Comments Add Comment

कीर्तिपुर क्रिकेट मैदानलाई विकल्प दिन तयार बन्दैछ मुलपानी

१३ साउन, काठमाडौं । नेपाल क्रिकेटका लागि ‘न्यूट्रल भेन्यू’ बन्ने सम्भावना छ । काठमाडौंको मौसमदेखि एशोसिएट नेशन भएर पनि दर्शकहरुको बाक्लो उपस्थितिले यो सम्भावना देखाउँछ । तर, मैदान भने त्रिवि परिसर कीर्तिपुरको मात्र छ ।

कुनै अन्तराष्ट्रिय प्रतियोगिता हुने भयो भने पनि सहभागिता टिमले फरक फरक सिफ्टमा ट्रेनिङ गर्नु पर्ने बाध्यता छ ।

तर, अब कुनै अवरोध आएन भने एक डेढ महिनामा नै कीर्तिपुरको विकल्प तयार हुँदैछ-मुलपानी क्रिकेट मैदान ।’

मुलपानीमा क्रिकेट मैदान निर्माण १२ वर्ष अघि नै सुरु भएको थियो । तर, यति जटिलता देखियो कि बिना डिभिजनमा रहेको नेपाली टोली डिभिजन वानमा पुगेर विश्वकप खेलिसक्दा पनि योजनाले पूर्णता पाएन । त्यहाँ केवल डाँडो सम्याइयो, एउटा पेविलियन भवन बन्यो । तर, मैदान ट्रेनिङ गर्न योग्य पनि बन्न सकेन ।

त्यसबेला मुलपानीमा क्रिकेट मैदान होइन, रंगशाला नै बनाउने योजना अघि सारिएको थियो । जहाँ पेभेलियन, मिडिया बक्स लगायतका सबै संरचना बनेको होस् ।

सरकारले जग्गा उपलब्ध गराएपछि केही काम पनि भयो । तर, सुरुमा काम थालिएको ठाउँ केही सानो भयो । यो मैदान मात्र बन्ने भएपछि नजिकै रंगशाला बनाउन थालियो ।

तर, त्यही बेला नेपाल क्रिकेट संघमा अनेक विवाद देखियो, परीणाम १२ वर्ष वित्दा मुलपानीमा न क्रिकेट मैदान बन्यो न रंगशालाले नै मूत रुप पाउन सक्यो ।

खेलाडीहरु नै अघि सरे

मुलपानीमा क्रिकेट मैदान बनाउने भनेर हरेक वर्ष बजेट छुटि्टएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको थिएन । झन क्रिकेट संघ निलम्बनमा परेपछि सबै काम अलपत्र भयो ।

अन्ततः यसबारे दिक्कवाक्क भएका क्रिकेट खेलाडीहरु नै मैदान निर्माणमा अघि सरे । नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल सहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाको पहलमा मुलपानी क्रिकेट मैदानलाई खेल्नयोग्य बनाउनका लागि गर्नुपर्ने काम र खर्चको स्टमेट तयार भयो । त्यस अनुरुप गत कर्तिकमा तत्कालिन खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलाई ज्ञापनपत्र बुझाउँदै मुलपानी मैदान बनाउन दबाव दिए ।

गत चैतमा राखेपले मुलपानीको धुलाम्य मैदानको स्तरोन्नतिका लागि १६ लाख ४० हजार बजेट विनियोजन गरी कामको जिम्मा ज्ञानेन्द्र मल्ल र छुम्बी लामाको टिमलाई दियो । उनीहरुले अहिले मुलपानी मैदानलाई मनमोहक बनाइसकेका छन् ।

मैदानको उत्तरपूर्वी छेउमा जमिन भासिएर मैदान बिग्रिएको थियो, पूर्वी क्षेत्रमा माटोको थुप्रो कायमै थियो । सबैभन्दा पहिले उनीहरुले त्यसलाई सम्याए र पर्खाल लगाए । मैदानको मूख्य क्षेत्र पीचको स्तरोन्नतिमै उनीहरुको धेरै समय गएको छ । ‘क्यानसँग आवद्ध सबैको सक्रियतामा हामीले मुलपानी मैदान खेल्नयोग्य बनाउँदैछौं’ छुम्बीले भने ।

छुम्बीले अघि भने, ‘मैदानको सबै भागमा घाँस रोपिएको छ, मनसुन सकिएपछि मुलपानी मैदान खेल्नयोग्य हुनेछ,सेप्टेम्वरसम्ममा ग्राउण्ड तयार पारिसक्ने हाम्रो सोच छ ।’

त्रिवि मैदानको उपयुक्त विकल्प

कीर्तिपुरमा रहेको क्रिकेट मैदान क्रिकेट संघको आफ्नै होइन, त्रिभुवन विश्वबिद्यालयसँग वर्षिक १० लाख रुपैयाँ भाडा तिर्ने गरी क्रिकेट संघले लिजमा लिएको हो । त्यही मैदान मा अहिले अन्तर्राष्ट्रियदेखि टोलस्तरका प्रतियोगिता हुने गर्छन् ।

तर, मुलपानीको मैदान बनेपछि कीर्तिपुरको विकल्प हुनेछ । ‘हामीसँग अहिले अन्तर्राष्ट्रिय स्तरको एउटामात्र मैदान छ, पुल्चोक मैदान पनि मर्मत सम्भार भइरहेको छैन’, अधिकृत लामाले भने, ‘त्रिवि मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगितामात्र आयोजना गर्ने गरी यस मैदानलाई उपयुक्त विकल्पको रुपमा प्रयोग गर्नेछौं ।’

मुलपानीको पिच पाकिस्तानी क्यूरेटरले तयार पारेका छन् । यो मैदान तयार भएपछि कम्तिमा उमेर समूहको क्याम्प तथा निजीस्तरका प्रतियोगिताहरु गर्न सकिनेछ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि बैकल्पिक मैदानका रुपमा पनि उपयोग हुनेछ ।

मैदानको पूर्व दक्षिण कुनामा घासे मैदानमामा बसेर क्रिकेट खेल हेर्न मिल्ने स्लोप पनि छ ।

मुलपानी मैदानको इतिहास

तत्कालिन समयमा उदाउँदो खेलका रुपमा आएको क्रिकेटको सम्भावित व्यापकतालाई मध्यजनर गरी तत्कालिन क्यानको प्रस्तावमा सरकारले २०६१ सालमा मुलपानीमा दुई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने गरी योजना बनाएको थियो ।

२०६२ सालमा माथिल्लो मैदानको निर्माण सुरु भयो । लामा कन्स्ट्रक्सनले मैदान सम्याएको थियो र उसैले मैदान वरपर तारबार तथा पर्खाल लगाउने काम गर्‍यो । त्यसको दुई वर्षपछि क्यानले पाकिस्तानी क्यूरेटरलाई ल्याएर पीच पनि तयार पार्‍यो । तर, मैदान सम्याएको ६ वर्षसम्म त्यहाँ कुनै काम भएन ।

एकैपटक २०६८ सालमा आईसीसीको सहयोग र सरकारको लगानी गरी ४ करोड लगानीमा मैदानको पश्चिम क्षेत्रमा पेविलियन बनाइयो । जसको निर्माण गौरा कन्स्ट्रक्सनले गरेको थियो । त्यसपछि मुलपानी रंगशालामा उल्लेख्य कुनै काम भएन । २०७० सालमा टंक आङबुहाङ नेतृत्वको क्यान कार्यसमितिबिरुद्ध मुलपानी मैदानमा काम नगरी पैसा खाएको उजुरी परेपछि यसको निर्माण प्रक्रिया अझै लम्बियो ।

१२ वर्षको बीचमा यस मैदान केवल खेल्न योग्यमात्र भएको छ । यसमा सुधार गर्नुपर्ने धेरै छ । मैदानको दक्षिण र पूर्वी क्षेत्र केहि भिरालो भएकाले त्यहाँ प्याराफिट बनाउन सकिन्छ र त्यस काम बाँकी छ । यो भयो माथिल्लो मैदानका कुरा ।

 

मुलपानीमा राष्ट्रिय खेलकुद परिषदको आफ्नै लगानीमा अर्को मैदान पनि बन्दैछ । त्यसलाई तल्लो मैदानको रुपमा चिनिन्छ । यसको प्याराफिट तथा पेविलियन निर्माण सकिइसकेको छ ।

तर, मैदानको पीच निर्माणको काम बाँकी छ भने यस मैदानमा केहि विवादहरु पनि देखिएका छन् । पहिले सरकारी जग्गामा रंगशाला निर्माण गर्ने भनिएपनि रंगशालाभित्रै पर्ने जग्गाको दावी गर्दै केहि मानिसहरु आएपछि त्यसको निर्माण प्रक्रिया रोकिको छ ।

सरकारले प्रतिआना ५ लाख मुआब्जा दिने सहमति भएपनि यस विवाद सल्टिसकेको छैन । करीव ६० आना जग्गा व्यक्तिको नाममा पाइएपछि त्यहाँ विवाद सुरु भएको हो ।

तस्वीरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment