Comments Add Comment

पर्यटकको पैसामाथि टानमा विवाद, कोषाध्यक्ष अदालत जाने तयारीमा

लिलाबल्लभ दाहाल, कोषाध्यक्ष, टान

१३ साउन, काठमाडौं । विदेशी पर्यटकबाट उठेको शुल्क खर्च गर्ने विषयमा ट्रेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल (टान) भित्र विवाद चर्केको छ । विवादमा कोषाध्यक्ष एकातर्फ छन् भने अध्यक्षसहित अन्य पदाधिकारी अर्कोतर्फ ।

कोषाध्यक्ष लिलाबल्लभ दाहाललाई बाइपास गर्दै अध्यक्ष चन्द्र रिजाल, महासचिव कर्ण लामा र सहकोषाध्यक्ष कृष्णमान श्रेष्ठ मिलेर सनराइज बैंकमा खाता खोलेपछि विवाद चर्केको हो । कोषाध्यक्ष दाहाल यसबिरुद्ध अख्तियार र अदालत जाने योजनामा छन् । विदेशी पर्यटकबाट उठेको पैसामा मनोमानि गर्न यसरी खाता खोलिएको उनको दावी छ ।

यसअघि कोषाध्यक्षले आवश्यक समय दिन नसकेको भन्दै टानको बोर्डले विधान नै संशोधन गरेको थियो । कोषाध्यक्षको सहमतिबिना खाता खोल्न नपाइने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गर्दै सहकोषाध्यक्षको संलग्नतामा पनि खाता खोल्न सकिने भनेर व्यवस्था गरिएको छ ।

गत डिसेम्बरमा सम्पन्न ३८ औ वार्षिक साधारणसभाबाट यो बिधान संसोधन गरिएको महासचिव लामा बताउँछन् । तर कोषाध्यक्ष दाहाल भने साधारणभामा पेश नै नभएको कुरालाई एकाएक फर्जि हस्ताक्षर गरेर संसोधन गरिएको दावी गर्छन् ।

उनले भने, ‘टिम्स (पर्यटक सूचना व्यवस्थापन प्रणाली) बाट उठेको ३० लाख रुपैयाँ उहाँहरुले टानको खातामा राखेर खर्च गर्न खोज्नुभएको थियो, मैले त्यो मानिनँ । त्यही रकम दुरुपयोग गर्ने हिसाबले यो खाता खोलिएको हो ।’

महासचिव लामा उनको भनाईमा सहमत छैनन् । कोषाध्यक्ष दाहालले समय दिन नसकेकाकाले सहकोषाध्यक्षको सहभागितामा यो खाता खोलेको उनले बताए ।

टिम्सबाट आएको रकम कर्मचारी खर्च तथा ट्रेकिङका क्रममा ज्यान गुमाउने गाइडहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रयोग गरिन्छ । यो रकम टानले आफ्ना विभिन्न कार्यक्रममा भने खर्च गर्न पाउँदैन ।

टानका पदाधिकारीहरु सबै आफ्नो व्यवसायमा व्यस्त छन् । व्यवसायमा मात्रै नभई उनीहरु राजनीतिमा पनि सक्रिय छन् । यही राजनीतिले अहिले उनीहरुको छाता संगठनलाई पनि गाँजेको छ । अध्यक्ष र महासचिव एमाले तथा माओवादी पक्षधर हुन् भने कोषाध्यक्ष कांग्रेस पक्षधर ।

नेपाल पर्यटन बोर्डबाट १ करोड २५ लाख टिम्सको पैसा घर भाडा र कर्मचारीलाई तलबका लागि आएको थियो । त्यसबाट करीब ३७ लाख उब्रेको छ । सो रकमलाई अन्य भ्रमण तथा भत्तामा खर्च गर्न आफूलाई दवाव दिइएको कोषाध्यक्ष दाहाल बताउँछन् । अन्यत्र खर्च गर्न नमानेकै कारण अर्को खाता खोलिएको उनको दावी छ ।

साथै बोर्डले टानलाई थप दिनु पर्ने १२ करोड रुपैयाँ आउन लागेको र यो रकमलाई नयाँ खातामा राखेर अध्यक्ष र महासचिवले जथाभावी खर्च गर्ने योजना बनाएको दाहालले बताए ।

टानले पर्यटन क्षेत्र प्रवर्धन गर्न विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हो । तर पछिल्लो समय यस्ता कार्यक्रम खासै आउन सकेका छैनन् । बरु पर्यटन बोर्डले प्रवर्धनात्मक कार्यक्रमहरु गर्न नसकेको भन्दै टानका पदाधिकारीहरु कुरा काटिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment