइसक्नुपर्नेछ ।

सरकारले अनुदान लिने समयसीमा निर्धारण गर्दै २०७५ असारभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने गरी नियम बनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले अबको कार्तिक मसान्तसम्म सबै लाभग्राहीसँग अनुदान सम्झौता गरेर पहिलो किस्ता दिइसक्ने निर्णय गरेको हो । प्राधिकरणले गाउँमा खटिएका प्राविधिकमार्फत यो सन्देश सबै ठाउँमा पठाएको छ ।

पहिलो किस्ता कार्तिक र दोस्रो पुससम्म

लाभग्राहीको सूचीमा नपरेकाले पनि आफ्नो गुनासो स्थानीय तहमा राखेर कार्तिकसम्म अनिवार्य रुपमा पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले अनलाइनखबरलाई बताए । पहिलो किस्ता लिन पीडितको सूचीमा परेर सरकारसँग अनुदान सम्झौता गर्नुपर्छ । पहिलो किस्तामा सरकारले ५० हजार रुपैयाँ दिन्छ ।

दोस्रो किस्ता लिन पनि प्राधिकरणले समयसीमा तोकेको छ । कार्तिकभित्र पहलिो किस्ता लिएकाहरुले पुस महासन्तसम्म दोस्रो किस्ता लिने गरी काम गर्नुपर्ने भएको छ । पहिलो किस्ताको अनुदान लिएर घरको जग राखेपछि दोस्रो किस्ता रकम पाइन्छ ।

तेस्रो किस्ता असारभित्र

गाउँगाउँमा खटिएका प्राविधिकमार्फत दोस्रो किस्ताका लागि निवेदन दिनुपर्ने प्रवक्ता भुसालले बताए । दोस्रो किस्तामा पीडितले १ लाख ५० हजार रुपैयाँ पाउँछन् । ‘पहिलो किस्ता बुझेका धेरैले जग राख्न सुरु नै गरेनन् । जसले दोस्रो किस्ता बुझ्ने संख्या निकै कम भयो’ भुसालले भने, ‘पहिचान भएका अधिकांश पीडितले पहिलो किस्ता बुझेर घर बनउन थाल्नु भएन । त्यसैले समयसीमा तोकेका हौं ।’

त्यस्तै आगामी असारसम्म तेस्रो किस्ता रकम बुझिसक्नुपर्नेछ । घरको गाह्रो उठेपछि सरकारले छाना राख्नका लागि तेस्रो तथा अन्तिम किस्तावापत १ लाख रुपैयाँ दिनेछ ।

रकम लिएर घर नबनाए के हुन्छ ?

पहिलो किस्ताको अनुदान रकम बुझेका धेरै भूकम्प पीडितले अझैसम्म घर बनाउन थालेका छैनन् ।

पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गर्न यो रकम घर बनाउनकै लागि हो भनको छे । तर, पनि ५० हजारले घर बन्दैन भन्दै त्यो रकम अन्यत्र खर्च गरेको पाइएको छ । भुसालले भने, ‘हामीले अनिवार्य रुपमा यो समय सीमाभित्र घर पुननिर्माण गरिसक्न भनेका छौं । लाभग्राहीले अटेर गर्नुहुन्न भन्ने हाम्रो विश्वास छ ।’

यदि रकम लिएर पनि घर नबनाएको पाइए कानुन आकर्षित हुने प्राधिकरणका प्रवक्ता भुसालले बताए ।

२७ सय मात्रै घर बने

अहिलेसम्म देशभर ७ लाख ४९ हजार ७ सय ९६ भूकम्पपीडित पहिचान भएका छन् । यसमध्ये ६ लाख ३० हजार ४ सय ४९ परिवारले घर पुनर्निर्माणका लागि सम्झौता गरेका छन् ।

ययमध्ये पनि ५ लाख ९९ हजार ३ सय २४ पीडितले पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन् । यति धेरैले पहिलो किस्ता बुझेपनि जम्मा ५५ हजार ५५ जना पीडितले मात्रै घरको जग हालेर दोस्रो किस्ताको डेढ लाख बुझेका छन् ।

तेस्रो किस्ता लिनेको संख्या २ हजार ७ सय ३४ मात्रै छ । अर्थात अहिलेसम्म २७ सय घर मात्रै निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment