Comments Add Comment

एनसीसी दक्षिण कोरियाको १६ औं अधिबेशन आइतबार हुँदै

अञ्जु र जितको समूहवीच चुनाव हुने

२८ जुलाई, सउल । दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था नेपाल सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १६ औं अधिबेशन यही जुलाई ३० गते हुँदै छ ।

दक्षिण कोरियाको राजधानी सउलको दोगंदेमुनको जोगसा गुम्बामा हुने अधिबेशनले एनसीसीको दुई वर्षे नयाँ नेतृत्व चयन गर्ने छ ।
यस पटक नयाँ नेतृत्वका लागि दुई वटा समूह देखिएका छन् ।

अञ्जु केसी र जित गुरुङको नेतृत्वमा बनेका दुई वटा समूहबीच चुनाव हुनेछ।

अञ्जु केसी अध्यक्ष रहेको समूहको महासचिवमा निर्मल बेल्वासे छन् । यस्तै जित गुरुङ अध्यक्ष रहेको समूहको महासचिवको उम्मेदवार पुरु जोशी छन् ।

अध्यक्षकी उम्मेदवार केसी र गुरुङ दुबै जना १५ औं अधिबेशनबाट निर्वाचित उपाध्यक्ष हुन । उपाध्यक्ष मध्ये केसी बरिष्ठ हुन् ।

यस्तै महासचिवका उम्मेदवार बेल्वासे र जोशी भने यस वर्तमान कार्यसमितिमा छैनन ।

केसीको समूहमा मजदुरहरुको बाहुल्यता रहेको छ भने गुरुङको समूहमा होटल व्यवसायीहरु समेत रहेका छन ।

अधिकतम मजदुरहरु प्रतिनिधि रहेकोले उनीहरुले मजदुरकै पक्षमा भोट हाल्ने हुँदा अञ्जुको जित हुनसक्ने नेपाली सम्पर्क समिति दक्षिण कोरियाका सदस्य किरणप्रकाश विसीले जानकारी दिए ।

अधिबेशनमा यही जुलाई १६ तारिखसम्म नामावली सिफारिस गरेर र्फम भरेकाहरुले मात्रै मतदान गर्न पाउने छन् ।

जुलाई १६ सम्म नामावली दर्ता भएका प्रतिनिधिहरुको संख्या करिव १५०० रहेको सम्पर्क समितिका सदस्य विसीले जानकारी दिए ।

अध्यक्षका उम्मेदवार केसी १५ वर्षदेखि दक्षिण कोरियामा सामाजिक सेवामा समेत सक्रिय छन् भने गुरुङ् व्यवसायमा लागेका छन् ।
लगभग ४० हजार नेपाली रहेको दक्षिण कोरियामा नेपाल सम्पर्क समिति (एनसीसी) साझा समिति हो ।

एनसिसिले गैरआवासीय नेपाली संघ र राजदुतावाससंग समन्वयात्मक भूमिका निर्वाह गर्ने र अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment