Comments Add Comment

गाडीको बुकिङ बढ्यो, राष्ट्र बैंकको ढिलाइले बिक्री बढेन


१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी सवारी साधन खरिदमा बैंकले दिने ऋणको सीमा बढाउने निर्णय कार्यान्वयनमा लैजान ढिलाई गर्दा गाडी बिक्रीमा खासै वृद्धि नभएको पाइएको छ ।

राष्ट्र बैंकले गरेको यो ब्यवस्थाले फेरि अटो बजार तरङ्गित भएको छ र सवारी किन्न चाहाने ग्राहकले बुकिङ धमाधम गरिरहेका छन् । कतिपय कम्पनीले नयाँ नीति आएपछि बुकिङ दोब्बर भएको बताउँछन् । बैंकले ऋणको सीमा नबढाउँदा धेरैले लोन लिएर गाडी लैजान भने सकेका छैनन् ।

राष्ट्र बैंकको घोषणापछि गाडी किन्ने ग्राहकको ‘इन्क्वायरी’ बढेको तर बिक्री भने खासै वृद्धि नभएको हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका डेपुटी जनरल म्यानेजर रुपेश शर्मा भट्टले अनलाइनखबरलाई बताए ।

‘ग्राहकहरु शो-रुममा आउने, गाडी हेर्ने, छान्ने लगायतमा राम्रो सुधार देखिएको छ,’ शर्माले भने, ‘बैंकहरुले अझै ६५ प्रतिशतसम्म अटो लोन दिन सुरु गरेका छैनन् । त्यसैले गाडीको डेलिभरी बढ्न सकेको छैन ।’

गाडी भन्सारमै

राष्ट्र बैंकले गत फागुनबाट गाडी किन्ने ग्राहकलाई गाडीको मूल्यको ५० प्रतिशत भन्दा बढी ऋण दिन नमिल्ने ब्यवस्था गरेको थियो । यो ब्यवस्थाले ४ महिना गाडी ब्यापारमा मन्दी आएको थियो । ४ महिनामा ५० देखि ६५ प्रतिशतसम्म गाडी ब्यापार घटेको थियो ।

विशेष गरी १ करोडको गाडी किन्नेले एकैपटक ५० लाखसम्म खर्चिनुपर्ने अवस्था भएपछि गाडीको ब्यापार सुस्ताएको थियो । राष्ट्र बैंकले बैंकहरुले अनुत्पादक क्षेत्रमा धेरै ऋण प्रवाह गर्दा लगानीयोग्य पुँजीको अभाव भएको भन्दै कायम गरेको ५० प्रतिशत अटो लोनको सीमाले अटो ब्यवसायमा ठूलो प्रभाव परेको थियो ।


गाडी बिक्री नभएपछि धेरैजसो कम्पनीका सयौं गाडी भन्सारमा अडि्कएका छन् । ब्यवसायीले ब्यापार नबढेपछि अझै पनि ति गाडी छुटाउन सकेका छैनन् । ब्यापार नभएर चिन्तित बनेका अटो ब्यवसायीले सरकारले राजश्व र बजारमा नै नकारात्मक असर पर्ने गरी नीति ल्याएको भन्दै आलोचना गरेका छन् ।

तयारी गर्दैछौंः राष्ट्र बैंक

नयाँ आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उसले आफ्नो नीति खुकुलो बनाउँदै ६५ प्रतिशतसम्म ऋण दिनसक्ने नीति लिएको थियो ।


तर, यो निर्देशन अझैसम्म निर्देशिका मार्फत सर्कुलर गरेको छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको नयाँ ब्यवस्था कार्यान्वयन गर्न बैंकलाई निर्देशन नदिएका कारण अझै पनि ५० प्रतिशतको ऋणको सीमा बैंकहरुले ६५ प्रतिशत पुर्‍याएका छैनन् ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल केही दिनभित्रै मौद्रिक नीतिअनुसार निर्देशन बैंकलाई दिने तयारी भइरहेको बताउँछन् ।

‘मौद्रिक नीतिमा घोषणा मात्रै हुने हो । त्यसअनुसार निर्देशिका बनाएर जारी गर्न केही समय लाग्छ,’ पौडेलले भने,’ अटो लानेमा बढाइएको सीमाबारे एक-दुई दिनमै निर्देशन जारी गर्छौं ।’

अटो ब्यवसायीहरु बैंकले ग्राहकलाई अझै पनि ५० प्रतिशत बढी ऋण नदिँदा ब्यापार नबढेको गुनासो गर्छन् ।

ब्यवसायीमा जागेको आशा

चाडबाड नजिकिँदै गर्दा गाडी ब्यापारको मुख्य मौसम सुरु भएको छ । ब्यापारको मुख्य सिजन सुरु हुनै लाग्दा पनि ब्यापार उत्साहप्रद रुपमा नबढेको ब्यवसायीको गुनासो छ । तर, चाडबाडको सिजन आइरहेकाले अब बजारमा सकारात्मक संकेत भने देखिएको निश्कर्ष ब्यवसायीको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्की पनि शो-रुममा ग्राहकको चाप र बुकिङ बढेको बताउँछन् । उनले ग्राहकले ६५ प्रतिशतसम्म लोन नपाएका कारण धेरैजना त्यसकै प्रतिक्षामा रहेको बताए ।

‘मौद्रिक नीतिले स्पष्ट रुपमा ऋणको सीमा बढाइएको भनेको छ । बैंकहरु राष्ट्र बैंकको निर्देशन कुर्दैछन्,’ कार्कीले भने, ‘ग्राहक पनि ६५ प्रतिशतसम्म ऋण कहिले पाइन्छ भनेर कुरिरहेकै छन् । हामी पनि अब सिजन सुरु भएकाले गाडी फटाफट डेलिभरि गर्ने तयारीमा छौं ।’

डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकपका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्द पनि पछिल्लो समयमा गाडीको बुकिङ रेसियो दोब्बर भएको बताउँछन् ।

‘केही समय ब्यापार निकै प्रभावित भयो । अब भने बजारमा तरङ्गहरु देखिएका छन्,’ चन्दले भने, ‘अबको सिजन गाडीको ब्यापारको मुख्य सिजन हो । त्यसैले अब हामी उत्साहित छौं ।’

नाडा र चाडको प्रतिक्षा


नाडा अटो मोबाइल्स डिलर्स एशोसियशनले केही सातापछि काठमाडौंमा ‘नाडा अटो शो-२०१७’ आयोजना गर्दैछ । नेपालीहरुको पर्वको मौसम सुरु हुनु अघि एशोसियशनले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ ।

दुई पांग्रे, चार पांग्रे र व्यवसायिक सवारी साधनहरुको प्रदर्शनका साथमा हुने मेलालाई अहिले धेरैले प्रतिक्षा गरिरहेका छन् ।

चाडपर्व अघि गाडी हेर्ने, छान्ने, बुकिङ गर्ने र दशैं-तिहार अघि नयाँ गाडी चढ्ने सोच धेरैमा हुन्छ । त्यसैले अटो ब्यासायीले यसकै अवसर पारेर विभिन्न योजनाहरु पनि ल्याउने गरेका छन् ।

अटो लोनमा अहिलेको सीमा बढ्नासाथ धेरै कम्पनीले पर्वलाई लक्षित गरेर योजना ल्याउने तयारी गरिरहेका छन् ।

यो सिजनमा वर्षदिन हुनेमध्ये ४० देखि ४५ प्रतिशत बुकिङ यही समयमा हुने गरेको छ । अटो मेला र दशैं-तिहारको यो तीन महिनाको अवधिमा वर्षभरिको सवारी कारोबारको ठूलो हिस्सा जोडिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment