Comments Add Comment

शरीफको राजीनामापछि को बन्ला पाकिस्तानको प्रधानमन्त्री ?

सरिफका सम्धी तथा सरकारका अर्थमन्त्री इसहाक डार

१३ साउन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको राजीनामासँगै अब नयाँ प्रधानमन्त्री को बन्ला भन्ने बहस सुरु भएको छ ।

अदालतको फैसला आफ्नो अनुकुल नआउने अड्कल पहिले नै गरिसकेका नवाज शरीफ र उनको पार्टी मुस्लिम लीगले आगामी प्रधानमन्त्रीका लागि केही नेताहरुबारे छलफलसमेत चलाएको छ ।

मुस्लीम लीग पार्टी पाकिस्तानको सबैभन्दा ठूलो पार्टी हो । तर, भावि प्रधानमन्त्रीको दाबेदारको रुपमा पाँच-सात जना नेताहरुको नाम आउँछ ।

शाहबाज शरीफ

शाहबाज शरीफ नवाज शरीफका भाइ हुन् । खानदानको सम्पत्ति जाँच गर्ने ज्वाइन्ट इन्भेष्टिगेसन टीम (जेआईटी)को रिपोर्टमा शरीफ, उनकी छोरी र छोरी ज्वाइँ समेत दोषि ठहरिए पनि भाइ शाहबाज भने दोषमुक्त छन् ।

पाकिस्तानी राजनीतिमा दाजु नवाज शरीफको भन्दा शाहबाज शरीफ अब्बल रहेको बताइन्छ । मुस्लिम लीगका नेताहरुका अनुसार पूर्व सैनिक शासक परवेज मुशर्रफले शाहबाज शरीफलाई प्रधानमन्त्री बनाउन लविङ गरेका थिए । त्यसपछि शाहबाजले राहील शरीफसँग पनि छलफल चलाएका थिए । आजभोलि जनरल कमर जावेद बाजवा पनि उनी सीधा सम्पर्कमा रहेको पाकिस्तानमा चर्चा छ ।

तर, यो सम्बन्ध दुई धारे तलवारको जस्तो छ । नवाज शरीफ भने भाइलाई सत्ता सुम्पिन तयार हुनेछैनन् । किनकी भाइको सम्बन्ध जोसँग राम्रो भन्ने गरिन्छ तिनै व्यक्तिहरुलाई नवाज शरीफ आफ्नो दुःखको कारण मान्दछन् ।

शरीफ परिवारको घरेलु मामलाबारे जानकार वरिष्ठ पत्रकार सलमान गनीका अनुसार नवाज शरीफ आफ्नी छोरीलाई राजनीतिक उत्तराधिकारीको रुपमा तयार गर्दैछन् । तर, अहिलेको अवस्थामा शाहबाज शरीफले नै नवाज शरीफको अस्थायी उत्तराधिकारीको रुपमा सबैभन्दा बलियो दाबेदार हुन् ।

तर यहाँ प्राविधिक समस्या छ । शाहबाज शरीफ नेशनल एसेम्बलीको सदस्य छैनन् । त्यसैले तत्कालै उनी प्रधानमन्त्री बन्न योग्य छैनन् । यस्तो अवस्थामा उनी दोस्रो जिम्मेवारी अर्थात् पार्टीको नेतृत्वको लागि खास महत्वपूर्ण मानिन्छन् ।

इसहाक डार

इसहाक डार नवाज शरीफ नेतृत्वको सरकारको अर्थमन्त्री हुन् । उनी नवाज शरीफको सम्धी हुन् ।

सरकारको उनको हैसियत उपप्रधानमन्त्रीको बराबर छ । मन्त्रीमण्डलका धेरैजसो सदस्यहरु कुनै न कुनै अवसरमा नवाज शरीफसँग इसहाक डारको आलोचना गरिसकेका छन् । उनीमाथि आरोप लाग्दछ कि उनले अरु मन्त्रालयको कामकाजमा समेत हस्तक्षेप गर्दछन् ।

यसको सबैभन्दा ठूलो कारण नवाज शरीफसँग इसहाक डारको नजिकको सम्बन्ध हो । उनीहरुबीच सम्धी-सम्धीको नाता छ । सम्धी भएकाले घरेलु मामलामा पनि उनीहरु नजिक छन् । त्यसैले जानकारहरु भन्छन्- नवाज शरीफले आफ्ना सबै उपलब्धीको जस इसहाक डारलाई दिने गर्दछन् ।

यसैको कारण पनि सत्तारुढ दलहरु इसहाक डारलाई नै नवाज शरीफको अन्तरिम उत्तराधिकारीको रुपमा लिने गर्दछन् । यति हुँदा हुँदै समस्या यहाँ पनि छ । किनकी इसहाक डार पनि नेशनल एसेम्बलीको सदस्य छैनन् । तर, उनी पार्टी प्रमुख बन्न भने सक्नेछन् ।

ख्वाजा मुहम्मद आसिफ, राण तनवीर, शाहिद खाकान, अब्बासी र शेख आफताब यस्ता मन्त्रीहरु हुन् जसको बारेमा नवाज शरीफ निकै नरम छन् ।

राजनीतिक पर्यवेक्षकका अनुसार यदि नवाज शरीफमा यदि प्रधानमन्त्रीको अलावा अन्तै बसेर राजनीति र सरकारमा योगदान गर्नुपर्‍यो भने प्रधानमन्त्री हाउसमा यी मन्त्रीहरु भन्दा अरु योग्य हुनसक्नेछैनन् ।

राणा तनवीर र शेख अफताब, चौधरी निसार पछिका वरिष्ठ मन्त्री हुन् । तर, ख्वाजा आसिफ र शाहिद खाकान प्रधानमन्त्रीका सबैभन्दा निकट मानिन्छन् ।

अयाज सादिक

अयाज सादिक सभामुख हुन् । सभामुख पदमा उनको चयनले के देखाउँछ भने उनी नवाज शरीफको विश्वासपात्र मध्येका एक हुन् ।

उनको नेशनल एसेम्बलीका सदस्यहरुबीचमा पनि खास प्रभाव छ । गणितीय खेलमा पनि उनी अगाडि छन् । सभामुख पदमा हुनुको कारण पनि उनले प्रधानमन्त्री नवाज शरीफप्रति आफ्नो बफादारी देखाए । जसको कारण उनले विपक्षी दलको चर्को आलोचना सामना गर्नुपरेको थियो ।

(बीबीसी हिन्दीबाट अनुवादित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment