Comments Add Comment

नाग पञ्चमीमा सर्प संरक्षणका लागि निकालियो र्‍याली

१३ साउन, पोखरा । नेपालीहरुको सांस्कृतिक पर्व नागपञ्चमीको अवसर पारेर पोखरामा आज सर्प संरक्षणका लागि जनचेतना र्‍याली निकालिएको छ ।

स्नेक कन्जरभेसन सोसाइटी नेपाल कास्कीको आयोजनामा ‘नागपूजाको सान्दर्भिकता, सर्प संरक्षणमा सहभागिता’ भन्ने मूल नारासहित र्‍याली गरिएको हो ।

पोखराको विन्ध्यबासिनी मन्दिर परिसरबाट शुरु भएको र्‍याली भैरबटोल, नालामुख हुँदै चिप्लेढुङ्गा नागको थानमा आएर टुंगिएको थियो । र्‍यालीमा सहभागिहरुले ‘सर्प संरक्षणमा हातेमालो गरौं’, ‘सर्पदंश दुर्घटना हो, यो रोक्न सकिन्छ’, ‘सर्प बचाऔं, वातावरण जोगाउँ’, ‘नाग पूजाको सार्थकता, सर्प संरक्षणमा सहभागिता’, ‘सर्प मार्नु भनेको मूसाको संख्या बढाउनु हो’ लगायत लेखिएका प्ले-कार्ड बोकेका थिए ।

र्‍याली समापनमा सहभागीहरुलाई धन्यवाद दिदै स्नेक कन्जरभेसन सोसाइटी नेपाल कास्कीका अध्यक्ष महेन्द्र कतिलाले फोटोमा नागलाई भगवान मान्दै पूजा गर्ने तर जिउँदो सर्प देख्यो भने मार्ने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए ।

उनले नागको पूजा गर्नेहरुलाई जिउँदो सर्पको संरक्षणमा पनि भूमिका खेल्न आग्रह गरे । नेपाली समाजामा सर्पलाई हेर्ने दृष्टिकोण विरोधाभासपूर्ण भएको उनको टिप्पणी थियो ।

उनले भने, ‘सर्पलाई भगवान मान्दै नागपञ्चमीमा हामी नाग अर्थात सर्पको पूजा गर्छौं तर त्यहिबेला घर नजिकै सर्प देखियो भने सर्प मारिहाल्छौं ।’ पूजापनि गर्ने अनि सर्पपनि मार्ने बिरोधाभास सामाजिक मनोवृतिको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

सर्पले हावाको माध्यमबाट आएका विषाक्त वस्तुलाई लिएर वातावरण स्वच्छ बनाउन सघाउने उनले प्रष्ट्याए । घर नजिक सर्प देखियो भने सर्प समात्ने सिपालु मान्छे बोलाएर त्यसको उद्धार गरी जंगलमा लगेर छाड्न उनले सुझाव दिए ।

विश्वब्यापी रुपमा भने ग्लोबल स्नेक बाईट ईनिसिएटिभ -जिएसआई)ले ‘सर्पदंश एउटा दुर्घटना हो, यसबाट बच्न सकिन्छ’ भन्ने नारासहित वर्षभरी नै कार्यक्रम गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment