Comments Add Comment

कमल थापाको आरोपः मधेसमा बिखण्डनकारी जन्माउने ठूला दल


१६ साउन, सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा प्रमुख तीन दलमाथि खनिएका छन् । ठूला दलले नै मधेसको माग पुरा गराउन नचाहेको तथा मधेसमा विखण्डनकारी जम्माएको पूर्व उपप्रधनमन्त्री समेत रहेका थापाको आरोप छ ।

राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले भने, ‘बर्तमान सरकार तथा कांग्रेस र माओवादी राजनीतिक स्वार्थमा चुर्लुम्म डुबेका छन् । यो स्वार्थले कतिको घाटा गराइरहेको छ भन्ने कुराको हेक्का राखेका छैनन् ।’

मुख्य दल आफ्नै स्वार्थमा रहेको भन्दै उनले यस्तै स्वार्थरुपी सोचले मधेसमा बिखण्डनकारी जन्माएको दाबी गरे । मधेसमा उदार राजनीति गर्नेहरुलाई राष्ट्रिय राजनीतिमा समाहित नगराउँदा यस्तो परिस्थिति बन्दै गएको दावी उनको थियो ।

‘उदार राजनीति गर्नेलाई समयमै राष्ट्रिय राजनीतिमा समाहित गर्दै अघि बढ्नुपर्‍यो र बिखण्डनकारीलाई आइसुलेट गर्नुपर्‍यो’ उनले भने, ‘यस्तो गरेमा मुलुकले स्थायित्व प्रदान गर्छ ।’

कांग्रेस र माओवादीको चर्को आलोचना

राप्रपा अध्यक्ष थापाले सत्तारुढ कांग्रेस र माओवादीको चर्को आलोचना गरेका छन् । कांग्रेस-माओवादी संविधान संशोधन गरेर मधेसको मागलाई पूरा गर्ने मनसायमा नरहेको उनले बताए ।

‘संविधान संशोधनको पक्षमा मत हाल्ने पार्टीको सर्वसम्मत निर्णय नै भएको थियो, हाम्रा सांसद कसरी उपस्थित भएनन्’ थापाले भने, ‘कांग्रेस र माओवादीको नियत नै ठीक छैन् । षडयन्त्र आफू गर्ने र दोष अरुलाई लगाउने काम उनीहरु गर्दै आएका छन् ।’

राप्रपाले संशोधन विधेयकलाई निणर्ायार्थ प्रस्तुत गर्ने दिनमै संशोधन पक्षमा सर्वसम्मत निर्णय गरेको बताउँदै थापाले भने, ‘कांग्रेस र माओवादी संशोधनको पक्षमा छँदैछैनन् ।’

स्थानीय तहको संख्या बृद्धि : कांग्रेस र माओवादीले नै बिगारे

पत्रकार सम्मेलनको अधिकांश समय कांग्रेस र माओवादीको बिरोधमा खर्चेका उनले मधेशका जिल्लाहरुमा स्थानीय निकायको संख्या बृद्वि दुई पार्टीले नै हुन नदिएको बताए ।

‘स्थानीय निकायको संख्या बढाउन सर्वदलीय बैठक बस्दा एमालेले समेत मानिसकेको थियो’ उनले भने, ‘तर यही बीचमा दुई पार्टीका सांसदहरुले कसैसँग सल्लाह नै नगरी प्रधानन्यायाधीशबिरुद्व महाअभियोग प्रस्ताव ल्याएर मिलिसकेको कुरालाई बिगार्‍यो ।’
सरकारले एकलौटी रुपमा २२ वटा स्थानीय तह बनाएपछि सर्वाेच्चमा उजुरी पर्दा रोक्का गर्ने आदेश सुनाएको बताए ।

सरकारले कुनै पनि बैठक व्यवस्थित र योजनाबद्व तरिकाले नगर्दा कुनै पनि समस्या समाधान नभएको बताउँदै यस्तो तालको बैठकमा जानै मन नलागेको बताए ।

एक छिनमै कुरा फेरे

पत्रकार सम्मेलनमा थापाले मधेस र मधेसीको गुनगाण अत्यधिक गरे । उनले आफ्ना पार्टीको सांसदका कारण संशोधन प्रकृया नरोकिएको दाबी पनि गरे ।

थापालाई संचारकर्मीले प्रश्न गरे, ‘यदि सरकारले यो बीचमा संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेमा राप्रपाले के गर्छ ? उनले भने, ‘निर्णयार्थ पेश गर्ने बेलामा सोंच्छु ।’

‘तपाईंले मधेसको माग पूरा पनि हुनुपर्छ, राप्रपाका सांसदले अवरुद्ध गरेको होइन भक्नु भयो । अहिले फेरि सोच्छौं भनिरहनुभएको छ यो दोहोरो कुरा भएन् भन्ने प्रश्नमा उनले अर्काे कुरा खोले । थापाले भने, ‘हाम्रो पार्टीले पनि धर्म निरपेक्षा हटाएर हिन्दू राष्ट्र बनाउन संशोधन पेश गरेको छ नि ! त्यसमाथि पनि छलफल भए हामी सोंच्नेछौं ।’

पारपाचुकेको प्रमाण पत्र लिन बाँकी

अध्यक्ष थापाले सरकारसँगको समर्थन फिर्ता लिने समय आइसकेको समेत बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय दिने बताएपनि अन्तिम समयमा आएर बिर्सेको बताउँदै भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने समय आइसकेको छ । यसका निम्ति तिथी हेरिरहेको छु ।’

अदालतबाट पति र पत्नीले सम्बन्ध बिच्छेद गरिसेकपछि प्रमाण पत्र लिन जसरी बाँकी हुन्छ त्यसरी नै प्रमाण पत्र लिन मात्रै बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment