Comments Add Comment

ओलीको आरोप-राजपालाई चुनाव बाहिर राखेर कांग्रेस केही सिट थप्न चाहन्छ

'पहिले प्रतिनिधिसभा चुनाव, प्रत्यक्षतर्फ प्राप्त मत नै समानुपातिक'

१३ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको चुनावमा पनि राजपालाई सहभागी हुन नदिन कांग्रेसले दाउपेच गरिरहेको आरोप लगाएका छन् ।

एक साता लामो तिब्बत भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई आग्रह गरे ।

पास फेल जे भए पनि संविधान संशोधन प्रस्ताव मतदानमा लैजाने कांग्रेसको निर्णयलाई ओलीले दाउपेचको संज्ञा दिएका हुन् । उनले राजपालाई चुनावभन्दा बाहिर राखेर मधेसमा केही सिट थप जित्ने दाउ कांग्रेसको रहेको बताए ।

‘कांग्रेसले यस्ता कुरामा राजनीति गरिरहनु हुँदैन, दाउपेच गरिरहनु हुँदैन । म भन्छु, कांग्रेसले यस्ता कुरामा छलछाम नगरोस्’ ओलीले भने, ‘कांग्रेसले घुमाई फिराई राजपालाई दोस्रो चरणको चुनावमा सहभागी हुन दिएन । उसको स्वार्थ केही भोट मधेसमा थपिन्छ कि भन्ने हो । अहिले पनि राजपालाई बाहिर राख्न चाहन्छ र संविधान संशोधनलाई दाउपेचको अस्त्र बनाइरहेको छ ।’

ओलीले नयाँ संसदले मात्र अब संविधान संशोधन गर्ने भन्दै राजपालाई झुक्याउने काम कांग्रेसले गरिरहेको आरोप लगाए । उनले कांग्रेसले दमन गर्दा, झुक्याउँदा र धोखा दिँदा पनि राजपाले कांग्रेसबाटै प्रयोग भएर एमालेको आलोचना गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

ओलीले भने, ‘संविधान संशोधनमा दाउपेच र छलछाम नगरौं । यो रुपान्तरिक संसदले होइन, नयाँ संसदले संविधान संशोधनबारे निर्णय गर्न सक्छ ।’

राजपाले चुनावमा भाग नलिए रेल त अघि बढ्ने र यात्री (राजपा) छुट्न उनको टिप्पणी छ ।

पहिले प्रतिनिधिसभा चुनाव

एमाले अध्यक्ष ओलीले मंसिर पहिलो सातामा प्रतिनिधिसभाको चुनाव हुनुपर्ने बताए । प्रतिनिधिसभा चुनाव नभए मुलुकमा संवैधानिक र राजनीतिक संकट आउने भन्दै ओलीले प्रदेशसभाको चुनावसँगै वा त्यसभन्दा पछि पनि गर्न सकिने बताए ।

ओलीले भने, ‘निर्वाचन आयोग र सरकारलाई हामी माघ ७ को समयसिमा स्मरण गराउन चाहान्छौं । पहिले प्रतिनिसभाको चुनाव हुनुपर्छ, नत्र संवैधानिक संकट हुन्छ । प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्न सकिन्छ ।’

एकै चरणमा गर्ने र एउटै मतपत्रमा समानुपातिक र प्रत्यक्ष मतदान गर्ने कुरामा एमाले लचिलो रहेको ओलीले बताए । तर, त्यसका नाममा चुनाव सार्ने कुरा स्वीकार्य नहुने उनले प्रष्ट पारे ।

ओलीले दुवै चुनाव एकै चरणमा गर्दा मतपत्र धेरै हुने अवस्था आएमा प्रत्यक्षतर्फ प्राप्त गरेको मतलाई नै पार्टीले पाएको मानेर समानुपातिक मतमा गन्न सकिने उपाय सुझाए ।

नाकामा सडक ल्याउन चीन तयार

मानसरोबर यात्राका क्रममा तिब्बत सरकार उच्च अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेका ओलीले आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौता कार्यन्वयनका लागि चीनले चासो दिएको बताए ।

उनले यस विषयमा आफूले सरकारको पनि ध्यानाकर्षण गराउने बताए । ओलीले सिगात्से भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरुसँग केरुङ, तातोपानी र किमाथांका नाका खुलाउनेबारे छलफल भएको बताए ।

चिनियाँ पक्षले नेपाली सीमा नाकासम्म सडक बिस्तार गर्ने कार्य चाँडै सकिने जानकारी दिएको उनले बताए । ओलीलाई स्वागत गर्न बिमानस्थलमा कार्यवाहक अध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment