Comments Add Comment

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा, कागजपत्र जफत

१३ साउन, इटहरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको आंशका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको इटहरी क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार छापा मारेर केही कागजपत्र नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिनमा आर्थिक हिनामिना भएको उजुरी अख्तियारमा परेको छ । गत आर्थिक वर्षको अन्तिम तिर मेसिन खरिद गर्ने निर्णय अस्पताल प्रशासनले गरेको थियो । त्यसमा ठूलो आर्थिक चलखेल भएको उजुरी परेपछि डिएसपी रमेश बस्नेत नेतृत्वको टोलीले शुक्रबार छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले भने, ‘असार मसान्तको छेक पारेर २०-२२ गते निर्णय गरेर हतारमा किन्न लागिएको र ठूलो आर्थिक चलखेल भएको भन्ने हिसाबमा उजुरी परेकोले कागजपत्रहरु लिएर आएका छौं ।’

गत साता आयोगको क्षेत्रीय कार्यालयमा प्रतिष्ठानमा पदाधिकारीले सेटिङ मार्फत १२ करोडको उपकरणलाई करिब १८ करोडमा खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै उजुरी परेको थियो । अख्तियारले मेसिन खरिद सम्बन्धी बोलपत्र आह्वान, खरिद सम्बन्धी निर्णय, टिप्पणी, मूल्यांकन लगायतका कागजपत्र नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा निर्माण गर्न लागेको क्यान्सर तथा मुटु रोग उपचारसम्वन्धी भवनका लागि परामर्शदाता नियुक्त गर्दा पनि आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भनिएको आर्थिक अनियमितताबारे अख्तियारको केन्द्रीय कार्यालयले समेत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment