Comments Add Comment

एनआरएनको भावनाले मात्र पुग्दैन, प्रतिवद्धता पनि चाहिन्छ

सर्वप्रथम बिभिन्न मुलुकबाट यो सम्मेलनमा सहभागी हुन आफ्नो समय र स्रोत खर्चिएर यहाँ पाल्नुभएका सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु ।

दुई दिनसम्म चल्ने यो बैठकमा युरोपका गैरआवासीय नेपालीहरुका स्थानीय मुद्दा तथा सरोकारका बिषयमा गहन छलफल हुने छ । सँगै आठौं युरोपेली महिला सम्मेलन पनि रहेकाले युरोपेली नेपाली महिला शसक्तिकरणका सन्र्दभमा हुने छलफल फलदायी हुने मैले बिश्वास लिएको छु ।

गैरआवासीय नेपाली संघ स्थापनाको १४ बर्ष पुगिसक्दा गैरआवासीय नेपाली अभियानको समिक्षा गर्दै हामी आगामी यात्राका लागि अगाडी बढ्नुपर्छ । आगामी केही मिनेट म यहाँहरुलाई गैरआवासीय नेपाली संघका केही महत्वपूर्ण पक्षहरुमाथि समिक्षा गर्ने अनुमति चाहान्छु ।

‘नेपालीका लागि नेपाली’ भन्ने नारासहति हामीले बिदेशमा सिकेको सीप र पूँजी नेपालमै लगानी गरौं र नेपाललाई सम्बृद्ध बनाउँ भन्ने परिकल्पनाले हामी आफ्नो कामबाट केही समय निकालेर यो सुन्दर मञ्चमा गोलबद्ध भएका हौं ।
हाम्रो देश धनी नभए बिदेशमा जतिसुकै सफलता पाए पनि हामीले इज्जत पाउन सक्दैनौं भन्ने ज्ञान भएरै हामी यो अभियानमा लागेका हौं । मातृभूमीप्रतिको दायित्वबोध र पवित्र भावनाबाहेक हामीसँग अरु कुनै स्वार्थ थिएन र छैन ।

सुरुवाती दिनहरुमा हाम्रो छवि केवल नेपालसँग माग मात्रै राख्ने जमातको रुपमा स्थापित भयो । त्यो स्वभाविक किन थियो भने नेपालमा राजनीतिक स्थिरता थिएन, द्वन्द्वको अबस्था थियो, लगानीको वातावरण थिएन । हामीले राष्ट्रको सम्बृद्धिमा साझेदारीको परिकल्पना गर्‍यौं र केही मागहरु अगाडी सार्‍यौं । राजनीतिक स्थिरता चाहियो, लगानीको वातावरण चाहियो, बिदेशी भूमीमा सफलता प्राप्त गरेका नेपालीहरुलाई नेपालमा आर्कषिर्त गर्न कानुनी आधार चाहियो भनेर हामीले निरन्तर माग राखिरह्यौं ।

मलाई लाग्छ, हामीले नेपाल सरकारसँग गरेका धेरै मागहरु अहिले पुरा भएका छन् । हामीले राजनीतिक अधिकार बिनाको नागरिकताको माग गर्‍यौं, त्यसलाई नयाँ संविधानमा सम्बोधन गरियो, जुन हाम्रो ऐतिहासिक सफलता र अबसर पनि हो । संविधान जारी भएर यतिबेला मुलुक चुनावमार्फत् संविधान कार्यन्वयनको प्रकृयामा छ । हामी ढुक्क छौं कि अब नेपालमा राजनीतिक स्थिरताको युग सुरु भयो, केही लगानीसँग जोडिएका नीतिगत अप्ठ्यारा सल्टाउन सकेको खण्डमा गैरआवासीय नेपालीहरुले नेपालमै आफ्नो सीप र पूँजी लगानी गर्न पर्याप्त वातावरण पाउनेछन् । गैरआवासीय नेपाली मार्फत् ठूलो प्रत्यक्ष बैदेशिक लगानी नेपालमा आर्कषित हुने छ र आर्थिक सम्बृद्धिमा ठोस योगदान दिने अबस्थामा गैरआवासीय नेपालीहरु रहनेछन् ।

चार बर्ष यो संस्थाको नेतृत्व गर्दा मैले गहिरोगरी अनभूती गरेको कुरा के हो भने अब हामीले हाम्रो गौरवमय इतिहासको कुरा गरेर मात्र पुग्दैन । सधैभरी भावनाको डोरीले बाँधेर मात्रै हामीले अघि सारेका लक्ष्य हाँसिल गर्न नसकिने रहेछ । हाम्रो संस्थालाई सबल र नेपालको सम्बृद्धिसँग सहकार्य गर्न सक्नेगरी क्षमतायुक्त नबनाइ अब हामी सम्बृद्धिको साझेदार बन्ने लक्ष्य पुरा गर्न सक्दैनौं । त्यस्तो सबल संस्था बन्न हामीसँग सही संरचना र सही दृष्टिकोण चाहिन्छ ।

हो, यो संस्थाको सुरुवात भावनाबाटै भएको हो, भावना नभई अनेक जोखिम मोलेर हामी नेपालका डाँडाकाँडामा पक्कै डुलिरहेका छैनौंं । तर, भावनामा गरेका निर्णय कार्यन्वयन गर्न गहिरो प्रतिबद्धता चाहिने रहेछ । मैले अहिले महसुस गरिरहेको छु, एक हजार घर निर्माण गर्ने हाम्रो भावनालाई कार्यन्वयन गर्न कति कठिनाई भइरहेका छ । सानोतिनो प्रतिबद्धता-कमिटमेन्ट)ले लाप्राक वस्ती बन्दैन । हो यहिँनेर चाहिन्छ, बलियो संरचना, प्रष्ट दृष्टिकोण र कार्ययोजना ।

मैले थुप्रै मञ्चहरुमा भनिकेको छु कि गैरआवासीय नेपाली संघलाई राष्ट्रसंघजस्तो संसारभरि फैलिएका नेपाली मूलका मानिसहरुको मञ्चका रुपमा विकाश गरिनुपर्छ । त्यो भिजनलाई कार्यन्वयन गर्न हामीले न्यूजर्सी सम्मेलनमार्फत् भिजन २०२० एण्ड बियोण्डको प्रस्ताव गरेका छौं । आगामी बिश्वसम्मेलनमार्फत् त्यो भिजनलाई आत्मसात गर्दै अगाडी बढ्यौं भने मात्र हामीले हाम्रो संस्थाको १० वा २० बर्षे लक्ष्यको प्रष्ट मार्गचित्र बनाउन सक्नेछौं । त्यस्तो मार्गचित्रले मात्र सवल संस्था निर्माण हुने छ । हैन भने सम्बृद्धिमा साझेदारीको हाम्रो चाहना नारामा मात्र सिमित रहने छ र देशबासीबाट हामीले ठूलो प्रश्नको सामना गरिरहनुपर्ने छ ।

कुनै पनि संस्थाको जीवन भनेको सही नीति र सही नेतृत्व नै हो । युरोप बैठकको समापनसँगै हामी अक्टुबरमा हुने बिश्वसम्मेलन र अधिवेशनकोे तयारीमा जुट्ने छौं जसले गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्ने छ । दोस्रो कार्यकाल समापनको अन्त्यतिर आइपुग्दा यो मञ्चबाट म के घोषणा गर्न चाहान्छु भने अक्टुबरपछि मैले गैरआवासीय नेपाली संघको सक्रिय भूमिकाबाट बिदा लिने छु र नयाँ नेतृत्वलाई यो जिम्मेवारी हस्तान्तरण गर्ने छु ।

चुनावी सरगर्मीको पूर्वसन्ध्यामा म यति भन्न चाहान्छु कि, यस्तो नेतृत्व चुन्नुहोस् जसले इतिहासको रक्षा गर्दै भबिष्यको बलियो संस्था बनाउने जिम्मेवारी पुरा गरोस् । यस्तो नेतृत्व चुन्नुहोस् कि बिगत दुईवटा कार्यकालमा एनआरएनले आगाडी बढाएका सोंच र परियोजनाको अभिभारा कुशलतापूर्वक पुरा गर्न सकोस् । शेष घलेलाई बिर्साउनेगरी उहाँले काम गर्न सक्नुहोस् । मैले यतिमात्र भन्न सक्छु, गएका चार बर्ष मैले निकै इमान्दारीपूर्वक एक पूर्णकालिन अध्यक्षका रुपमा संस्थालाई दिन नभनी समय दिएको छु । मेरो विवेक र क्षमताले भ्याएसम्म संस्थालाई न्याय गर्न कोसिस गरेको छु । मेरा दुईवटा कार्यकालको समीक्षा गर्ने जिम्मेवारी मैले गैरआवासीय नेपाली साथीहरुलाई नै छाडिदिएको छु ।

गैरआवासीय नेपाली संघले बिगत चार बर्षमा केही महत्वकांक्षी परियोजनाहरुको घोषणा गरेको थियो । अहिले हाम्रो सम्पूर्ण समय र शक्ति तिनै परियोजनाहरु समापन गर्नेमा लागिरहेको छ ।

पुनःनिर्माणमा साझेदारी गर्ने उद्घोषसहित हामीले नेपालका भूकम्पपिडीतलाई १ हजार घर निर्माण गर्ने घोषणा गरेका थियौं । पहिलो परियोजनाका रुपमा गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती निर्माणको काम यतिबेला झण्डै आधा सकिइसकेको छ । ६ सय घरसहितको नमुना वस्तीमा अहिलेसम्म तीन सय घरको डीपीसी निर्माण भइसकेको छ भने केही घरहरुको गारो लगाउने काम पनि सुरु भएको छ ।

लाप्राकको भौगोलिक जटिलता, कमजोर पूर्वाधार लगायतका कारणले पनि यो परियोजना सम्पन्न गर्नु हामीले सोचेभन्दा निकै कठिन सावित भइरहेको छ । आगामी अक्टुवरअगाडी नै केही घरहरुको निर्माण सक्ने र हिउँदसम्म सवै निर्माण कार्य सक्ने लक्ष्यसहित हामी काम गरिरहेका छौं ।

गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय भवनको निर्माण काठमाण्डौको बालुवाटारमा भइरहेको छ । तीन महिनाभित्र काम निर्माण सम्पन्न गरी संघको केन्द्रीय कार्यालय सार्ने लक्ष्यअनुसार काम भइरहेको छ । यस्तै संखमुलस्थित बागमति किनारमा पार्क निर्माण कार्य पनि धमाधम भइरहेको छ ।

बैदेशिक रोजगारीमा गएर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन हामीले स्थापना गरेको कल्याणकारी कोषको कार्यन्वयन हामीले दुई बर्ष अगाडी गर्न चाहेका थियौं । तर, त्यसमा सरकारको सहभागीताका बिषयमा ठोस प्रगति हुन नसक्दा त्यसको कार्यन्वयन हुन सकिरहेको छैन । आगामी दिनमा यसमा ठोस प्रगति हाँसिल हुन सके बैदेशिक रोजगारीका क्षेत्रमा गैरआवासीय नेपाली संघको सवैभन्दा ठूलो उपलब्धीका रुपमा रहने छ ।

दुई दिनसम्म चल्ने युरोपेली क्षेत्रीय वैठक तथा आठौं युरोपेली महिला सम्मेलनमा गैरआवासीय नेपालीसँग जोडिएका बिभिन्न मुद्दामा छलफल हुने छ । युरोप क्षेत्रीय वैठक भएकाले यहाँका नेपाली समुदाय, स्थानीय सरोकार, समस्या र अबसरहरुका बारेमा धेरै छलफल होस् भन्ने मेरो बिशेष अनुरोध छ । यी छलफलबाट प्राप्त निचोडलाई कार्यन्वयन गर्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् सदैव तत्पर रहने छ ।

(गैरआवासीय नेपाली संघको दशौं युरोपेली क्षेत्रीय वैठकलार्इ घलेले गरेको सम्बोधन) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment