१३ साउन, दार्चुला । दार्चलाका १७५ जना मुक्त हलियाहरु पुनस्थापित भएका छन् ।
आर्थिक वर्ष २०७०/०७१ देखि सञ्चालन भएको मुक्त हलिया पुनःस्थापन कार्यक्रमले उनीहरुलाई पुनःस्थापिन गराएको हो ।
जिल्लामा रहेका ४५५ जना मुक्त हलिया मध्ये हालसम्म १७५ जनालाई पुनःस्थापन गरिएको जिल्ला मालपोत कार्यालय दार्चुलाका मालपोत अधिकृत अमरसिँह कुवँरले जानकारी दिए ।
आर्थिक वर्ष २०७३/०७४ मा जग्गा खरिदको लागि ७ जना, घर निर्माण तर्फ १६ जना छनौट भएका थिए भने २० जना मुक्त हलिया घर मर्मतका लागि अनुदान पाएको मालपोत कार्यालयको हलिया सम्बन्धी प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।
दार्चुलाको साविकको १६ ओटा गाविसका ४५५ जना मुक्त हलिया मध्ये ४३१ जनाले परिचय प्राप्त गरिसकेका छन् भने २४ जना भने अझै सम्पर्कमा नआएको मालपोत अधिकृत कुवँरले बताए ।
चेतनाको अभाव, कामको सिलसिलमा विदेश पलायन लगायतका समस्याले २४ जनालाई परिचय पत्र वितरण गर्न नसकिएको हो । साथै उनीहरुको खोजी कार्य भैरहेको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।
२०७०/०७१ देखि १२ ओटा जिल्लामा सञ्चालन भएको मुक्त हलिया पुनः स्थापन कार्यक्रम ६ ओटा जिल्लामा २०७३/०७४ र दार्चुला लगायत ६ जिल्लामा चालु आर्थिक वर्ष २०७४/०७५ मा पुनःस्थापन सम्पन्न गर्ने लक्ष्य लिएको छ ।