Comments Add Comment

कोरिया जाने कामदारको सीप परीक्षण एक वर्ष पछि धकेलियो

१६ साउन, काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारका लागि सीपमा आधारित परीक्षा प्रणाली लागू गर्न एक वर्ष ढिलाई हुने भएको छ ।

कोरियाले सन् २०१९ देखि नेपालबाट कामदार लैजाँदा सीप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको छ । तर, नेपालको कमजोर तयारीले थप एक वर्ष ढिलो हुने अवस्था आएको हो । नेपालले प्राविधिक तयारी गर्न अप्ठ्यारो हुने भन्दै सन् २०२० बाट मात्रै सीपमा आधारित भाषा परीक्षा सुरु गर्ने योजना बनाएको छ ।

यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण गरी रोजगारीका लागि कोरिया जाने क्रम २०१९ सम्म मात्रै चल्नेछ । त्यसपछि हातमा सीप नभएका युवालाई कोरियाले ‘अयोग्य’ ठहर्‍याउने छ  । यो पद्धति लागू भएपछि कोरिया जानेहरुले भाषा परीक्षा पनि कम्प्युटरमार्फत नै दिनुपर्ने छ ।

भवन तयार गरिँदै

कोरियाले यसअघि नै सन् २०१९ देखि नेपाली युवको सीप क्षमता पनि परीक्षण गरेर लैजाने घोषणा गरिसकेको थियो ।

त्यसका लागि अहिले ललितपुरको भैँसेपाटीमा नेपाल सरकारले ‘सिभीटी बिल्डिङ’ निर्माण गर्न लागेको छ । यो भवन नबनेसम्म सीप र कम्प्युटरमा आधारित भाषा परीक्षा गर्न नसकिने भएकाले नेपाल सरकारले सन् २०२० बाट मात्रै कोरियाको प्रस्तावअनुसार नयाँ परीक्षा प्रणाली लागु गर्न सकिने बताएको छ ।

यो भवनको शिलान्यास आउँदो साउन २५ गते गर्ने र भदौबाट निर्माण थाल्ने तयारी छ । ६ तलको यो भवन झण्डै ११ करोड रुपैयाँको लागतमा नेपाल सरकार आफैंले बनाउनेछ । भवनका प्रत्येक तलामा कोरियाले ३५÷३५ वटा कम्प्यटर राख्नेछ । सीपमा आधारित परीक्षा सुरु भएपछि यही सीभीटी हलमा नेपाली युवाले जाँच दिनेछन् । यो भवन वि. सं. २०७६ को भदौसम्म तयार गरिसक्ने लक्ष्य छ । त्यसमा फर्निसिङ र प्राविधिक तयारी गर्न थप ६ महिना लाग्ने भएकाले सन् २०१९ बाटै सीपमा आधारित परीक्षा गर्न गाह्रो पर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका एक अधिकारी प्राविधिक रुपमा २०१९ बाट सीप जाँचेर कोरिया पठाउन गाह्रो भएको स्वीकार्छन् ।

कोरियाले नयाँ प्रणाली लागू भएपछि भाषासँगै कामदारको सीप र शारीरिक स्वरुपको पनि परीक्षण गर्नेछ । भाषामा पास भएकाहरुले कोरिया जान अन्तवार्ता पनि अनिवार्य उत्तीर्ण गर्नुपर्ने छ ।

कोरियाको मानव संशाधन विभागले अब कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको छ ।

के हो सीप परीक्षण ?

सीपमा आधारित परीक्षा प्रणाली लागू भएपछि अहिलेको २ सय पूर्णांकको सुनावाई र लेखाइको परीक्षा प्रणालीलाई पूर्ण रुपमा परिमार्जन गरेर नयाँ स्वरुप दिइनेछ । अब उसले दाबी गरेको सीप परीक्षण गरेर मात्रै कामदारलाई विदेश लगिनेछ ।

जस्तो उत्पादनमुलक समूहको स्टिल फिक्सङ समूहमा जाने गरी आवेदन गरेका कामदारले भाषा पास भएपछि सीपको परीक्षा दिनुपर्नेछ । कोरियाले नयाँ अंक प्रणालीमा अब भाषा परीक्षामा सय र सीप परीक्षणमा पनि सयकै पूर्णांक कायम गर्ने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभारक भण्डारीले जानकारी दिए ।

नयाँ प्रणालीले कामदारको शारीरिक अवस्था, बनोट र तन्दुरुस्तीलाई पनि परीक्षण गर्नेछ । साथै कामदारको सीपको लेभल र कार्य अनुभवका आधारमा पनि अंक दिइनेछ ।

कम्प्युटर प्रणालीबाट परीक्षा

अहिलेसम्मको तयारीअनुसार सन् २०२० देखि ईपीएसमा कागजी परीक्षा प्रणालीसमेत हट्नेछ । पूर्ण रुपमा कम्प्युटरमा आधारित परीक्षा हुनेछ । जसलाई कम्प्युटर चलाउन जानेकाहरुले मात्रै दिन सक्छन् । नेपालसहित १६ देशबाट कामदार ल्याइरहेको कोरियाले अन्य देशमा यस किसिमको प्रणाली यसअघि नै लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment