Comments Add Comment

कुलमानको चेनावनीपछि चिनियाँ कम्पनीले थाल्यो ढल्केबरमा काम

अब २ महिनामा सबै निर्माण सम्पन्न हुने

१३ साउन, काठमाडौं । एक हप्ता अघिदेखि रोकिएको धनुषाको ढल्केबरमा २ सय २० केभीको सबस्टेसन निर्माणको काम चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)ले शुक्रबारदेखि पुनः सुुरु गरेको छ ।

दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।

केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सिसिपिजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस पोख्न सिसिपिजीले ढल्केबर सबस्टेशनमा काम रोकेको बताइएको छ ।

स्रोतका अनुसार कम्पनीले प्राधिकरणलाई ढल्केबरको पनि ठेक्का तोड्ने भन्दै घुर्की लगाउँदै आएको थियो । तर, प्राधिकरणले पनि आफुहरु समयमै काम सुरु नगरे ठेक्का तोड्ने बताएपछि यसले समयमै काम सुरु गरेको हो । स्रोतले भन्यो, ‘प्राधिकरणका निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि अन्तत काम सुरु गरेको हो ।’

सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

अहिले प्राधिकरणले २२०/१३२ केभीको ट्रान्सफर्मर भाडामा लिएर भारतको मुजफ्फरपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । बिद्युत आयात गर्नका लागि प्राधिकरणले मुजफ्फरपुरमा १ सय एमभीएका दुईवटा ट्रान्समिटर राखेको छ ।

ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्नु पर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ । ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन अहिले १ सय ३२ केभीमा चार्ज भइरहेको छ । यो प्रसारणलाइनमा २ सय २० केभीमा चार्ज गर्नका लागि अहिले तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार अहिले यो प्रसारण लाइनबाट १ सय मेगावाट बिद्युत आयात भइरहेको छ । केहि समय अघिसम्म यही प्रसारण लाइनबाट १ सय ६० मेगावाटसम्म आयात भएको थियो ।

आउँदो हिउँदमा यो प्रसारण लाइनबाट करिब २ सय मेगावाटसम्म आयात गर्ने प्राधिकरणको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment